तीन वर्षभित्र खरको छानामुक्त उपमहानगर

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४       | 164 Views   ||

तुलसीपुर उपमहानगरको महत्वाकांक्षी योजना

पाण्डव शर्मा

दाङ। तुलसीपुर उपमहानगरपालिकाले तीन वर्ष भित्र उपमहानगरलाई खरको छानामुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ ।

उपमहानगरले नगरसभामार्फत् नीतिगत रुपमा गरिएको सो निर्णयलाई कार्यान्वयन गर्न समेत शुरु गरिसकेको छ । अहिले खरको छाना मुक्त गर्नका लागि आवश्यक पर्ने टिन खरिद गर्न टेण्डर आव्हान समेत गरेको छ ।

अहिले उप–महानगरभित्रका सम्पूर्ण वडाहरुलाई खरको छानाको यकिन तथ्याङ्क तयार गर्न निर्देशन दिइएको मेयर घनश्याम पाण्डेयले जानकारी दिए ।

नयाँ उपमहानगर भएकाले तुलसीपुरमा शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र कैयौं गुणा बढी छ । ‘साविकका गाविसहरु नै उपमहानगरमा गाभिएकाले यहाँ खरका छाना भएका घरहरु निकै धेरै छन्,’ पाण्डेले भने, ‘खरको छानाका कारण आगलागीजस्ता प्राकृतिक प्रकोपको जोखिम बढी हुन्छ ।’

तुलसीपुर उपमहानगरमा साविकका गाविसहरु बिजौरी, डुरुवा, मानपुर, फूलबारी र पवननगर पछि थपिएका हुन् । यी क्षेत्रमा चौधरी बस्ती बाक्लो छ । यहाँका अधिकांश चौधरीहरुको घरमा खरको छाना छ ।

उपमहानगरले खरको छान हटाउने कार्यविधिसमेत तयार पारिसकेको छ । कार्यविधिमा खरको छाना विस्थापित गर्न चाहने घर धनीलाई उपमहानगरले निःशुल्क टिनको व्यवस्था गर्नेछ । टिन छाउने खर्च तथा श्रमदान भने स्वयम् घरधनीले गर्नु छ ।

उपमहानगरले नगरका अन्य विकासका कामहरु गर्न सहज होस् भनेर टिन प्राप्त गर्ने व्यक्तिलाई केही शर्त भने राखेको छ । ‘टिन पाउने व्यक्तिले उपमहानगरपालिकाले कुनै विकासको योजना ल्याउँदा १० दिन निःशुल्क श्रमदान गर्ने लिखित सम्झौता गर्नुपर्ने छ,’ पाण्डेले भने, ‘हामीले गाउँमा छलफल गर्दा धेरै विपन्न वर्गका समुदायहरु उपमहानगरको योजनाले खुशी भएका छन् ।’

यो योजना घरमा मात्र लागु हुने छ । गोठमा भने उप–महानगरले सहयोग गर्ने छैन । त्यस्तै कुनै व्यक्ति खरले छाएको घरमा नबसेर आफ्नो अर्कै घरमा बस्छ भने पनि उपमहानगरले सहयोग गर्ने छैन । ‘सम्बन्धित व्यक्ति त्यहीँ घरमा बसेको हुनुपर्छ,’ पाण्डेले भने, ‘हामी तुलसीपुरलाई पाँच वर्षभित्र सुन्दर र सुरक्षित शहर बनाउन चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *