सुर्खेत । प्रदेश नं. ६ को नाम कर्णाली नामाकरण भएको छ भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।
संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।
बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।
प्रदेशसभामा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् ।
प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ ।
४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले राजीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।
राजधानी सुर्खेत
बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।