गृहमन्त्री थापाले भने, ‘प्रहरीको अवस्था र इतिहास मलाई थाहा छ, आफ्नो ठाउँमा रहनुहोला’

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       | 1022 Views   ||

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी अधिकारीहरुलाई संगठनको नियम अनुसार रहन निर्देशन दिएका छन् । बुधबार प्रहरी मुख्यालयको निरीक्षणपछि प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

प्रहरीको बृत्तिविकासदेखि ऐन नियमसम्म बनाउन गृहले सहयोग गर्ने, तर ‘यसका लागि दायाँबायाँ नगर्न’ पनि गृहमन्त्री थापाले प्रहरी अधिकारीहरुलाई सुझाव दिए । सरुवा–बढुवाका लागि नेताहरुको दैलो धाउने प्रबृति बढिरहेका बेला गृहमन्त्री थापाले सांकेतिक रुपमा त्यसो नगर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

‘बहुमतको सरकार भएकाले पहिलाको जस्तो अवस्था हुँदैन, तर यहाँहरुको सहयोग चाहिन्छ,’ थापाको भनाई उद्दृत गर्दै एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘प्रहरीको अवस्था र इतिहासका बिषयमा मलाई जानकारी छ, तपाईहरु आफ्नो ठाउँमा रहनुहोला।’

सम्बृद्धि र विकासमा प्रहरीको निकै ठूलो भूमिमा रहने बताउँदै आफ्नो सम्बोधन सुरु गरेका थिए । प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन यही अवस्थामा १ सय २५ वर्ष लाग्ने आफू देखेको बताएका थिए । उनले प्रहरी सधै अप्ठेरोमा काम गरिरहेको बताउँदै मिलेर अघि बढे चाहेको उपलब्धि ५ वर्षमै प्राप्त हुने बताएका थिए ।

प्रहरीलाई आवश्यक र अनिवार्य बनेका ऐन नियम बनाउने प्रक्रिया तत्काल अघि बढाउने बताएका गृहमन्त्री थापाले प्रहरीको पूर्वाधार विकास र अन्य आवश्यक साधनस्रोतका लागि समेत मिलेर बढ्ने बताएका थिए ।

प्रहरी महानिरीक्षकको ब्रिफिङ

गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनका बिषयमा करिब दुई घण्टा ब्रिफिङ गरेका थिए । अर्यालले त्यस क्रममा प्रहरीबाट गएका योजना तथा प्रस्ताव गृहमै थन्किँदा काम गर्न अप्ठेरो परेको जानकारी थापालाई गराएका थिए ।

उनले प्रहरीको रणनीतिक कार्ययोजना गृहमै थन्किँदा सुरक्षा चुनौतीको सामनामा कठिनाई भएको बताएका थिए ।

‘गृहले हामीले पठाएका फाइल हुने भए हुन्छ, नहुने भए हुँदैन भन्ने वा के केमा सुधार आवश्यक छ त्यो भनिदिए हामीलाई सजिलो हुन्छ’ अर्यालले गृहमन्त्री बादललाई भने, ‘तर लामो समय फाइल गृहमै राखिदिँदा हामीलाई अन्योल हुन्छ।’

फागुन १४ गते पदभार ग्रहण गरेका गृहमन्त्री थापा तेस्रो दिन प्रहरी प्रधान कार्यालय नक्साल पुगेका हुन् । विहान साढे आठ बजे नै प्रहरी मुख्यालय पुगेका थापालाई प्रहरी महानिरीक्षक अर्यालले सचिवालयमा रहेको अरनिको हलमा बिस्तृत ब्रिफिङ गरेका थिए ।

वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी उपस्थित रहेको सो ब्रिफिङमा प्रहरीलाई आवश्यक सामग्रीदेखि संघीय प्रहरी ऐन नहुँदा कामकारवाहीमा परेका अप्ठेरोका बिषयमा जानकारी गराइएको थियो ।

ब्रिफिङमा उपस्थित एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार महानिरीक्षक अर्यालले विविध कारणले रोकिएको खरिद प्रक्रिया र संगठनलाई अझै मजबुत बनाउन आवश्यक रणनीतिका बिषयमा समेत जानकारी गराएका थिए ।

गृहमन्त्री थापाले प्रहरीको केन्द्रीय कमाण्ड सेन्टर र ‘फरेन्सिक ल्याब’ को अवलोकन गरेका छन् । त्यस्तै सातवटै प्रदेशमा रहेका प्रदेश प्रहरी प्रमुखसँग गृहमन्त्री थापाले भिडियो ‘कन्फरेन्स कल’ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *