किन सुक्छ स्वर ? बचाउन के गर्ने ?

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४       | 269 Views   ||

जीवित प्राणीसँग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सञ्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं ।

डा. ढुण्डीराज पौडेल

मानिसको आवाज विभिन्न थरिका हुन्छन् । तर यसमा पनि समस्या आउन सक्छन् । धोद्रो, सुकेको, ठूलो, चर्को, मधुरोजस्ता आवाजहरु सबै स्वरका समस्या हुन सक्छन् । स्वर सुक्ने समस्यालाई ‘हर्सनेस’ भनिन्छ । घोडाको जस्तै आवाज भएकाले यसो भनिएको हो । मेडिकल भाषामा यसलाई ‘डिसफोनिया’ भनिन्छ।

कहाँ बन्छ आवाज ?

घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा भोकल कर्ड हुन्छन् । दुइटा स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ ।

बोली उत्पादन भोकल कर्डमा हुन्छ । तर आवाज निस्केर मात्र हुँदैंन, त्यसलाई सुमधुरता दिन माथिल्लो अंगहरु जस्तै नाक, घाँटी, अनुहारका हड्डीजस्ता विभिन्न अंगले स्वर मिठो बनाउन भूमिका खेल्छन् । भोकल कर्डलाई हामी रुद्रघण्टी भन्छौं ।

किन हुन्छ बोली धोद्रो ?

भोकल कर्डबाट नाकको भागसम्म अथवा टाउकाको तल्लो भागसम्म कुनै पनि प्रकारको खराबी भयो भने खराब आवाज निस्कन्छ । अर्थात् स्वरको समस्या हुन्छ । जसलाई हामी डिस्फोनिया भन्छौँ । यसैले भोकल कर्डमा समस्या भयो भने आवाज धोद्रो निस्कन्छ । यसका अतिरिक्त नाक तथा घाँटीको समस्या र पिनासका कारणले पनि बोली धोद्रो हुन सक्छ । यस्तै, भाइरसको समस्याले पनि स्वरमा परिवर्तन हुन्छ ।

धुलो, धुँवा, प्रदूषण, क्यान्सर, लामो समयसम्म चुरोट खानेहरुमा पनि क्यान्सर भएर मासु पलाउन सक्छ । बोलीको अत्याधिक प्रयोग अथवा ‘एब्युज अफ भ्वाइस’ कारण पनि बोली धोद्रो हुन्छ । बोलेको बोल्यै गर्नुपर्ने मानिसहरु जस्तै, शिक्षक, नेता, कर्मचारी, व्यापारीहरुको भोकल कर्डमा असर गरेर मासु पलाउन सक्छ र आवाज बिग्रन्छ ।

कहिलेकाँही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाउँदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भीडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (एब्युज अफ भ्वाइस) हो ।

यस्तै, मसालेदार खानेकुरा, चिया–कफीको बढी प्रयोग, पानीको कम प्रयोग र ग्यास्ट्रिक भएका मानिसमा पनि स्वरको समस्या हुन्छ । फोक्सोमा क्यान्सर हुँदा मासु पलायो भने त्यसले स्वरयन्त्र चलाउने नसा च्यापिएर पनि स्वरमा समस्या हुनसक्छ वा बोली भासिन सक्छ । मुटुमा रोग लाग्यो भने पनि त्यसले नसा च्यापिएर पनि स्वरयन्त्र प्यारालाइज हुँदा बोलीमा समस्या आउन सक्छ ।

मानिस वृद्ध अवस्थामा पुग्दा शरीरका नसा सक्दै जान्छन् । त्यसले पनि स्वर सानो हुँदैं जान्छ । त्यस्तै फोक्सोका रोगीमा पनि स्वरमा समस्या हुन्छ । किनभने बोली निस्कन हावा निस्कनुपर्छ । हावा निकाल्न फोक्सोमा कम हावा भयो भने यस्तो समस्या आउँछ । त्यसैले निमोनिया, दम भएको मानिसमा स्वरमा समस्या आउँछ ।

कुनै मानिसको घाँटी बजाइराख्ने बानी हुन्छ, ठूलो स्वर निकालेर घाँटी सफा गर्ने बानी हुन्छ, त्यस्ता व्यक्तिमा पनि स्वरमा समस्या हुन सक्छ । अनावश्यक खोकीराख्नेहरुमा पनि बोलीमा समस्या हुन सक्छ ।

स्वर बचाउन के गर्ने ?

  • धाराप्रवाह रुपमा छिटो–छिटो बोल्नु हुँदैन ।
  • अनावश्यक र चर्को स्वरमा नबोल्ने । बिस्तारै बोल्नुपर्छ ।
  • बोल्दा बीच–बीचमा रोकिएर थुक निल्दै बोल्नुपर्छ ।
  • आधा घण्टा बोले १० मिनेट आराम गर्नुपर्ने हुन्छ ।
  • धेरै बोल्नुपर्ने शिक्षकले स्वरमा ध्यान दिनुपर्छ । बिद्यालयमा पढाइसकेपछि बाहिर निस्किएर गफ गरेर बस्नुभन्दा एकछिन चुप लागेर बस्नुपर्छ । यसको साटो बरु किताब पढेर बस्न सकिन्छ ।

(डा. पौडेल वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *