प्रदेश सरकारमा सोनामको इन्ट्री, को हुन् सोनाम ?

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०७४       | 290 Views   ||

नवीन लोचन मगर

रोल्पा २ का प्रदेशसभा सदस्य माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ ५ नं. प्रदेशको अान्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् । उनी बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका हुन् ।

केसीलाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्तिका लागि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख उमाकान्त झा समक्ष सिफारिसक गरेका थिए । यससँगै रोल्पाले प्रदेश मन्त्री पाएको छ ।

यसअघि केसी मुख्यमन्त्रीका दावेदार थिए । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने माओवादी एमालेबीच उच्चस्तरीय सहमति भएपछि केसीले मुख्यमन्त्री छाडेका थिए ।

यसैगरी एमाले एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनी पूर्वसांसद पनि हुन् ।

भलादमी नेता कुलप्रसाद केसी ‘सोनाम’

वि.सं. २०२८ साल माघ १० गते जन्मिएका कुलप्रसाद केसी ‘सोनाम’ माओवादी केन्द्रका प्रभावशाली नेतृत्व हुन् । रोल्पा नगरपालिका वडा नं. ६ जिबाङमा जन्मिएका केसी २०४६ सालदेखि नै विद्यार्थी राजनीति हुँदै २०४८ सालदेखि २०५० साल जेठसम्म स्थायी शिक्षक समेत भए ।

रोल्पामा माओवादी नेताहरुको राजनीतिक पृष्ठभूमि हेर्दा अधिकांशको शिक्षण पेशा नै देखिन्छ । २०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमणको क्रममा त्यसविरुद्ध जनमोर्चाले विरोध जनायो । सोही क्रममा स्थायी शिक्षण पेशा नै त्यागेर कुलप्रसाद केसी पूर्णकालीन राजनीतिमा लागे ।

ग्रामीण वर्गसंघर्षमा भूमिगत रुपमा लागेका केसी रोल्पामा सशस्त्र क्रान्तिको थालनीकर्ता समेत हुन् ।

२०५२ फागुनमा माओवादीले औपचारिक जनयुद्ध सुरुगरेसँगै सक्रियरुपमा पार्टीको विभिन्न भूमिका सोनाम क्रियाशील रहे ।

‘मलाई शिक्षण पेशाबाट समाज परिवर्तन गर्न सकिँदैन भन्ने प¥यो, अनि राजिनामा दिएर राजनीतिमा लागेँ’ सोनाम भन्छन् । नेपालको मुल सत्ता सञ्चालनमै समस्या भएकाले त्यसैको विरुद्ध लड्नुपर्ने निष्कर्ष सहित भूमिगत राजनीतिमा लागेका सोनाम २०५५ सालमा नेकपा माओवादीको दाङ, प्यूठान र सल्यानको सेक्रेटरी समेत भए ।

२०५७ सालमा सम्पन्न नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित सोनाम २०६० सालमा उपत्यका व्यूरो इन्चार्ज तथा पोलिटव्यूरो सदस्य भए ।

केन्द्रीय राजनीतिमा क्रियाशील हुने क्रममा देशव्यापी हुने विभिन्न मोर्चाका जिम्मेवारी सम्हाल्दै उनी पार्टी कामकै शिलशिलामा भारतको पटना पुगेका बेला २०६० साल जेठ २० गते अन्य नेताहरुसँगै गिरफ्तार परे । नेपालमा गणतन्त्र घोषणा भइसकेपछि २०६३ साल साउनमा रिहाई गरियो ।

पार्टीको केन्द्रीय राजनीतिमा क्रियाशील रहँदै गर्दा उनलाई पार्टीले जनमुक्ति सेना नेपालको तेस्रो डिभिजन कमिश्नरको रुपमा खटायो । सेना समायोजनको प्रक्रियासँगै उनी पार्टीका तर्फबाट सेना समायोजन विशेष सचिवालय समितिमा क्रियाशील रहे । त्यसपछि उनी योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका इन्चार्ज समेत भए ।

मोहन वैद्य नेतृत्वले एकीकृत नेकपा माओवादीसँग सम्बन्ध विच्छेद गर्दै नेकपा-माओवादी गठन गरेपछि कुलप्रसाद केसी ‘सोनाम’ वैद्यको कडा धारमा देखिए । तर छोटो समयमै त्यहीभित्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अझै पर पुग्दा रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सोनामहरु भने पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किसकेका थिए ।

प्रखर वक्ता तथा भलादमी नेताका रुपमा चिनिने सोनाम २०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रोल्पा–१ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बने ।

हाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका सोनाम रोल्पाका चर्चित कम्युनिष्ट युवाका नेताका रुपमा चिनिन्छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले साझा उम्मेदवार बनाएपछि ढुक्क रहेका कुलप्रसाद केसी ‘सोनाम’ विजयी भए ।

हालसम्म कुनै पनि लाभको पदमा नपुगेका कुलप्रसाद केसी ‘सोनाम’को संसद यात्रा जनप्रतिनिधिकै रुपमा हुने कुरामा रोल्पालीको पूर्ण विश्वास छ । रोल्पालाई विकास र समृद्धिको नारा दिएर मात्र हैन, व्यवहारतः हरेक नागरिकले आफ्नो स्तरमा महसुस गर्नेगरी विकासको प्रार्दुभाव होस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *