पार्टी एकताका लागि माओवादी–एमालेबीच ७ बुँदे सहमति

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४       | 186 Views   ||

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमति भएको छ । सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

पार्टी एकता सहमति पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका एमाले नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

एमाले र माओवादीले १७ असोजमा दुई पार्टीबीच निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । तर निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि दर्जनौं बैठक र अनेकौं प्रयासपछि दुई पार्टीबीच एकताको घोषणा भएको हो ।

गत बिहिबार मानभवन बैठकमा एमाले नेताहरूले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने अडान लिएपछि एकता वार्तामा गतिरोध आएको थियो। साथै ओली दाहाल दुई जना अध्यक्ष रहने सहमति भए पनि अन्य शीर्ष नेताहरूको पद व्यवस्थापन गर्नुपर्ने माग पनि भएको थियो ।

मानभवनमा आएको गतिरोध हटाउन यसबीचमा ओली दाहालबीच एक्लाएक्लै केही चरण छलफल भए भने अन्य नेताहरूबीच पनि भेटवार्ताहरू भए। आइतबार ओली र दाहालबीच ठिमीमा लामो वार्ता भएपछि दुई नेता सोमबार बिहान फेरि भेटेर सिद्धान्तको विषय एकता महाधिवशेनबाट टुंग्याउन सहमत भएका थिए ।

एकीकृत पार्टीको मुख्य नेतृत्व र सिद्धान्तको विषयमा सहमति जुटेपछि बालुवाटारमा भएको निर्णायक बैठकमा एकता गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

सात बुँदे सहमतिमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद-लेनिनवाद मार्गदर्शक सिद्धान्त हुने उल्लेख छ ।

सहमतिमा एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको २१औं शताब्दीको जनवाद तथा माओवादबारे ‘विधिसम्मत छलफल गरी विधिसम्मत आवश्यक परिमार्जन र विकास गर्न सकिने’ उल्लेख छ ।

‘सामाजिक न्याया र आर्थिक रुपान्तरण मार्फत समाजवादको आधार निर्माण गरिने’ उल्लेख गरिएको सहमतिमा पार्टी र सरकारको नेतृत्वबारे केही उल्लेख गरिएको छैन ।

बिहिबार एकतामा सहमति नजुटेपछि शुक्रबार प्रधानमन्त्री ओलीले आफुसँगै सपथ लिनेगरी दुई जना मन्त्रीको नाम मागे पनि माओवादीले दिएको थिएन । बालुवाटारमा पार्टी एकता सम्बन्धमा लिखित सहमति भएसँगै अब सरकार विस्तारका लागि पनि बाटो खुलेको छ ।

पार्टी एकताका लागि सहमति भएका बुँदाहरु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१- एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२- पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३- नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

४- नेकपा एमालेले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

५- उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६- प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७- आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *