तुलसीपुरमा सहरी स्वास्थ्य क्लिनिक सञ्चालन हुने

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       | 199 Views   ||

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भएको छ  । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको २२ औं बैठकले वडा नम्बर २ को तकियापुर र १८ को हेमन्तपुरमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले बताएका छन् ।

यसभन्दा अगाडि तुलसीपुर उपमहानगरपालिकाका चार ठाउँमा यस्ता क्लिनिक स्थापना भइसकेका छन् । यसैगरी वडा नम्बर १२ को हरिपौरी र ७ को पर्सेनीमा बाह्य खोप केन्द्र स्थापना गरिने भएको छ ।

‘स्वास्थ्य जाँच र खोपका लागि टाढा–टाढा जानुपर्ने बाध्यताका अब अन्त्य हुनेछ’ नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले अन्य वडामा पनि यस्ता क्लिनिक सञ्चालन गर्न लागेको जानकारी समेत दिए ।

यसैगरी कार्यपालिकाको बैठकले तुलसीपुर उपमहानगरले फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न थालेको वीच भलिबल प्रतियोगितालाई सफल बनाउनका लागि सबै पक्षलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकमा कार्यक्रमलाई भव्य बनाउनका लागि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशरबहादुर विष्टलगायतको सहभागिता रहने समेत जानकारी गराइएको थियो ।

कार्यपालिका बैठकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हामी भन्छौं, महिला पहिला–आसनमा, भाषणमा र शासनमा भन्ने अभियानको विशेष कार्यक्रममा साथमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रम आयोजना गर्नका लागि उपमेयर माया आचार्यको अध्यक्षतामा सम्पूर्ण कार्यपालिका सदस्यहरु समितिको सदस्य रहने गरि समिति गठनसमेत गरिएको नगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *