अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र मुक्ति

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       | 719 Views   ||

समाज वर्गीय हुन्छ यो सार्वभौम नियम हो । जहाँ वर्ग हुन्छ त्यहाँ संघर्ष हुन्छ । विश्वमा जबदेखि निजी सम्पत्तिको सुरुआत भयो (वर्गको उदय) भएपछि नै वर्गीय संघर्षको थालनी भएको हो । दास युगमा दास र दासमालिकको बीचमा संघर्ष भयो, सामन्ती युगमा जमिनदार वर्ग (सामन्त वर्ग) र किसानबीचमा संघर्ष भयो भने पुँजीवादी युगमा पुँजीपति वर्ग र मजदुरबीचमा संघर्ष भयो । तर, प्रत्येक युग परिवर्तनमा गरिखाने र वर्ग (दास किसान मजदुर) को महत्वपूर्ण भूमिकाका कारण यसप्रकारका वर्गीय आन्दोलनलाई जतिसुकै क्रूर र नृशंस तरिकाले दबाउन खोजे पनि जनबलका अगाडि तिनीहरूको केही लागेन । अन्तिम विजय सत्य, न्याय र जनताको हुन्छ भन्ने कुरा व्यवहारबाटै पुष्टि भयो ।

शशी श्रेष्ठ

अन्ततः एकपछि अर्को अत्याचारी शासन व्यवस्था ढल्दै गए । नयाँ समाज व्यवस्था निर्माण हुँदै गयो । हरेक पुरानो शासन व्यवस्थाको अन्त्य र नयाँ समाज निर्माण र विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । यस कुरालाई पुष्टि गर्दै सर्वहारावादी आन्दोलनका नायक एवम् विचारक स्टालिनले भन्नुभएको छ, ‘इतिहासमा महिलाले भाग नलिएको उत्पीडित वर्गको त्यस्तै कुनै आन्दोलन भएन । श्रमजीवी महिला सबै उत्पीडित वर्गको सबैभन्दा उत्पीडित समुदाय हो ।’

त्यसकारण उनीहरू त्यस्तो समाजको मुक्तिका लागि भएको महान् आन्दोलनमा अलग रहन सकेनन् । दासमुक्ति आन्दोलनमा लाखौँ सहिद भए, किसान अर्धदासको मुक्तिको संघर्षमा पनि हजारौँ महिलाले भाग लिए भने यो युगको सबैभन्दा शक्तिशाली मजदुर वर्गको आन्दोलनमा पनि मजदुरको झन्डामुनि करोडौँ महिला संगठित भएका छन् । यसै सन्दर्भमा महान् दार्श्निक कार्लमाक्र्सले पनि भन्नुभएको छ, ‘इतिहासको ज्ञान भएको जो कसैलाई पनि थाहा हुनुपर्छ कि महान् सामाजिक परिवर्तन महिला विद्रोहबिना असम्भव हुन्छन् ।’

यसप्रकार युग अगाडि बढ्दै जाने क्रममा पन्ध्रौँ, सोह्रौँ शताब्दीमा पश्चिमी युरोपमा पुँजीवादी उत्पादन सुरु भयो । महिला पनि घरेलु कामबाट कलकारखानामा आउन थाले । भूमिबाट उद्योगधन्दामा रूपान्तरण हुन थाल्यो । सत्रौँ र विशेषतः अठारौँ शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिपछि उद्योगधन्दा र पुँजीको विकासमा तीव्रता आयो ।

नयाँ युगको जन्मसँगै महिलाको पनि कामको जिम्मेवारीमा परिवर्तन आयो । महिला घरको चार दिवार नाघेर तीव्रत्तर गतिमा उत्पादन कार्यमा भाग लिन थाले । सर्वहारा वर्गको एउटै साधन श्रमको मागभन्दा आपूर्ति धेरै भएको र पुँजीपति मजदुर वर्गप्रतिको अनुदार चरित्र र कठोर प्रवृत्तिका कारण कम ज्यालामा अधिकतम काम गर्न बाध्य भए । १७–१८ घन्टा र कहीँ–कहीँ २० घन्टासम्म बिना कुनै सुविधा अस्वस्थ वातावरणमा काम गर्न बाध्य थिए । यतिसम्म कि महिनावारी बिरामी र सुत्केरी अवस्थामा समेत अत्यन्त जोखिमपूर्ण काम गर्नुपथ्र्याे । कम तलब र गरिबीका कारणले थप आम्दानीका लागि ५/६ वर्षका आफ्ना केटाकेटीलाई समेत मेसिन्को धूवाँमा जोखिमपूर्ण काम गराउन बाध्य भए ।

‘जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ, जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विस्फोट हुन्छ’ भनेजस्तै पुँजीपति वर्गले मजदुरमाथि नृशंस रूपले अमानवीय व्यवहार गर्दै जाने क्रममा मजदुर र पुँजीपतिबीचको अन्तरविरोध तीव्र गतिले बढ्दै गयो । परिणामस्वरूप अठारौँ शताब्दीमा ठुल्ठूला मजदुर आन्दोलन भए । सुरु–सुरुका यी मजदुर आन्दोलन उग्र मेसिन तोडफोड गर्ने खालको थियो, पछि कारखाना मालिकमा केन्द्रित भयो ।

यी ठूला आन्दोलनमध्ये बेलायतको चार्टिस्ट आन्दोलन, १८३१ मा फ्रान्स, १८३४ को लिओन्स विद्रोह र १९४४ को जर्मनीमा सिलोसियाली विद्रोह विश्वका चर्चित मजदुर विद्रोह हुन् । हरेक वर्गीय र मजदुर आन्दोलनमा महिलाको सहभागिता महत्वपूर्ण रह्यो । त्यसबाहेक महिलामाथि हुने असमान तलब, व्यवहार र कानुनविरुद्धमा पनि एकजुट भएर महिला सडकमा ओर्लिए । मजदुर आन्दोलनबाट पुँजीवादी सरकार आत्तिएर प्रहरी सैनिकको प्रयोग, प्रेसको प्रयोग, आन्दोलनमा घुसपैठ गर्ने, गुन्डा लगाउने, जागिर खोस्ने, दमन, हत्या र फासीसमेत दिए, तर पनि आन्दोलन दबाउन सकेनन् । तानाशाही शासक झुक्न बाध्य भए । यसप्रकार श्रमजीवी महिलाको निरन्तर संघर्षको परिणामस्वरूप महिला अधिकार स्थापित हुँदै गयो ।

विश्वका महिलाले महिला समान अधिकार, समान मताधिकार, समान कामको समान ज्यालालगायत थुप्रै प्रकारका अधिकारका लागि संघर्ष गरी उपलब्धि पनि हासिल गरेका छन् । तर म यहाँ ८ मार्चको ऐतिहासिक पृष्ठभूमि र महत्वबारेमा मात्र उल्लेख गर्न चाहन्छु ।

पश्चिमा मुलुकमा अमेरिकी महिला मुक्ति आन्दोलनभन्दा युरोपेली महिला मुक्ति आन्दोलन मजदुर आन्दोलनबाट धेरै प्रभावित थियो । युरोपका महिला नेताहरूको समाजवादी वामपन्थी विचारधारबाट प्रभावित थिए । परिणामस्वरूप समाजवादी आन्दोलनलाई जन्म दिए । सन् १७७९ देखि बेलायतमा मेरी उल्सटोन क्राफ्टले महिला समान अधिकारको कुरा उठाउन सुरु गरेको भए तापनि सन् १८६५ तिर आइपुग्दा मात्र महिला मुक्ति आन्दोलनले संगठित रूप लिएको पाइन्छ ।

सन् १८५०–६० मा अमेरिकामा पुँजीवादको तीव्र विकास (यन्त्रको विकास)ले शारीरिक कामलाई विस्थापित गर्दै अनिश्चित घन्टा कामको बोझ, मालिकको हैकम र शोषणले मजदुरको जीवन अत्यन्त कष्टप्रद थियो । यसविरुद्धमा ८ मार्च सन् १८५७ मा अमेरिकी सुती कपडा कारखानामा काम गर्ने महिलाले कामको समय कम गराउन आन्दोलन गरेका थिए ।

क्लारा जेट्किन र रोजा लग्जम्वर्ग, सन १९१० मा

सन् १८६४ मा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक संघ गठन भयो र सदस्यका रूपमा क्लारा जेट्किन पनि रहनुभयो । त्यसबेलासम्म महिला आन्दोलनमा दुईवटा धार देखापरिसकेको थियो । (१) महिला आन्दोलनलाई पुँजीवादी सुधारमै सीमित राख्न चाहने (२) महिला मुक्तिलाई सर्वहारावादी आन्दोलनसँग जोड्ने ।

पहिलो धारको नेतृत्व पुँजीवादी महिलाले गरेका थिए भने दोस्रो धारको नेतृत्व क्लारा जेट्किनजस्ता समाजवादी महिलाले गरेका थिए । त्यतिखेर फ्रेन्च अराजकतावादी, निम्न पुँजीवादी समाजवादी मजदुर आन्दोलनको नेतृत्व गर्ने प्रुधाँले महिलाले कारखानामा काम गर्नु हुँदैन भन्ने धारणाको खण्डन गर्दै कार्ल माक्र्सले सन् १८६८ मा भएको प्रथम इन्टरनेसनलमा महिला समानताका निम्ति सामाजिक उत्पादन काममा महिलाको संलग्नता नितान्त आवश्यक छ भन्दै समान कामको असमान ज्याला प्रथा, अतिरिक्त श्रम शोषण, अनुत्पादक श्रमको बन्धनबाट मुक्ति प्राप्त नगरी महिलाले वास्तविक अर्थको आत्मनिर्भरता वा मुक्ति प्राप्त गर्न सक्दैन भन्ने दृष्टिकोण अगाडि सार्नुभयो । त्यसका लागि अलग्गै उचित कानुनको व्यवस्था (राति काम गर्न निषेध) हुनुपर्नेमा जोड दिइयो । प्रथम इन्टरनेसनलको यो विचारले विश्वभरि नै प्रभाव पा¥यो । परिणामस्वरूप महिला पनि ट्रेड युनियनमा संगठित हुन थाले, जसको प्रभावबाट सन् १८७१ मा फ्रान्समा भएको पेरिस कम्युन विद्रोहमा पनि सक्रिय सहभागी भए ।

यस्तै गरी ८ मार्च १८९७ मा उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै अमेरिकाको न्युयोर्कमा आन्दोलन भयो । १९०७ तिर आइपुग्दा समाजवादी महिलाको ठूलै पंक्ति तयार भयो । त्यसले जर्मनीको स्टुटगार्डमा पहिलो सम्मेलन गरी क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संघ’ गठन गर्यो । यसको गठनले महिला आन्दोलन युरोपमा मात्र होइन, अन्य देशमा पनि प्रभाव पर्न थाल्यो ।

८ मार्च १९०८ मा अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले मताधिकारका लागि पुनः संघर्ष गरे । त्यस्तै गरी ८ मार्च १९०९ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हडताल, खुला सभा र सडकमा उत्रेर विशाल जुलुस प्रदर्शन गरे ।

सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा ८ घन्टाको श्रम समय लागू गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम सञ्चालन हुनुपर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, हतियारको होडबाजी बन्द गरी युद्धको समाप्ति र शान्तिपूर्ण मानव जीवनको ग्यारेन्टी गरियोस् तथा महिलाले पनि आर्थिक र राजनीतिक काममा सक्रियतापूर्वक भाग लिन पाउनुपर्ने भन्ने विचार अगाडि सारियो ।

साथै उक्त सम्मेलनले विभिन्न समयमा महिला अधिकार र समानताका लागि भएका महिला आन्दोलनबारेमा पनि गम्भीरतापूर्वक छलफल गरेको थियो । त्यो सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चको दिनमा विश्वका धेरै देशमा श्रमिक महिलाले आफ्नो अधिकारका लागि ठुल्ठूला संघर्ष गरेका, ती संघर्षमा धेरै बलिदानी पनि भएको र महिलाले आफ्नो हक–अधिकार स्थापित गर्न सफल पनि भएको हुँदा उक्त दिनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ८ मार्चलाई एकता, संघर्ष र विजयको प्रतीकका रूपमा (मुक्ति दिवस) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् ।

सो प्रस्तावलाई सहभागी राष्ट्रका महिलाले सर्वसम्मतिले पास गरे र सन् १९११ देखि ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइँदै आएको छ । महिला जागरणको यही लहरले युरोपलगायत विश्वका अन्य मुलुकमा पनि समान मताधिकारलगायत अन्य महिलाका हक–अधिकार पनि प्राप्त हुँदै गए । यसप्रकार ‘जति संघर्ष उति अधिकार प्राप्ति’ भन्ने कुराको पुष्टि हुँदै गयो ।

विश्वका महिलाको निरन्तर संघर्षपछि र प्रयासपछि महिलाको आवाज संयुक्त राष्ट्रसंघमा पनि पुग्यो । परिणामस्वरूप सन् १९६७ मा संयुक्त राष्ट्रसंघको महासभामा महिला भेदभाव र शोषणविरुद्ध प्रस्ताव पारित भयो । महिला जागरणको लहरका कारणले विश्व मानव समुदायलाई महिला उत्पीडन रोक्न र समान अधिकार र मर्यादा दिन कुनै ठोस कदम चाल्नुपर्ने अवस्था सिर्जना भइसकेको थियो । यही स्थितिमा नारी जागरणको विश्वव्यापी लहरको परिणामस्वरूप सन् १९७२ को संयुक्त राष्ट्रसंघीय साधारणसभाले सन् १९७५ लाई महिला वर्ष र १९७५–८५ लाई महिला दशकका रूपमा मनाउन आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

सन् १९५५ मा नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य भएयता ८ मार्चलाई कहिलेदेखि कसरी मान्न थालियो भन्ने यकिन तथ्यांक नभए पनि छिटपुट लेख–रचनाका आधारमा विसं २०१६ देखि नारी दिवसका रूपमा मान्न थालेको देखिन्छ । (गोरखापत्र) तर ८ मार्चको महत्व र गरिमालाई बुझेर महिला अधिकार आन्दोलनलाई अगाडि बढाउनेभन्दा पनि श्राद्ध गर्ने हिसाबले मात्र गरेको पाइन्छ ।

विशेषतः ०३५/३६ को आन्दोलनपछि मात्र ८ मार्चको मर्म र भावनाअनुरूप राजनीतिक पार्टी विशेषतः वामपन्थी पार्टीका भगिनी संगठनले मनाएको पाइन्छ । पञ्चायतकालीन अवस्थाको त कुरै छाडौँ जनमत संग्रहपछिको तत्कालीन सत्ताले अरू राजनीतिक आन्दोलनको साथसाथै संयुक्त राष्ट्रसंघले नै मान्यता दिएर मनाउँदै आएको र मार्चको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवससमेत मनाउन अघोषित प्रतिबन्ध लगाइएको थियो ।

यसका बाबजुद पनि एकातिर नेपालका राजनीतिक पार्टीसँग सम्बद्ध महिला संघ–संगठन विशेषतः वामपन्थी पार्टीका भगिनी संगठनले एकता, संघर्ष र विजय प्रतीकका रूपमा नेपालको सन्दर्भमा आफ्ना राजनीतिका साथै महिला समानता र मुक्तिका आवाज घन्काउँदै ८ मार्च मनाउने क्रममा राजधानीलगायत देशैभरि निर्मम दमन गर्नुका साथै गिरफ्तार गरी जेलको सजायसम्म दिने गरेको थियो । तर पनि सशक्त ढंगले ८ मार्चको ऐतिहासिक महत्वको कामलाई नेपालको सन्दर्भमा अगाडि बढाउन छाडेनन् भने अर्कोतिर पञ्चायती व्यवस्थाको भगिनी संगठनका रूपमा रहेको नेपाल महिला सँगठन र केही दरबारिया उच्च घरानाका महिलाले भने नारी दिवसका रूपमा सरकारी ढुकुटीको दुरुपयोग गर्दै भोजभतेर र रमझममा मनाउने गर्थे ।

०४६ को आन्दोलनपछि भने खुला र व्यापक रूपमा महिलाका समसामयिक मुद्दा समेट्दै मनाउन थालेको पाइन्छ ।

अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको सन्दर्भमा पनि ८ मार्चको ऐतिहासिक महत्व र यसको सान्दर्भिकता उत्तिकै छ । जबसम्म महिलाका हक–अधिकार पूर्ण रूपले स्थापित हुँदैन तबसम्म यसको सान्दर्भिकता रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *