प्राप्त अधिकारको प्रयोग उत्पीडित वर्गका महिलाले गर्न पाउनुपर्छ

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       | 266 Views   ||

नारायणी शर्मा ‘प्रतीक्षा’
पोलिटव्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ विभिन्न जनसंघर्षबाट प्राप्त अधिकारलाई उत्पीडित वर्गका महिलाहरुले प्रयोग गर्न नपाएको बताउनुहुन्छ । महिला मुक्तिका लागि संघर्ष गर्ने महिलाहरुले अधिकारको प्रयोग गर्न पाउनुपर्ने उहाँको भनाई छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा केन्द्रित भएर नौलो जनउभार साप्ताहिकका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी । –सम्पादक

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई हामीले भव्यताका साथ मनाउने निर्णय गरेका छौं । अहिले महिला संगठनको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा प्रशिक्षणात्मक कार्यक्रम गर्दै छौं । त्यसैगरी विभिन्न सरोरकारवालाहरुसँग सहकार्य गरेर कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व के छ ?

नेपाली महिला मुक्ति आन्दोलनमा यो निकै अभूतपूर्व उपलब्धि हो । तत्कालीन समयमा श्रमिक महिलाहरुले आफ्नो अधिकारका लागि गरेको ठूलो संघर्ष थियो । यो संगठित विद्रोहले तत्कालीन शासकहरु झुक्न बाध्य भएका थिए । महिलाहरुले विद्रोहबाट आफ्नो अधिकार प्राप्त गर्न सफल भए । अमेरिकामा भएको उक्त घटनाले संसारभर नै नयाँ सन्देश दिएको थियो ।

माओवादीले सञ्चालन गरेको वर्गसंघर्षमा लाखौं महिलाहरुले सहभागिता जनाएका थिए । १० वर्षे जनयुद्धबाट नेपाली महिलाहरुले के प्राप्त गरे ?

महिला मुक्तिको सवालमा नेपाली जनयुद्धको ठूलो भूमिका छ । जनयुद्ध हुँदै जनआन्दोलनसम्म आइपुग्दा महिलाहरुले ठूलो संघर्ष गरेका छन् । नेपालमा वर्गीय उत्पीडन छ । त्यो उत्पीडनभित्र महिला एक्लैले संघर्ष गरेर अधिकार प्राप्त हुने अवस्था थिएन । महिला मुक्तिका लागि वर्गीय मुक्ति अनिवार्य थियो । वर्गीय मुक्तिमै महिला मुक्ति सम्भव हुन्छ भन्ने मूल उद्देश्यसहित अधिकार प्राप्तिको निम्ति हामी जनयुद्ध र जनआन्दोलनमा लाग्यौं ।

अहिले पनि महिलाहरु संघर्षमा छन् । त्यो मुक्ति प्राप्तीका लागि महिलाहरु कुनै पनि संघर्षमा पछाडि हटेका छैनन् । अहिले त्यही संघर्षको फलस्वरुप धेरै अधिकार प्राप्त भएको छ । राज्यका विभिन्न अंगमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

नेपालको सन्दर्भमा महिला अधिकार सुनिश्चितताका लागि १० वर्षे जनयुद्धको निकै ठूलो भूमिका रहेको छ । जनयुद्धले महिलाहरुलाई आफ्नो अधिकारको बारेमा बोल्न सिकाएको छ । संघर्ष गर्न सिकाएको छ । अहिले जनयुद्ध र जनआन्दोलनकै बलमा बनेको संविधान सभाबाट संविधान निर्माण भएको छ । नयाँ संविधानमा महिला अधिकारका धेरै कुरा उल्लेख गरिएको छ ।

संविधानमा उल्लेख भए पनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि कानूनहरु बनाउनुपर्ने छ । हामीले विभिन्न कानूनहरु बनाउँदा महिला अधिकारलाई ध्यान दिनुपर्छ । संविधानमा प्राप्त उपलब्धिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता हो ।

अहिलेको अवस्थामा नेपाली महिलाहरुको अवस्था कस्तो छ ?

संसारका सबै महिलाहरुको अवस्था एउटै तराजुमा नाप्न सकिदैन । विकसित मुलुकको तुलनामा हाम्रो जस्ता विकाशोन्मुख राष्ट्रहरुमा महिलाका समस्या धेरै छन् । नेपालको सन्दर्भमा महिलाहरुले केही हदसम्म अधिकार प्राप्त गरेका छन् । तर, त्यसको व्यावहारिक प्रयोग कसरी हुन्छ भनेर हेर्न बाँकी छ । महिला भएकै कारणले धेरै अवसरहरुबाट वञ्चित हुनुपर्ने बाध्यता छ महिलालाई ।

नेपालको सन्दर्भमा मूलभूत रुपमा सामन्तवाद अन्त्य भएको छ । तर, सामन्तवादका अवशेषहरु अझैं पनि बाँकी छन् । नेपाली राजनीतिक चेतना स्तर निकै बढेको छ । यो चेतना स्तरले महिलाहरुलाई पनि अधिकार प्राप्तिका लागि थप सशक्त बनाएको छ । अहिले महिलाहरु सचेत भएर संघर्षमा हाम फालेका छन् ।

वर्गीय रुपमा महिलाहरुका समस्या फरक छन् । वर्तमान अवस्थामा नेपाली श्रमिक महिलाहरुको अवस्था कस्तो पाउनुभएको छ ?

नेपालको सन्दर्भमा श्रमिक महिलाहरुको अवस्था दयनीय नै छ । नेपाल कृषिप्रधान मुलुक हो । नेपालमा अधिकांश मजदूर महिलाहरु कृषिमा आधारित हुनुहुन्छ । अहिलेसम्म पनि कृषिलाई औपचारिक श्रमको रुपमा गणना हुन सकेको छैन । कृषि क्षेत्रमा काम गर्ने महिलाहरुको कामलाई अनौपचारिक श्रमको रुपमा मान्ने अवस्था छ । त्यसमा पनि पुरुषसरह समान पारिश्रमिक पाउने अवस्था छैन ।

औद्योगिक विकास भएका क्षेत्रहरुमा पनि मजदूर महिलाको संख्या निकै कम छ । नेपालमा काम गर्ने मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत श्रम गर्न जाने महिलाहरु जोडेर हामीले गर्नुपर्छ । नेपाली बजारमा महिलाहरुको अधिकारको बारेमा कानुनी रुपमा त्यति व्यवस्थित भएको छैन । खाडी लगायतका मुलुकमा जाने नेपाली महिलाहरुको अवस्था पनि राम्रो छैन । धेरै महिलाहरु घरेलु हिंसाको शिकार भएका छन् ।

तपाईहरु वर्गीय मुक्तिका लागि ठूलो संघर्ष गर्नुभयो । उत्पीडित वर्गका महिलाहरुको संघर्षबाटै धेरै अधिकार संविधानमै सुनिश्चित भएका छन् । तर, ती अधिकारहरुको सभ्रान्त वर्गका महिलाहरुले मात्र उपभोग गर्न पाएको देखिन्छ । ती श्रमिक महिलाहरुलाई प्राप्त अधिकार उपभोग गर्ने वातावरण किन नबनेको होला ?

तपाईले अत्यन्त राम्रो प्रश्न उठाउनु भयो । यही कुरामा हाम्रो ध्यान बढी केन्द्रीत भएको छ । अधिकार पाउनका लागि संघर्ष उत्पीडित वर्गका महिलाहरु, आधारभूत वर्गका, दलित, मधेशी तथा जनजाति र श्रमजिवी महिलाहरुले गरे तर, प्राप्त उपलब्धिको प्रयोग सभ्रान्त वर्गका महिलाहरुले मात्र गर्न पाएको देखिन्छ । उनीहरु हिजो पनि राज्यसत्ताको वरिपरि थिए । उनीहरुले नै महिलाको नाममा अधिकार प्रयोग गरिरहेका थिए । अहिले पनि प्राप्त उपलब्धिको पहिलो हिस्सेदार उनीहरु नै बनेको देखिन्छ ।

हाम्रो वर्गका महिलाहरु अहिले यो या त्यो नाममा पछाडि पर्ने र चुलो चौकोमा सीमित हुने अवस्था आएको छ । हामीले हिजो क्रान्ति गर्दा कुनै पनि क्रान्तिको सफलता वा असफलता महिला सहभागिताले नै सुनिश्चितता गर्छ भनेका थियौं । ५१ प्रतिशत रहेका महिलाहरुलाई सहभागी नगराएर कुनै पनि आन्दोलनले सफलता हासिल गर्न सक्दैन भनेर कुरा उठाइएको थियो ।

आज त्यसरी नै ५१ प्रतिशत महिलाहरुले नै त्यो अधिकार उपभोग गर्ने अवस्था नआउँदासम्म संविधान र कानुनमा उल्लेख गरेर मात्र हुँदैन भनेर हामीले भन्दै आएका छौं । हिजो अधिकारका लागि घर परिवार, चुलो चौको र बालबच्चा घरमै छोडेर मुक्तिका लागि संघर्षमा आएका महिलाहरुले अधिकारको उपभोग गर्न नपाउँदासम्म अहिले प्राप्त भएका अधिकारको कुनै अर्थ छैन भनेर हामीले भनिरहेका छौं ।

अब कार्यान्वयनका लागि पनि हामी उत्पीडित महिलाहरु नै उठ्नुपर्छ भनेर हामीले भनिरहेका छौं । आधारभूत वर्गका महिलाहरु अब प्राप्त उपलब्धि आफूले उपभोग गर्नका लागि पनि संघर्ष गर्न जरुरी छ । हामीले यसका लागि आधारभुत वर्गका महिलाहरुलाई संगठित गर्ने र प्रशिक्षित गर्ने काम गरिरहेका छौं । अब प्राप्त उपलब्धिहरुलाई पनि सभ्रान्त वर्गका महिलाहरुबाट खोसेर उत्पीडित महिलाहरुको हात लिनुपर्छ भनेर हामी निरन्तर लागिरहेका छौं ।

अब वास्तविक रुपमा उत्पीडित वर्गका महिलाहरुको अधिकारका लागि तपाईहरु के गर्नुहुन्छ ?

तपाईले उठाउनु भएको कुरा गम्भीर छ । नेपाली समाजमा पुरुषको तुलनामा महिलाहरु धेरै अधिकारबाट वञ्चित छन् । उनीहरुले महिला भएकै कारणले धेरै अवसरबाट वञ्चित हुनु परेको छ । तर, उत्पीडित वर्गका महिलाहरु झन् बढी समस्यामा परेका छन् ।

हामीले संविधानमा दलित महिला, जनजाति महिला, पछाडि पारिएका महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेर कुरा उठायौं । त्यस अनुसार संविधानमा अधिकार पनि उल्लेख भयो । अब त्यो अधिकार वास्तविक उत्पीडित वर्गका महिलाले पाउने गरी व्यवस्था हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।

हिजो जसले संघर्ष गरे, जसले बलिदान गरे, जो आर्थिक अवस्थामा निकै पछाडि पारिएका छन्, उनीहरुको अधिकार प्राप्तीका लागि हामीले थप संघर्ष गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *