गौचरण बन्यो रोल्पाको बडाचौर विमानस्थल

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४       | 231 Views   ||

पञ्चायतमा सुरु, बहुदलमा बन्द, गणतन्त्रमा गौचरण

नवीन लोचनमगर

रोल्पा । रोल्पामा पनि विमानस्थल थियो भन्दा पछिल्लो पुस्तालाई पत्यार लाग्न छोडिसक्यो । पूर्वी रोल्पाको बडाचौरमा रहेको विमानस्थल २८ वर्ष अघिदेखि बन्द अवस्थामा छ । रोल्पाको एकमात्र विमानस्थल सञ्चालनका लागि नेताहरुले पहल गर्ने आश्वासन दिँदै आए पनि ती चुनावी परिणामसँगै सेलाउने गरेको स्थानीयको गुनासो छ ।

पञ्चायतमा सञ्चालन, बहुदलमा बन्द

२०३६ बैशाख १६ गते रोल्पाकै तत्कालीन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री बालाराम घर्तीमगरले उद्घाटन गरेको उक्त विमानस्थल लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । २०४६ सालपछि देशमा बहुदलीय शासन सुरु भएदेखि नै बेवास्ता हुन थालेको यो विमानस्थल २०५२ पछिको सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षबाट विमानस्थलको संरचना भत्काइएको थियो ।

युद्धको समयमा माओवादीहरुले उक्त विमानस्थललाई आफ्नो तालिम केन्द्रको रुपमा समेत प्रयोग गरेका थिए । तत्कालीन शाही नेपाल वायु सेवा निगम (आर.एन.ए.सी) का ट्विनअटर विमानले २०३६ सालदेखि २०४६ सालसम्म डोल्पाको दुनै–रोल्पाको बडाचौर हुँदै पोखरा र काठमाडौं उडान भर्ने गरेको थियो ।

तत्कालीन पञ्चायती शासनमा बनेको बडाचौर विमानस्थल २०४६ सालमा देशमा बहुदलीय शासन सुरु भएपछि ‘पञ्चेहरुले बनाएको सबै संरचना भत्काउनु पर्छ’ भन्दै उक्त विमानस्थलको संरचना भत्काउन थालिएको थियो ।

१० वर्षे सशस्त्र द्वन्द्वपछि देशमा गणतन्त्र आएपछि पनि विमानस्थल पुनः सञ्चालन नहुँदा स्थानीय चिन्तित बनेका छन् ।

रोल्पा जिल्लाबाट निर्वाचित भएका नेताहरु पटक–पटक देशको नेतृत्व तहमा पुग्दा पनि रोल्पाको उक्त विमानस्थल पुनः सञ्चालनमा चासो नदेखाएकोप्रति स्थानीयको आक्रोश छ ।

‘०५२ यता देशमा धेरै शासन चले’ स्थानीय युवा एन्जल भिजन गुरुङले भने ‘गणतन्त्र आएपछि मात्रै धेरै पटक रोल्पाबाट निर्वाचित नेताहरु देशको नेतृत्व तहमा पुगेका छन्, तर हालसम्म यो विमानस्थल पुनःसञ्चालनमा कुनै चासो देखाएका छैनन्’ गुरुङले आक्रोश पोखे ‘यो आम रोल्पालीको लागि दुर्भाग्यको कुरा हो ।’

स्थानीयको प्रयास निरर्थक

विमानस्थल सञ्चालनका लागि स्थानीयले विभिन्न समयमा समितिहरु बनाउँदै दवाव दिँदै आएका छन् । तर विषय उठेका समयमा आश्वासन पाउने र पछि सेलाउँदै जाने गरेको स्थानीय राजनीतिज्ञ अमरबहादुर थापाले बताए ।

विमानस्थल पुनः सञ्चालन भएपछि युद्ध पर्यटन, जलजला ढोरपाटन, स्वर्गद्धारी लगायतका पर्यटकीय क्षेत्रको भ्रमणका लागि विदेशी पर्यटकहरु भित्राउन सकिने स्थानीयको अपेक्षा रहेको छ । स्थानीयले उपराष्टूपति, पूर्व सभामुख, पूर्व मन्त्रीहरुलाई धेरैपटक मागपत्र बुझाईसके तर विमानस्थल सुचारुका बारेमा भने पहल हुन सकेको छैन ।

२०३५ सालमा स्थानीयले डोकोबाट माटो बोकेर निर्माण गरेको यो विमानस्थल सम्बन्धित निकायको बेवास्ताका कारण अहिले गौचरनमा परिणत भएको छ । राज्यका प्रमुख पदमा रोल्पाली नेताहरु रहेकाले यो विमानस्थल पुनःसञ्चालन हुनेमा स्थानीय अझै आशावादी छन् ।

यसले रोल्पाको आर्थिक सम्मृद्धिमा समेत टेवा पु¥याउने भएकाले सम्बन्धित निकायले विमानस्थल पुनः सञ्चालनमा तत्काल जोड दिनुपर्ने स्थानीय युवा सन्तोष बिसी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *