बिरामीबीच बिहे नगरे रोकिन्छ सिकलसेल एनिमिया

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       | 348 Views   ||

भुपेन्द्र वली

दाङ । पश्चिम नेपालका थारु समुदायमा जनस्वास्थ्यको समस्याका रुपमा देखिएको सिकलसेल एनिमियाबाट आउँदो पुस्तालाई जोगाउन बिरामी बीचको बिहे रोक्नुपर्ने यस क्षेत्रमा क्रियाशील चिकित्सकहरुले बताएका छन् ।

शनिबार स्वास्थ्य, शिक्षा, सचेतना सामुदायिक संस्थाद्वारा राप्ती गाउँपालिकाको सिसहनियामा आयोजित जनप्रतिनिधिका लागि सिकेलसेल एनिमिया सम्बन्धी अभिमुखीकरणमा उनीहरुले लुकेर रहेको सिकलसेलको बिमारी त्यस्तै अर्को बिरामीबीच बिहे हुँदा फस्टाउन पाउने र उनीहरुबाट जन्म लिने बच्चामा यो रोग सर्ने उनीहरुले बताएका छन् ।

यद्यपि सिकलसेलको रोग लागेको व्यक्तिले निरोगी व्यक्तिसँग विवाह गर्दा भने कुनै समस्या उत्पन्न नहुने अनुसन्धानबाट देखिएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख चिकित्सक तथा यो रोगका बारेमा शुरुवाती समयदेखि नै अनुसन्धान गर्दै आएका डा. राजन पाण्डेले सिकलसेल पुस्ता दर पुस्ता वंशाणुगत जीनबाट सर्ने भएकाले दुई बिरामीबीचको विवाह रोकेर मात्र आउँदो पुस्तालाई यो रोग बाट उन्मुक्ति पाइने बताए ।

‘सिकलसेल दुईथरीको हुन्छ । एउटा स्पष्ट महसुस हुने र अर्को लुकेर रहेको अवस्थामा । स्पष्ट बिरामीले त थाहा पाइसकेर सावधानी अपनाउँछ तर लुकेर रहेको दुई बिरामीबीच विवाह हुँदा जन्मने बच्चामा यो रोग सर्छ ।’ उनले भने, ‘यस रोग निर्मुल पार्ने एउटै उपाय छ, त्यो हो दुई बिरामीबीचको विवाह नहुनु । यद्यपि बिरामी भएको मानिसले अर्को बिरामी भएको अवस्थामा भने यो रोग सर्दैन ।’

यसका लागि जोखिममा रहेको थारु समुदाय र अन्य मानिसले पनि आफ्नो सिकलसेल भए/नभएकोबारे अनिवार्य रुपमा चेक गराउनुपर्ने उनले बताए । यस्तै बिरामी भइसकेको व्यक्तिले नियमित औषधि सेवन गरे सामान्य अवस्थामा बाँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

पश्चिम नेपालमा मात्र २ लाख थारु जोखिममा

सिकलसेल नेपालले गरेको अध्ययनअनुसार पश्चिम नेपालका २ लाख थारु समुदायका मानिस सिकलसेल रोगको बिरामी छन् । कुल जनसंख्याको १० प्रतिशत थारु समुदाय यो रोगको बिरामी रहेको डा. पाण्डेले जानकारी दिए । त्यसमा पनि दाङको देउखुरी, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, कपिलवस्तु, रुपन्देही, नवलपरासी र सुर्खेतका थारुहरु क्रमशः यो रोगको बढी जोखिममा छन् ।

१५ सयमात्र नियमित उपचारमा

सिकलसेस रोगीलाई सहयोगस्वरुप सरकारले १ लाख बराबरको स्वास्थ्य सुुविधा प्रदान गरे पनि हाल जोखिममा रहेका २ लाखमध्ये १५ सय जना मात्र यो रोगको नियमित उपचारमा रहेको सिकलसेल नेपालले जनाएको छ । यो रोगबारे सचेतना नहुनु, बिरामी भएकोबारे थाहा नपाउनु, थाहा पाएर पनि उपचार गर्न लजाउनुलगायतका कारणले बिरामीहरुले सरकारले दिएको सुविधा वञ्चित रहेको डा. पाण्डेले बताए ।

‘कतिले अझैं यो रोगबारे पुर्ण रुपमा जानकारी पाउनुभएको छैन । २०६८ सालबाट हामीले यो रोगको निवारणका लागि अभियान नै छोडेर प्रयास गरिरहेका छौं ।’ उनले भने, ‘तर पनि अझै ठूलो समुदाय अस्पताल सम्म आइपुगेको छैन । यसका लागि समुदायस्तरमा नै समुहहरु गठन गरेर जोखिम न्यूनीकरणका अभ्यास गर्नुपर्ने आवश्यक छ ।’

के हो सिकलसेल एनिमिया ?

सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग भएको चिकित्सकहरुले बताएका छन् । हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । र त्यो क्रोमोजोममा ३० हजार प्रकारका जीन हुन्छन् । तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुने बिर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ निलम ठाकुरले जानकारी दिइन् ।

उनका अनुसार यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोविनलाई असर पार्ने वंशानुुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ र त्यसले गाह्रो हुन्छ । त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ ।

यसले गर्दा लिभर बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवम् एक आपसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ ।

स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेल २१/२२ दिनको हुन्छ ।

त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । डा. ठाकुरले विदेशमा जस्तै बच्चा अवस्थामा नै सिकलसेल बिरामी भए नभएको बारेमा चेक गर्ने परिपार्टीका लागि राज्यको नीतिगत तहमा नै निर्णय हुनुपर्ने बताइन् ।

‘विदेशमा सिकलसेलबारे बच्चा अवस्थामा नै अनिवार्य रुपमा यो रोगको बारेमा चेक गरिन्छ । जसले गर्दा हाल माल्दिभ्स, बंगलादेश, श्रीलंकालगायत देशमा यो रोगको जोखिम न्यून भइसकेको छ ।’ उनले भनिन्, ‘नेपालमा नीति नै निर्माण गरेर सिकलसेल रोगको बारेमा अनिवार्य रुपमा चेक गर्नुपर्ने व्यवस्था मिलाइनुपर्छ ।

औषधी नै पाएनौं : बिरामी

सिकलसेल रोगका बिरामीले भने सरकारले स्वास्थ्य सुविधा उपलब्ध गराउने बताए पनि आफुहरुले सामान्य औषधीसम्म नपाएको बताएका छन् । राप्ती गाउँपालिका ६ का सिकलसेल रोगका बिरामी दिपक चौधरीले जिल्ला जनस्वास्थ्य कार्यालयमा पुग्दा आफुले औषधी नपाएको बताए ।

‘सामान्य अवस्थामा पनि मैले मासिक २ हजार बराबरको औषधि खानुपर्छ । फोरिक एसिड र हाइड्रोक्सियुरिया ।’ उनले भने, ‘जनस्वास्थ्य कार्यालयमा योमध्ये को सस्तो खालको फोरिक एसिड पाइन्छ लैजानुस् भन्नुभयो तर महङ्गो खालको औषधी पाइएन । महङ्गो पर्ने औषधी नदिए महिनामा ३५ रुपैयाँले पुग्ने औषधी म आफै किन्न सक्छु भनेर लिएको छैन ।’

कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारु, दामा शर्मालगायत बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *