काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ ।
गृहमन्त्री बने बादल
माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् ।
माओवादीमा गृहमन्त्रीका लागि बादलसँगै वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले दावेदार थिए । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।
माओवादीबाट मात्रिका यादव उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बनेका छन् ।
पूर्वगर्भनर बने अर्थमन्त्री
यस्तै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् । तर, उनले न उपप्रधानमन्त्री पाए न अर्थ मन्त्रालय नै । गुटभित्रको संघर्षका कारण पोखरेल रक्षामन्त्री बन्ने पुगे ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको शपथकै दिन मन्त्री नियुक्त भएका थिए ।