नेपालले पायो विशाल लक्ष्य, सिकन्दर राजा र ब्रेन्डम टेलरको शतक

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४       | 406 Views   ||

विश्वकप छनोट अन्तर्गतको जारी खेलमा नेपालले जिम्बावेबाट ३ सय ८१ रनको विशाल लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोडेको हो ।

ब्रेन्डेम टेलर र सिकन्दर राजाले शतकिय पारी खेलेपछि जिम्बावेले सो स्कोर बनाएको हो । आक्रामक पारी खेलेका राजाले ६६ बलमा ९ छक्का र ७ चौकाको मदतमा १२३ रनको इनिङ खेलेका थिए। यस्तै, टेलरले ९१ बलको सामना गर्दै १०० रन पूरा गरे । उनले १ छक्का र ७ चौका प्रहार गरे ।

जिम्बावेका ओपनर सोलोमोन मिराले अर्धशतकिय पारी खेलेका थिए। उनले ४१ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको मदतमा ५२ रनको पारी खेले। अर्का ओपनर सेफास झुआवले ४१ रनको इनिङ खेले।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान २-२ तथा ललितनारायण राजबंशी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए। सोमपाल महँगा भएका थिए। सोमपालले ४९अौं ओभरमा शतक प्रहार गर्ने दुबै ब्याट्सम्यानलार्इ पवेलियन फर्काएका थिए। सोमपालले चौथो बलमा राजा र पाँचौं बलमा टेलरलार्इ आउट गरेका हुन्।

त्यसअघि राष्ट्रिय टोलीबाट पहिलो खेल खेलिरहेका ललितनारायण राजबंशीले नेपाललार्इ चौथो सफलता दिलाएका थिए । उनले कार्ग इर्भानीलार्इ विकेटकिपर दीलीप नाथको हातबाट ३४ रनमा खेलिरहँदा आउट पारेका थिए ।

बसन्त रेग्मीले नेपाललार्इ तेस्रो सफलता दिलाएका थिए। अर्धशतक बनाएर खेलिरहेका ओपनर सोलोमोन मिरालार्इ बसन्तले विकेटकिपर दीलिप नाथको हातबाट क्याच गराएका हुन्। ४१ बल खेलेका मिराले ५ चौका र ३ छक्काको मदतमा ५२ रन जोडेका थिए।

बसन्तले नै नेपाललार्इ दोस्रो विकेट दिलाएका हुन्। उनले हिल्टन मसकदजालार्इ कट एन्ड बोल्ड पारेका थिए। २३ बल खेलेका हिल्टनले ३ चौकाको मदतमा १७ रन जोडे। अर्का ओपनर सेफास झुआवलार्इ सन्दीपले एलबिडब्लुको धरापमा पार्दै नेपाललार्इ सुरुवाती विकेट दिलाएका थिए।

नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध पहिलोपटक एकदिवसीय खेल खेलेको हो। नेपालले प्रतियोगिता मार्फत एकदिवसीय मान्यताको लक्ष्य लिएको छ। समूह बीमा रहेको नेपाल समूहचरणको खेलपश्चात शीर्ष तीन भित्र रहन सके सुपरसिक्समा प्रवेश पाउँनेछ। सुपरसिक्समा प्रवेश पाएमा नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

विश्वकप छनोट अन्तर्गत नेपालका अबको खेलतालिका :

नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब

Leave a Reply

Your email address will not be published. Required fields are marked *