नदीजन्य वस्तुको संकलन तथा उत्खनन् आफै गर्ने घोराही उपमहानगरको निर्णय

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       | 196 Views   ||

दाङ । स्थानीय तहहरुले नै नदीजन्य वस्तुको उत्खनन तथा संकलनको काम गर्ने निर्णय बमोजिम घोराही उपमहानगरपालिकाले त्यसको कार्यान्वयनका लागि बाटो खोलेको छ ।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगर क्षेत्रमा विकास निर्माणको कामका लागि आवश्यक पर्ने ढुंगाजन्य वस्तुहरुको संकलन र उत्खनन् गर्न पहिचान तथा व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको संयोजकमा घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरत अर्याल, सदस्यमा वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने र सदस्य सचिवमा इञ्जिनियर रामधन श्रेष्ठ रहनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेअनुसार र जिल्ला समन्वय समितिबाट पेश भएको पत्रसहितको निर्णयलाई आधार बनाई घोराही उपमहानगरले आवश्यक नदीजन्य पदार्थको संकलन र उत्खनन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले घोराही उपमहानगरपालिकाको क्षेत्रमा संचालन हुने विकास निर्माणसम्बन्धी आयोजना सम्पन गर्नका लागि वातावरणमैत्री ढंगबाट संकलन र उत्खनन् गर्ने निर्णय गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

ठेक्का लागेका खोला र त्यसबाहेकको क्षेत्रमा आवश्यक पर्ने नदीजन्य पदार्थहरुको पहिचान तथा व्यवस्थापन गर्ने गरी समिति गठन गरिएको चौधरीले बताउनुभयो । उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्बन्धी आयोजनाको लागि मात्र बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रतिघन फिट दुई रुपियाँ राजश्व लिई उठाउने व्यवस्था गर्ने निर्णय भएको पनि चौधरीले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक बर्षको विनियोजित बजेट अन्तर्गत संचालन हुने योजनाका लागि आवश्यक पर्ने नदी जन्य पदार्थको उत्खनन् र ओसारपसार गर्न डोजर तथा स्काभेटरको प्रयोग समेत गर्न सकिने निर्णय भएको छ ।

साथै घोराही उपमहानगरपालिका क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि ती क्षेत्रहरुको प्रारम्भिक वातावरणीय परीक्षण गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने समेत निर्णय गरिएको चौधरीले बताउनुभयो ।

यसैबीच नगर कार्यपालिकाका सदस्य बिमला गन्धर्वका श्रीमान् बिरामी भएको र विपन्न भई उपचार गर्न कठिनाई भएको हुँदा उपचारका लागि १० हजार रुपैयाँ र अर्का नगर कार्यपालिकाका सदस्य डिल्ली नेपालीकी श्रीमतीको उपचार खर्चका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *