वाम एकता विरोधीले हत्याकाण्डसम्म मच्चाउन सक्छन्- प्रचण्ड (भिडियोसहित)

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४       | 344 Views   ||

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष वाम एकतालाई भत्काउन खोज्नेहरुले हत्याकाण्डजस्तो षडयन्त्रसमेत गर्न सक्ने खतरा औंल्याउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहहरुलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याउनु भएको हो ।

पार्टी एकता गर्ने पहल शुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउनुहुँदै अध्यक्षले एकथरिले बिरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गर्नुभयो ।

‘राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरु भएको छ । एकथरिले अनिष्ट शुरु भयो भनेका छन् । अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भनेर एकथरिले भनेका छन् ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अर्कोथरिले बिल्कुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन् ।’

लेखक रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको जनताको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरे पनि यसलाई अनिष्टको संज्ञा दिनेहरुले षडयन्त्र गर्नसक्ने बताउनुभएको हो ।

‘वाम एकताको घोषणाले पैदा गरेको तरंग अरु सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक पनि गुणात्मकरुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा कित्ताका बीचमा निकै तीब्र हुने वाला छ । अर्कोतर्फै माक्र्सवादीहरुभित्रका दक्षिण, मध्य उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुनेवाला छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो बहस बढ्दै जानेवाला छ । मलाई के लाग्छ भने परस्पर बिरोधी कित्ता र आन्दोलनभित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितहरुको कुरा गर्दा कहिँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।’

नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाईं लड्न चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताउनुभयो ।

‘यो संघर्षमा जनताको श्रमजीवीको जीत हुनेतर्फ अगाडि बढ्यो, स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहनन पनि सक्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षडयन्त्रमा उत्रिने देखिएको छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तनविरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाई लडने गर्छ । म उपस्थित विद्धान साथीहरुलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।’

अगाडि जानुको विकल्प छैन

अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढङ्गले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताउनुभयो । अहिले निर्वाचनमार्फत जनताले स्थायित्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गर्नुभयो ।

‘पपुलर भोटको कुरा गर्दा वाम गठबन्धनको पक्षमा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैले यसलाई भत्काउन खोज्नेहरु जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुईवटा विकल्प हाम्रा अगाडि छन् ।’

अध्यक्षले प्रचण्डले जनताले निर्वाचनमार्फत एकताको पक्षमा आदेश दिएको दोहो¥याउनु भयो । ‘त्यही आदेश पालना गर्ने क्रममा बीचमा केही आग्रह, पूर्वाग्रह, संकीर्णता र अराजकताले केही उतारचढाव भयो ।’ प्रचण्डले भन्नुभयो, ‘अन्ततः ‘जनादेशलाई स्वीकार गर्नैपर्छ र बाहिर जान खोज्यो भने सह्य र क्षम्य हुँदैन, माक्र्सवादी, जनवादी हुन सक्दैन’ भनेर पार्टी एकता गर्ने आधारमा हस्ताक्षर गरेका छौं । हामी पार्टी एकतातिर अघि गई नै सक्यौं । पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प छैन ।’

नेपाली जनताले नेपालको तीब्र विकास भएको हेर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एकतापछि नेपालको इतिहासमा नै सबैभन्दा ठूलो सदस्य भएको पार्टी हुने बताउँदै उहाँले जनताले एकीकृत पार्टीबाट ठूलो अपेक्षा राखेको बताउनुभयो ।

‘यसप्रति जनताको आशा निकै बढी छ,’ उहाँले भन्नुभयो, ‘जनताले सुशासन, विकास, समृद्धि गरोस् भन्ने अपेक्षा छ । द्रुत गतिमा विकास होस्, सबैखाले बेथितिको अन्त्य होस र समृद्ध नेपाल छिटो स्थापना होस् भन्ने जनताको अपेक्षाको दबाब नेतृत्वमाथि धेरै ठूलो परेको छ ।’

इतिहास दुई तरिकाले लेखिन्छ

पुस्तकमाथि परिचर्चा गर्दै अध्यक्ष प्रचण्डले विश्वमा इतिहास दुई किसिमले लेखिने गरेको बताउनुभयो । ‘एउटा राजा महाराजाले गरेका भनिएका चमत्कारका विषयमा इतिहास लेखिन्छ भने अर्को मजदुर जनताका श्रम र उत्पादन विकासका इतिहास लेखिन्छन्,’ प्रचण्डले भन्नुभयो, ‘राजा महाराजाको इतिहास लेखिनु पुँजीवादी दृष्टिकोण हो भने जनताको इतिहास लेखिनु माक्र्सवादी दृष्टिकोण हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *