दाङ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रदेशमा अत्याधुनिक आइटी पार्क निर्माण गर्ने बताउनुभएको छ ।
कम्प्युटर एशोसियसन महासंघ नेपाल दाङ शाखा र राप्ती इञ्जिनियरिङ कलेज दाङले शुक्रबार घोराहीमा आयोजना गरेको व्यक्तित्व विकास तथा उद्घोषण तालिमको उद्घाटन गर्दै मन्त्री केसीले त्यसका लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताउनुभएको हो ।
सूचना प्रविधिको क्षेत्रमा विशिष्ट काम गर्ने गरी प्रदेशस्तरमा सुविधासम्पन्न आइटी पार्क, सूचना तथा सञ्चार प्रतिष्ठानहरुको स्थापना गरिने मन्त्री केसीले बताउनुभयो ।
‘सूचना र प्रविधिको तीव्र विकासले हामीलाई थुप्रै अवसर ल्याइदिएको छ र त्यत्तिकै चुनौति पनि,’ मन्त्री केसीले भन्नुभयो, ‘विज्ञान प्रविधिको विकाससँगै स्पष्ट भिजनसहित ऐनकानूनहरु बनाएर ५ नं. प्रदेशलाई मोडलका रुपमा विकास गरेर देखाउँछौं ।’
विकासको नाममा जथाभावी निर्माण भइरहेका अव्यवस्थित भौतिक संरचनाहरु र अराजकता रोक्न प्रदेश सरकारले कडा कदम चाल्ने मन्त्री केसीले बताउनुभयो । ‘विकासका नाममा भइरहेका अराजकता रोक्नैपर्दछ, उहाँले भन्नुभयो, ‘निश्चित भिजनसहित औद्योगिक करिडोर, शैक्षिक तथा स्वास्थ्यको हव, नगर र गाउँको विकास कहाँ कसरी गर्ने त्यसको स्पष्ट खाकासहित मोडलका रुपमा काम गरिनेछ ।’
प्रदेशका विभिन्न ठाउँहरुलाई सम्भावनाका आधारमा एउटा मोडल विश्वविद्यालय, एउटा मोडल अस्पताल, एउटा मोडल औद्योगिक क्षेत्र बनाएर ५ नं. प्रदेशबाट नयाँ सन्देश दिने गरी आफूहरुले तयारी गरिरहेको मन्त्री केसीले बताउनुभयो । ‘विकासका नाममा धेरै संरचना बनाएर मात्रै हुँदैन, उहाँले भन्नुभयो, ‘अब क्वान्टीटीमा हैन, क्वालिटीमा जोड दिनुपर्छ । अनि मात्रै समृद्ध र सम्पन्न प्रदेश बन्छ ।’
कार्यक्रममा सहिद स्मृति आवासीय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा ‘डायमण्ड’ले युग सुहाउँदो नेतृत्व निर्माणका लागि सूचना प्रविधिको उचित ज्ञान हुनुका साथै क्षमता विकास अनिवार्य भएको बताउनुभयो । अबको युग सूचना प्रविधिको भएको भन्दै उहाँले सरकारी र निजी क्षेत्रले सहकार्य गरी प्रविधियुक्त शिक्षाको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा क्यान महासंघका पूर्व उपाध्यक्ष सञ्जय थापा, नेपाल उद्योग वाणिज्य महासंघ ५ नं. प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडे, क्यान महासंघ ५ नं. प्रदेशका अध्यक्ष सुदीप शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा डा. लोकराज पराजुली र दामोदर गिरीले नेतृत्व विकास र उद्घोषण कलाका बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिममा क्यान महासंघ दाङ शाखामा आबद्ध कम्प्युटर व्यवसायी तथा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील तीन दर्जन बढीको सहभागिता रहेको थियो ।
क्यान महांघ दाङका अध्यक्ष भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका डाइरेक्टर मधुसूदन वैद्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण दामोदर गिरीले गर्नुभएको थियो ।