गोविन्द खड्का
घोराही । नेपाल बीउ व्यवसायी संघ ५ नम्बर प्रदेशको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य एकनारायण पौडेलको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालको प्रमुख आतिथ्यमा भएको थियो । भेलाले विधान पारित गर्दै नयाँ समिति चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले विदेशमा कामदार पठाउने देशको पहिचान मेटाउनुपर्ने बताउनु भयो । ‘बीउ जीवन्त वस्तु हो, त्यसलाई उच्च गुणस्तरीय बनाऔं’, प्रमुख अतिथि ढकालले भने, ‘आयात प्रतिस्थापन र निर्यात बढाऔं, हाम्रो देशको चिनारी बन्छ ।’ उनले उपयुक्त विकल्प सरकारले तोकेको भन्दा पनि बढि उमार शक्ति भएको बीउ उत्पादन रहेको बताए ।
राम्रो बीउ राम्रो थलोमा भयो भने त्यसले सम्पन्न बनाउने राष्टि«य बीउ उत्पादक संघका उपाध्यक्ष सुवास उपाध्यायले बताए । कार्यक्रमका विशिष्ट अतिथि उपाध्यायले जरा, डाँठ, पात हाँगा सम्पूर्ण चीज अदृश्य रुपमा रहने बीउलाई उचित संरक्षण गर्नुपर्ने बताए ।
‘कृषिमा गएको बजेट अन्त खर्च भएको छ,’ उपाध्यायले भने, ‘यस्तै स्थिति रहे देशले भोकमरीको समस्या व्यहोर्नुपर्छ ।’ स्थानीय सरकारले भूखण्डीकरण तुरुन्तै रोक्नुपर्ने, चक्लाबन्दी गर्नुपर्ने, मिसावट, सिंचाई लगाएतका समस्या हटाउन उचित व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए ।
प्रदेश स्तरको कार्यक्रम गरेको भन्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य संघ ५ नम्बर प्रदेश उपाध्यक्ष एवं संघका दाङ जिल्ला निवर्तमान अध्यक्ष हेमराज बन्जाडेले आयोजकप्रति आभार प्रकट गरे ।