नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा, लाज नमानी माओवादीमा फर्कन प्रचण्डको बाबुरामलाई आग्रह

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४       | 583 Views   ||

एउटै कम्युनिष्ट पार्टी बनाउनु बाहेक अरु कुनै विकल्प छैन– प्रचण्ड

काठमाडौं । नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमै फर्किनुभएको छ । पूर्व माओवादी नेता देवकोटा डा. बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा जानुभएको थियो ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताउनुभयो । स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको वहाँले बताउनुभयो ।

प्रचण्डले भन्नुभयो, ‘समाजवादमा जाने हो भने सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन । ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस् ।’

माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउँदै प्रचण्डले पार्टीमा पुनर्मिलन हुन अनुरोध गर्नुभयो । ‘इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिएँ,’ अध्यक्ष प्रचण्डले सम्झिनुभयो, ‘उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।’

देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन सबैमा आव्हान गर्नुभयो ।

पार्टी एकताको पक्षमा बिभिन्न किसिमले तर्क वितर्क भइरहेको सन्दर्भ चर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताले एकताको पक्षमा आदेश दिएको बताउनुभयो । ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौं, के भनौं भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो ।’

उक्त अवसरमा पार्टी प्रवेश गर्नुभएका नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामजीको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *