दाङका सीमाबासीको प्रश्न– कुन बाटो आउँछ ‘सिंहदरबार’ ?

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       | 306 Views   ||

भुपेन्द्र वली

डगमारा नाका (दाङ) । पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरासहित जिल्लाको देउखुरी क्षेत्रका सांसद गत शनिबार दाङको सिमावर्ती क्षेत्र डगमारा नाका पुगे ।

नाकास्तरिय खेलकुद समारोहको उद्घाटनका लागि ३ घण्टा लामो भारत यात्रापश्चात् नेपाल प्रवेश गरेका नेताहरुलाई सिमाबासीको एउटै प्रश्न थियो– ‘गाउँ–गाउँमा सिंहदरबार ल्याएँ भनेर भन्नुहुन्छ । खै तपाईहरु स्वयं भारतको बाटो भएर यहाँ आउनुभयो । हामी दिनदिनै भारतको बाटो भएर मात्र आफ्नो देश आउन बाध्य छौं । तपाईहरुको सिंहदरबार यहाँसम्म कुन बाटो भएर आउँला ?’

नाका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले भारतको बाटो प्रयोग गरेर मात्र आफ्नो घरसम्म आउन सक्ने बाध्यता रहेकाले उनीहरुले उक्त प्रश्न सोधेका हुन् ।

नाका क्षेत्रमा नेपाल तर्फबाट सडक पु¥याइएको छैन भने सामान्य दैनिक जिविकोपार्जनका लागि पनि भारतमै निर्भर रहनुपरेको छ ।

‘बस्न त नेपालमै बसेका छौं ।’ राजपुर–१ सिरिया नाकाका स्थानीय ओमबहादुर पुनले भने, ‘नेपालका सवारी साधन चल्ने कोइलाबास नाकाको दुरी यहाँबाट जम्मा १०, १२ कि.मि मात्र छ । तर सडक छैन । भारततर्फबाट यता आउनु पर्दा करिब ५५ किलोमिटरको यात्रा गर्नुपर्छ ।’

‘सिंहदरबार’ पुग्न ८ घण्टाको बाटो

हाल राज्यपुनःसंरचना भएर गाउँ–गाउँमा ‘सिंहदरबार’ पुगेको दावी गरिए पनि सामान्य सरकारी कामका लागि पनि नेपाल तर्फबाट ८ घण्टा लामो बाटो हिँडनुपर्ने या उत्तिकै समय लाग्ने गरी भारतको मोटरबाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको नाकाबासीको भनाई छ ।

यस्तै स्वास्थ्य चौकी नहुँदा सामान्य औषधीका लागि पनि सदरमुकाम घोराही वा लमही बजारसम्म पुग्नुपर्ने बाध्यतामा नाकाबासी छन् । गतिला स्वास्थ्य चौकी पनि नाका क्षेत्रमा नभएको स्थानीय बताउँछन् ।

‘बैशाख जेठमा बिच्छीले टोकेर प्रत्येक वर्ष कसै न कसैले ज्यान गुमाउनु परेको छ ।’ पुनले भने, ‘मैले पनि अढाइ वर्षको छोरा गुमाएँ । स्वास्थ्य चौकीमा बिच्छीको औषधी भएको भए मेरो छोराले ज्यान गुमाउनु पर्दैनथ्यो ।’

नाका क्षेत्रमा ठूलो जनसंख्याले बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवा सुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय छैनन् । खांग्रा नाकामा मात्र माध्यमिक स्तरको विद्यालय रहेको छ । विद्यालय नहुँदा स्थानीय शिक्षाबाट वञ्चित छन् ।

दैनिक जीवन धान्न भारतकै भर

२२ वटा नाकामध्ये कोइलाबाससम्म मात्र नेपालका सवारी साधन पुग्छन् । त्यो पनि बर्षातको समयमा सडक बिग्रिएर यातायात अवरुद्ध हुन्छ । सडक नभएका कारण यहाँका स्थानीय दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको भर पर्नुपरेको बताउँछन् । ‘नुनदेखि सुनसम्म किन्न भारत नै पुग्नुपर्छ ।’ सिरिया नाकाका स्थानीय गणेश नेपालीले भने, ‘नेपालमा त घर छ भन्नुमात्र हो । दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको शरण पर्नुपरेको छ ।’

भारतबाट सामान ल्याउनुपर्दा पनि सास्ती व्यहोर्नुपरेको स्थानीयको भनाई छ । ‘आजभोलि २५ किलोभन्दा बढी सामान ल्याउन पाइरहेका छैनौं ।’ नेपालीले भने, ‘यो नियम पनि कतिखेर फेरिन्छ थाहा हुँदैन । ठाउँ–ठाउँमा चेकिङ हुन्छ ।’ यस्तै उब्जाउ जमिन नहुँदा आम्दानी नहुने भएकाले रोजगारीका लागि उनीहरु भारत नै पुग्नुपरेको छ ।

लालपूर्जा विहीन नाकाबासी

२२ वटा नाकामध्ये प्रायः स्थानमा मानव बस्ती रहेको भए पनि स्थानीय कोहीसँग पनि जग्गाको लालपुर्जा छैन । सुकुम्बासी समस्या समाधान आयोगको आह्वान बमोजिम लालपुर्जा प्राप्तीका लागि निवेदन दर्ता गराए पनि त्यसको कुनै सुनुवाई नभएको पटौली नाका स्थित बालबिसौनी प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हेमराज गिरीले बताए ।

२०१७ सालदेखि नाका क्षेत्रमा मानव बसोबास भए पनि लालपुर्जा कसैसँग नभएको उनको भनाई छ । ‘राजा महेन्द्रको निर्देशनबमोजिम नाका क्षेत्रमा मानव बस्ती बसाइएका हुन् । त्यसयता कैयन् पटक जग्गाको नापी पनि भयो । तर लालपुर्जा दिइएन ।’ उनले भने । प्रत्येक नाका क्षेत्रमा करिब ३० देखि एक सयसम्म घरपरिवार बसोबास गर्दै आएका छन् ।

पहिलोचोटी सिमा पुगे उच्चपदस्थ अधिकारी

नाका क्षेत्रमा उच्च तहका नेता र सरकारी पदाधिकारी जान आनाकानी गरिरहेको बेला यसपटक भने उच्च तहका नेताहरु नाका पुगेका हुन् । औपचारिकरुपमा नाका पुग्ने अहिलेसम्मकै उच्च व्यक्ति पूर्व उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा बन्नुभएको छ ।

यसअघि नाका क्षेत्रमा भारतीय ज्यादती बनेपछि अनुगमनका लागि अमिक शेरचनसहितका नेता गए पनि औपचारिक कार्यक्रममा अहिलेसम्म नाकामा माथिल्लो तहको कोही नेता पुगेका थिएनन् । नाकामा हरेक बर्षको फागुन १२ गतेदेखि शुरु हुने नाकास्तरीय खेलकूद महोत्सव उद्घाटन गर्ने नाममा महरासहितका नेताहरु त्यहाँ पुगेका हुन् ।

भारतीय बाटो हुँदै प्रतिनिधि सभा सदस्य महरासहित प्रदेशसभा सदस्यहरु इन्द्रजित थारु, रेवतीरमण शर्मा र दामा शर्मा पुग्नुभएको थियो ।
गत बर्ष सांसद रेखा शर्मा पनि पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *