बादी महिलाहरुको पाँचौं राष्ट्रिय सम्मेलन दाङमा

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४       | 333 Views   ||

अब जातका आधारमा भेदभाव हुँदैन : सभामुख घर्ती

जनक नेपाली

घोराही । ‘बादी महिलाको पुनःस्थापना आजको आवश्यकता, राज्यको हरेक निकायमा समान सहभागिता’ भन्ने मुल नाराका साथ दाङमा बादी महिलाको पाँचौ राष्ट्रिय सुरु भएको छ । दलित महिला एकता केन्द्र दाङ र राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिको आयोजनामा पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो ।

सम्मेलनको उद्घाटन ५ नं. प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । सम्मेलनको उद्घाटन गर्दै सभामुख घर्तीले अब जातका आधारमा कसैलाई भेदभाव नहुने बताउनुभयो । मुलुकमा संघीय गणतन्त्र स्थापना गर्नमा बादी समुदाय उल्लेख भूमिका रहेको बताउँदै उहाँले गणतान्त्रिक राज्यमा जातकै आधारमा कसैलाई पनि उचनीचको व्यवहार नहुने बताउनु भयो ।

उत्पीडन वर्ग, क्षेत्र, समुदायका अधिकार स्थापनाका लागि मुलुकमा जनयुद्ध भएको स्मरण गर्दै सभामुख घर्तीले त्यही परिवर्तनकारी आन्दोलनले मुलुकमा अहिले संघीयता, समावेशी÷समानुपातिक प्रणाली र जनअधिकारसहितको संविधान आएको बताउनुभयो ।

जातीय छुवाछूत पूर्ण रुपमा अन्त्य भइनसकेको भन्दै उहाँले गैरदलित र दलित समुदाय सँगसँगै अगाडि बढे मात्रै जातीय विभेद पूर्णरुपमा अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि घर्तीले बादी समुदाय उत्थान विकास समितिको गठन पनि आफूहरुकै पहलमा भएको बताउँदै माओवादीले बादी समुदायको उत्थानका लागि निरन्तर रुपमा लाग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेशसभा सदस्य दामा शर्माले कानुनी रुपमा जातीय छुवाछूत अन्त्य भए पनि सामाजिक रुपमा अझै अन्त्य नभएको टिप्पणी गर्नुभयो । शर्माले बादी समुदायको आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेको बताउँदै प्रदेशको नीति नियम बनाउँदा बादी समुदायको पक्षमा निर्माण गरिने बताउनु भयो ।

दलित समुदाय अझै अधिकार प्राप्तीको लडाईमा रहेको भन्दै उहाँले नयाँ सरकारसहितको नयाँ संविधानको कार्यान्वयनका क्रममा रहेकाले दलित समुदायले अब जातीय अपमानको पीडा खेप्न नपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य धमकली चौधरी, बादी समुदाय उत्थान विकास समितिका पूर्वउपाध्यक्ष पुष्प बादी, बर्तमान कार्यकारी निर्देशक महेश नेपाली, टेका अध्यक्ष निर्मला केसी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, माओवादी केन्द्रका संयोजक सुवास पुन, राजमोका रेशम विसी, घोराही नगरपालिकाका मेयर नरुलाल चौधरी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, हरप्लेसका विनोद केसी, जिल्ला बारका अध्यक्ष प्रदीप गौतम लगायतले बोल्नुभएको थियो ।

सम्मेलनका बादी समुदायका अगुवा गोपाल नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ता ‘वादी’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार जनक नेपालीले गर्नुभएको थियो भने स्वागत संस्थाका महासचिव सितारा नेपालीले गर्नुभएको थियो ।

देशभरका २ सय ५० जना बादी समुदायका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने आयोजक पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *