दर्जन गोलीको शिकार भए गुण्डा नाइके मनोज

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४       | 256 Views   ||

गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले मनोज पुन रुपन्देहीमै रहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयलाई दियो ।

केही दिनअघि मनोज पुन भारतको गोवामा पक्राउ परेको भन्ने हल्ला फैलिएको थियो। प्रहरी केही अलमलमा पर्यो । ‘पक्राउ परेको हल्ला फैलिँदा सिआइबीले हामीलाई सूचना दिएको थियो’, रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘त्यो हल्ला उनीहरुले नै फैलाएर यता आफ्ना गतिविधि बढाउन थालेका थिएजस्तो हामीलाई लाग्छ ।’

सिआईबीले फेरि घटना गराउन आउँदैछन् भन्ने सूचना दिएपछि प्रहरी चनाखो भयो। ‘सीमा नाकामा प्रहरी परिचालन बढायौं। लुकिछिपी बस्ने सम्भावित ठाउँहरुमा खोजी गर्यौं’, एसपी ज्ञवालीले भने।

घटना गराउँदा पुनले आफू मलेशियामा रहेको भन्दै विभिन्न व्यक्तिलाई फोन गर्ने गर्दथे। तर देबदह क्षेत्रमा पनि अक्कल झुक्कल देखिने गरेको प्रहरीले सूचना पाएको थियो। केही दिन अगाडि छोरीको बर्थडे मनाउन पनि मनोज पुन घर आएको सूचना प्रहरीले पाएको थियो ।

चौधरी पक्राउपछि कमजोर

माघको पहिलो हप्ता प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको सहयोगमा बसन्त पौडेलको हत्यामा संलग्न भनिएका पदम चौधरी र महिनारायण चौधरीलाई पक्राउ परे। उनीहरुको साथबाट प्रहरीले ९ एमएम क्यालिवर इटालियन पेस्तोल र २ थान कटुवा पेस्तोल समेत बरामद गरेको थियो। बसन्त पौडेल र एक वर्ष हत्या गरिएका दुर्गा तिवारी दुवैको हत्यामा इटालियन पेस्तोल प्रयोग भएको प्रहरीको भनाइ छ। पेस्तोल बरामद भएपछि उनीहरु समुह कम्जोर भएको एसपी श्याम ज्ञवाली बताउँछन्।

‘दुई जना पक्राउ परेर पेस्तोल बरामद भएपछि मानिसहरुमा त्रास र धम्की आउन कम भएको थियो’, उनले भने  ‘त्यस अघि धम्की र त्रास आएको भनेर कतिपयले जानकारी गराउँथे।’

पुनलाई १२ र आलेलाई १० गोली

मलेशियामा रहेको भनिए पनि पुन भारतीय भूमिमै रहको हुन सक्ने अनुमान प्रहरीको थियो। घटना गराएपछि पुनले उच्चतम सूचना प्रविधिको प्रयोग गरी फोनमार्फत जिम्मा लिने गर्दथे। जसमा मोवाइलमा कलर आईडी देखिदैन थियो ।

बसन्त पौडेलको हत्यापछि मनोज पुनको लागि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो । ‘रेडकर्नर नोटिस जारी गरेपछि भारतीय प्रहरीले पनि यो घटनालाई गम्भीरतापूर्बक लिन थाल्यो’, एसपी ज्ञवाली भन्छन्, ‘ उता असुरक्षित महसुस गरेकाले यता आएका हुन सक्छन्।’

मनोज पुनसँगै कारबाहीमा मारिएका सोम आले समुहको मुख्य व्यवस्थापनको काम गर्दै आएका थिए। घटना गराउनलाई मोटरसाइकल, हतियार जुटाउने जिम्मा उनकै थियो। आलेले पाल्पामा यस अघि १० वर्ष कैद भुक्तान गरिसकेका थिए। मनोज पुन र सोम आले प्रहरी कारबाहीमा मारिएपछि उनीहरुको साथमा रहेका सामानहरु पनि प्रहरीले फेला पारेको छ ।

‘हामीले ल्यापटप, डायरी, मोबाइल, लगायतका सामान बरामद गरेका छौं । यसले यस अघिका विभिन्न घट्नाको विस्तृत अनुसन्धान गर्न सहयोग पुग्नेछ’, एसपी ज्ञवालीले भने।

पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएका हुन्। रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको प्रहरी दाबी छ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका पुन र आलेको लुम्बिनी अञ्चल अस्पतालमा बुधबार विहान मृत्यु भएको एसपी ज्ञवालीले बताए।

पुन देवदह निवासी हुन्। गुण्डा नाइके पुनले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरद गैचन, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी तथा युवा व्यवसायी बलु पौडेल हत्याको जिम्मेवारी लिएका थिए।

प्रहरी इन्काउन्टरमा मनोज पुनलाई १२ गोली लागेको छ । अगाडिको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरी मुचुल्कामा उल्लेख छ ।

सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।

को हुन् पुन ?

रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए ।

युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।

त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले ।

भारतीय अन्डरवर्ल्डसँग कनेक्सन

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।

तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।

‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डी कम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’

तिवारी हत्या अगावै भारतमा बस्थे पुन

तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो ।

गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए ।

जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४/५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भएका थिए । र, प्रहरी टोली खाली हात फर्किनु प‍रेको थियो ।

त्यसयता सीआईबीको विभिन्न टोली पुनको खोजीमा भारतमै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *