खोला

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       | 206 Views   ||

छविलाल कोपिला

मेरो घरको छेऊमै बग्ने खोला
छङ–छङ बग्ने खोला
अनि, मीठो निद्रासँगै सुसाउने खोला
हो, उही खोलामा
ढुङ्गासँगै कति आनन्दसित पानी खेल्छ
पानीसँगै मिलेर बालुवाहरु पनि खेल्छन्
त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि
यसरी ऊ हजारौंको भविष्य लेखिरहन्छ सधैं ।

मेरो ‘घुच्ची’ खेल्ने चेप्टो ढुङ्गा
गुलेली हान्ने मटेङ्ग्रो
अनि, बालुवा–ढुङ्गा दिएर
हाम्रो जीवन सजाउँछ खोलाले
घर, सडक, नहर… के–के हो के–के
उसैले बनाएको हो
तर, खै ? ऊ कहिल्यै हिसाब/किताब खोज्दैन ।

सायद, त्यसैले होला
जब ऊ सुख्खा भएर निरस हुन्छ
उसलाई लुट्छन् सबै
छातीमाथि ढुङ्गा बजारेर
पेटको बालुवा खोसेर
नशा–नशामा बग्ने उसको पानी चुसेर
ऊ कंकाल हुँदा पनि
आफ्नो शरीरमा लागेको घाउको
पीडा कहिल्यै महसुस गर्दै
बरु ऊ सुनाउँछ
हिमालको स्वच्छ पानीको गीत
पहाडको शीतल हावाको कथा
अनि, तराइको हरियाली फाँटको गाथा ।
तर पनि, खै किन हो
मान्छेहरु उसँग हरदम खेलाचीं गर्छन् ?

सायद, त्यसैले होला
कहिलेकाहीं धुमिल मन बनाउँछ ऊ
कहिले भेल भएर बग्न खोज्छ,
कहिले छाल बनेर उर्लिन खोज्छ
यसरी ऊ बगिरहँदा,
हा–हा र हुँ–हुँ गर्दै उर्लिरहदा
कैयौं भ्रष्ट र दलालको जरा उखेन्छिन्
कैयौं यथास्थितिका पाखाहरु भत्किन्छन्
कैयौं काला मनहरुमा दरार आउँछन्
यसरी, यहाँ ऊ
अचम्मको विध्वंश मच्चाउन मन गर्छ ।

उत्साहले ऊ ढुङ्गामा पल्टीबाज खेल्छ
हावामा छलाङ्ग मार्छ
भूमरीका हजारौं घुम्टीहरु
अनि, धर्तीको प्रत्येक अंग–अंग कुद्दै
यौवनको गहिराइमा पुग्छ
जहाँ चरमस्पर्शले खिलखिला हाँसो हाँँस्छ ।

निरीह ढुङ्गा पिसेर छाती कहाँ भरिन्छ र ?
बगरको बालुवा पिएर पेट पनि त कहाँ भरिन्छ ?
सायद, त्यसैले होला
आजकल ऊ आफ्नो सुन्दर गहना फिर्ता माग्दैछ
यो दुनियाँसँग
आफ्नो साँवा–व्याज माग्दैछ
लिन जान्ने, दिन नजान्नेहरुसँग
अनि, खबरदारीको बिन्ती बिसाउँदैछ
यो प्रकृतिलाई कुरुप बनाउनेहरुसँग ।

अस्ति भन्दैथ्यौ
माग्दा नपाए, खोसेर ल्याउँछु
घिसारेर भए पनि
चिथोरेर भए पनि
या चोइट्याएर भए पनि ल्याउँछु ।

आजकल ऊ निकै रिसाएको छ
सायद त्यसैले होला
ऊ बार–बार आउँछ
कहिले पाखा भस्काउँदै
कहिले रुख ढाल्दै
कहिले घर भत्काउँदै
अनि निर्दयीजस्तै
पूरा बस्ती बगर बनाउँछ
हजारौं रहरहरु, जहर बनाउँछ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *