महरा माओवादीका `गच्छदार´ कि `छाया प्रचण्ड´ ?

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४       | 369 Views   ||

२०७४ फागुन २५ गते संघीय संसदको सभामुखमा नेकपा माओवादी केन्द्रले आफ्ना नेता कृष्णबहादुर महरालाई प्रस्तावित गर्दा संसदमा विपक्षी काँग्रेसले पनि काउन्टर उम्मेदवारी दिएन । २६ गते महरा निर्विरोध संघीय संसदको पहिलो सभामुख बनेका छन् । जब कि काँग्रेसले राष्ट्रपतिको चुनावमा भने आफ्नो उम्मेदवार उठाएको मात्रै छैन, निश्चित रहेको पराजयमा पनि खरो प्रतिस्पर्धा गरिरहेको छ । काँग्रेस महामन्त्री शशांक कोइरालाले त्यसको केही दिनअघि भएको राष्ट्रपतिको चुनावमा आफ्नो दलले काउन्टर उम्मेदवारी दिनुको भेद खोल्दै भनेका थिए, विद्या भण्डारीको उम्मेदवारीप्रति नै काँग्रेसको विमति दर्ज गर्न हार्ने चुनाव लडिएको हो ।

संसदको शनिबारको बैठकमा महरालाई समर्थन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखका रुपमा महरालाई सदैब सहयोग गर्नुका कारण खुट्याउँदै भने महरा भद्र र शालीन व्यक्तित्व हुन् र विपक्षीलाई उनले समेट्ने छन् । काँग्रेसका प्रभावशाली नेता रिजालले संसदको रोष्टमबाटै भने अनुसार महराले शान्ति प्रक्रियामा महराले महत्वपूर्ण भूमिका खेलेका थिए । साथै हतियार तथा सेना व्यवस्थापनलाई अनुगमन गर्ने सहमतिका हस्ताक्षरकर्ता पनि हुन् । शान्ति प्रक्रियाका कामहरु बाँकी छन् । महरालाई सभामुखका रुपमा पाउँदा ती काम पुरा गर्न सहज हुनेछ । महरा ०४८ को संसदमा थिए । त्यो अनुभवले संसदलाई कसरी चलाउने ? सरकार र संसदको सम्वन्धलाई कसरी अगाडि लैजाने ? भन्ने सहयोग पुग्ने कांग्रेसको विश्वास छ । धेरै परम्पराको रुपमा यो प्रतिनिधिसभा रहेको भन्दै उनले भने, महराले सभामुखको जिम्मेवारी बहन गरेपछि त्यतातिर पनि ध्यान दिनु हुनेछ भन्ने विश्वास छ । नेता रिजालको थप तर्क छ, सरकारको स्वभाव अलिकति पेल्ने हुने भए पनि महराले आउने दिनका कार्यसम्पादनका लागि अहिलेदेखि नै काम गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

देशकै अविभावक र गणतन्त्रकै प्रतीक हुन् राष्ट्रपति । त्यहाँ मुख्य विपक्षी दल काँग्रेसको ठूलो देखिने बिमति छ । संसदका कमाण्डर हुन सभामुख, तर त्यसमा समर्थन छ काँग्रेसको । यसले सिद्ध गर्छ कि व्यक्तिको शैली, छवि, बोली, व्यवहार, क्षमता र भूमिकाजस्ता कुराहरु पनि महत्वपूर्ण छन् विपक्षी र सत्तापक्षको सेतु पात्र बन्नका लागि ।

संविधानतः सभामुख वा राष्ट्रपति पदले तटस्थताको माग गर्छन् । काँग्रेस जस्तो पुरानो अनुभवी लोकतान्त्रिक दलले विद्यादेवी भण्डारीसँग त्यो तटस्थ निष्पक्षताको क्षमता नदेखिरहँदा कृष्णबहादुर महरासँग त्यही खुबी देखेर समर्थन गर्नुले महराको समन्वयकारी क्षमता अवश्यै उजागर गरेको छ । महरा सिंगो संसदको सर्वसम्मत सभामुख हुन सक्नु तर विद्या भण्डारी काँग्रेसको समेत समर्थन प्राप्त गर्न असमर्थ हुनुले भावी दिनमा महरा सभामुखमा र भण्डारी राष्टपतिमा सीमित हुदा कस्को भुमिका के हुनेछ भन्ने लगभग एक पूर्वचित्र झल्किन्छ नै ।

तर महरालाई सभामुख बनाउने पेरिसडाँडाको निर्णय प्रचण्ड निवासबाट सार्वजनिक हुदै गर्दा त्यसको विरोधमा अरु त अरु स्वयं माओवादी तप्काका पत्रकार, अनलाइन र नेता कार्यकर्ताबाट सदावहार सत्तामुखी देखाएर महरालाई खुइल्याउन महरा विरोधीहरुले निकै मेहनत गरेको सामाजिक संजालको आक्रोशपूर्ण प्रतिक्रिया र अनलाइन खबरहरुले पुष्टि गर्छन् ।

अब प्रश्न उठ्छ महरा रातोपाटीहरुले लेखेजस्तै सदावहार पदका भोका हुन् त ?

महरा माओवादीका गच्छदार कि छाया प्रचण्ड ?

नयाँ सभामुख महराको विपक्षीले समर्थन र आफ्नैले विरोध गरिरहेको यो परिप्रेक्ष्यमा अलिकति उनको पछिल्लो सत्तायात्राको प्रसंगतिर लागौं ।

२०७४ जेठ २४ गते वुधबारको दिन । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिदै पहिलो मन्त्रिपरिषद गठन गरेपछिको माहौल । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा माओवादी केन्द्रले छानेका मन्त्रीहरुको प्रशंसा गरे । केही समययता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा अभिव्यक्ति दिँदै चर्को आलोचक रहँदै आएका भट्टराईले यस पटक माओवादी केन्द्रले मन्त्रीहरु राम्रोसँग चयन गरेको भन्दै प्रशंसा गरे । उनले ट्विट गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु जनार्दन शर्मा र प्रभु साहलाई बधाई तथा शुभकामना दिए । साथै नेपाली कांग्रेसका मन्त्रीहरुलाई पनि वधाई र शुभकामना दिएथे । यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना! साथै नेकाका मन्त्रीहरूलाई पनि!

माओवादीबाट किन दोहोरिए महरा ?

कसैलाई मरिहत्ते गर्दा पनि पुरा नहुने रहर, महरालाई भने मन्त्री खान्न भन्दा पनि भैदिनुपर्ने कहर । यस्तै वाध्यात्मक अचानोमा परेर पुनः उपप्रधानमन्त्री हुनुु परेको थियो महराले । महराले सरकारबाट आराम र पार्टीकाममा छलांग मार्न चाहेकै थिए । उनले जसरी पनि पार्टीलाई पूर्ववत अवस्थामा फर्काउनैका लागि सरकारबाट छुट्टी लिन चाहे । तर पार्टी उनलाई नै पार्टीको नेताका रुपमा सरकारमा पठाउने निष्कर्षमा पुग्यो । पार्टीको आदेश कहिल्यै नकाट्ने महरा अनि बनेथे चुनाव अघिको देउवा सरकारका प्रधानमन्त्रीका सहयात्री ।

गत वर्षको साउनमा एमालेसँगको वाम गठबन्धनमा व्रेक लगाएर वर्तमान सत्ता गठबन्धनका एकजना भित्रिया पात्र र रणनीतिकार रचनाकार मध्येका शक्तिशाली पात्र थिए पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री महरा । उनले निजी रोजाइमा नभई पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डको दवावमा सरकारमा दोहोरिने अवसर पाउँदै आएको तथ्य ओपन सेक्रेट हो ।

मन्त्री छान्न बस्ने गरेको माओवादी पार्टीको हेडक्वार्टर बैठकमा मन्त्रीका आकांक्षी धेरै देखिएपछि आफू निकटका महरालाई नै प्रचण्डले पार्टीको प्रतिनिधित्वसहित सरकारमा पुनः प्रस्ताव गर्ने गर्छन् । नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा समेतले महरालाई नै समर्थन गरेपछि उनी दोस्रो वरियताका उपप्रधानमन्त्रीका साथ देउवा सरकारका सारथी बनेका थिए अघिल्लोपटक पनि।

भुमिगत जनयुद्धकालदेखि खुल्ला शान्ति राजनीतिमा अध्यक्ष प्रचण्डका मुख्य विश्वासिला पात्रका रुपमा महराले प्रचण्डलाई सघाउँदै आएकाले हरेक पटक प्रचण्ड उभिन नमिल्ने स्थानमा पटक पटक पनि महरा अध्यक्षकै रोजाइमा दोहोरिनेमा पर्ने गर्छन्। महराको अर्थ मन्त्री कालमा देशले पाएको करीब ७ प्रतिशतको उच्च आर्थिक वृद्धिदर र स्थानीय तहको व्यवस्थापन पनि उनलाई रोज्ने प्रचण्ड आधार रहे। पार्टीभित्रका सिनीयर र काममा पक्का देखिएका महरा प्रचण्डका लागि एक व्यक्ति तर बहुुआयामिक व्यक्तित्वका हिसावले समस्या होईन, समाधानका पात्र र सूत्र बन्दै आएको जगजाहेर छ ।

व्यक्तिगत रुपमा महरा आफैं सरकारमा वा सभामुखमा जाने मुडमा रहदैनन् । उनले यो कुरा निकटस्थहरुदेखि पार्टीको हेडक्वार्टर वैठकमा पनि राख्ने गर्छन् । तर सत्तारुढ वा विपक्षी अन्य दलसँगको समन्वयमा पनि अब्बल मानिएका महरा सत्तापक्ष, विपक्षी सबैको रोजाईमा पर्छन् । किनभने उनले सधै अन्तरदलीय छलफलमा पार्टी नेतृत्व गर्ने गरेका छन् । माओवादी जनयुद्धदेखि हालसम्मका विरलै अन्तरदलीय वैठकहरु होलान् महराले नेतृत्व नगरेका तथा असफल भएका । हार्डलाईनर माओवादीमा महरालाई विपक्षीहरु सधै मध्यमार्गी नेता मान्छन् भन्ने तथ्य खुल्ला किताब सरह छ ।

महरालाई किन माओवादी गच्छदार उपमा ?

अचम्म र उदेकलाग्दो कुरा जसै पार्टीको आदेश बमोजिम महरा सिंहदरबार वा बानेश्वरमा पार्टीको प्रतिनिधित्व गर्दै नयाँ जिम्मेवारी सम्हाल्दै रहन्छन्, केही अनलाइनहरुमा महरालाई माओवादीभित्रका विजय गच्छदार अर्थात् सदावहार मन्त्रीका रुपमा नंग्याउन सुरु गर्छन् । माओवादी छाडेका डा. बाबुरामले समेत मन्त्री चयनको तारिफ गरिरहँदा अाफूलाई माओवादी मुखपत्र नैै ठान्ने रातोपाटी अनलाइनले महराको तेजोवध गरेर संचार पौरखका नाममा आत्माघाती गोयवल्स प्रचारशैली अपनाउदै थियो अघिल्लोपटक पनि यसपटक पनि । रातोपाटीका पूर्वाग्रही अक्षरहरु चोरेर महराईतर पक्षधर र कथित महरा विरोधी कित्ता ती गलत अफवाहहरुलाई सामाजिक संजालमा विजुली गतिमा व्यापार गर्दैरहन्छन् हरपटक ।

रातो पार्टी त्यही अनलाइन हो जसका अध्यक्ष र संचालक प्रचण्डको पहिलो प्रधानमन्त्रीकालमा प्रधानमन्त्रीका संचार सल्लाहकार भए । उनले त्यो सुविधा जनयुद्धकारी पत्रकार भएकै जगमा पाएका थिए । पछि उनी फेरि गोरखापत्र संस्थानका प्रमुख पनि माओवादी कोटाबाटै भए । उनले नेपाल पत्रकार महासंघमा सदस्य चुनिनेदेखि महासचिवको अवसर पनि माओवादी पत्रकार भएकै आडमा पाएका हुन् ।

रातोपाटीका मालिक पत्रकार ओम शर्मा र नवनियुक्त गृहमन्त्री जनार्दन शर्माको के नाता छ भन्ने फरक प्रसंग हो । कटु सत्य के हो भने ओम शर्माले नै माओवादी शान्ति राजनीतिमा आएपछि पत्रकारतर्फ सबैभन्दा उच्च र धेरै अवसर पाएका छन् । उनले एक श्रमजीवी पत्रकारका कमाई र आम्दानी मात्रैले पनि रातोपाटी चलाएका होईनन् । महराको जीवनको पारदर्शीता खोज्ने रातोपाटीका मालिक शर्माको रातोपाटी कुन दृश्य र अदृश्य लगानीमा संचालित छ र उसले नेपाली पत्रकारिता बजारमा कुन मूल्यको पत्रकारिता गरिहेको छ भन्ने पनि बहस र खोजीको नयाँ पाटो छँदैछ ।

जतिबेला माओवादी जनयुद्ध सुरु हुदै थियो ओम शर्मा बागबजारमा निमकान्त पाण्डे, राधा बुढाथोकी र शक्ति लम्सालहरुका पत्रिकाका हकर थिए । उनले जनयुद्ध मध्यतिर पुुग्दा बल्ल जनआव्हान नामक साप्ताहिक चलाएर युद्धपत्रकारिताको शहरी सुविधायुक्त अभ्यास गरेका थिए । त्यो कुनै चमत्कारिक योगदान थिएन, बरु तत्कालिन जनादेश साप्ताहिकको सक्कलबमोजिम नक्कल गर्ने प्रयास थियो ।

तर त्यतिबेला महरा भने छँदाखादाको सांसद पद त्यागेर जनयुद्धको मोर्चामा हिडेको पनि निकै लामो समय भैसकेको थियो । एक प्रखर जननिर्वाचित सांसदका रुपमा तत्कालिन संसदमा पृथक पहिचान बनाइरहेकै बेला तत्कालिन साँसद महराले तत्कालिन प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगानालाई छोडी जाने भैगयो बेला फेरि भेट होला कि नहोला भन्ने गिती भाका हालेर संसद त्याग्दै जनयुद्धका मोर्चा संहाल्दा ओम शर्मा कता गुच्चा खेल्दै थिए भन्ने इतिहासले नै स्पष्ट पार्ला ।

तर सुख सुविधायुक्त कथित युद्ध पत्रकारिताका आवरणमा सकेजति फाईदा र लाभका अवसर तथा पद लिएर फेरि केही समय अघि मात्रै प्रेस सेन्टरको अध्यक्ष तथा पत्रकार महसंघको महाधिवशेनमा पनि अध्यक्षको प्रत्याशी बन्नका लागि समेत वालहठ गरेर पदलोलुपताको पराकाष्ठा देखाएका ओमले नै महराजस्ता शीर्ष, शालिन र भद्र तथा सफल नेतालाई नै माओवादीका विजय गच्छेदार भनेर कसरी रातोपाटीमा चित्रित गरे ? यो कस्तो पार्टी अनुशासन, पद्धति, थिति र संस्कार हो ? के जनवादी संचार कर्म भनेको मानक उदाहरण देखाएका हुन ओम शर्माले महरालाई गाली गरेर ?

स्पष्ट कुरा के हो भने अरुलाई चोर भन्न खेज्नेहरु आफू इमान्दार हुनैपर्छ । आफू सधै लाभका पदका लागि मरिहत्ते गर्ने अनि पार्टीको आदेश मान्ने महरालाई किन मोहरा बनाएर आकाशतिर फर्केर थुक्ने कालीदास वुद्धी देखाए त ओम शर्मा र उनका खेताला पत्रकारहरुले ? यो माओवादी पार्टी, माओवादी पत्रकारिता र सिंगै माओवादी आन्दोलनका लागि निर्ममतापूर्वक मिहीन रुपमा समीक्षा गर्नुपर्ने एक महत्वपूर्ण सवाल हो ।

के महरा पदलोलुप हुन् ?

माथि नै स्पष्ट भैसक्यो कि महरा पदलोलुप होईनन् तर पद उनको पछि पछि लागिरहन्छ । कारण उनी योग्य छन्, समन्वयकारी छन् । आवेगी होईन, दिमागी र विवेकी छन् । उनको बौद्धिकता र शालिनता माओवादी दलको मात्रै होईन देशकै राजनीतिको पुंजी हो ।

महरालाई पैसामुखी र बिभिन्न काण्डहरुमा मुुछिएको भनेर रातोपाटीजस्ता संचार माद्यम र ओम शर्मा जस्ता पत्रकारले नै भन्न थालेपछि के स्पष्ट हुन्छ भने माओवादी पत्रकारितामा कागले कान लग्यो भन्दा कान नछामी कागका पछि दगुने रोगले धेरैलाई च्यापेको छ, गाजेको छ । उसै पनि अग्लो रुखलाई धेरै बतास लाग्छ । महरा माओवादीभित्रका अग्ला रुखसरह उच्च नेता हुन् । उनी पार्टीभित्र मात्रै होईन अन्य दलमा पनि उत्तिकै सम्मानित र विश्वासिला नेता हुन् । त्यसैले उनीमाथि बहुकोणीय प्रहारको सदाबहार बाढी लाग्छ ।

तर ती दुश्मन कित्ताका गोयवल्स प्रचारलाई कपीपेष्ट गरेर आफना नेतालाई नै जाइकटक गर्ने कुुवुद्धि किन अरु त अरु माओवादी पत्रकारलाई समेत लाग्न थाल्यो ? हाँगा वा टुप्पातिर बसेर रुखको फेद छिमोल्ने वुद्धिका मतियार किन ओम शर्माहरु र रातोपाटीहरु हुन थाले ?

के विदेशी एजेन्ट हुन्  महरा ?

महरालाई न भारतको न चीनको भनेर वीचको डबल रोल मोडल भन्ने आरोपको लेखनीले नै स्पष्ट गर्छ रातोपाटीहरुका नजर कति दोषी छन् भन्ने । के यहाँ न भारतीय न चीनियाँ हुनै असली देशभक्त हुुनको प्रमाण होईन र ? देशभक्त हुन किन कसैको हुण्डी खाएर गीता पाठ गर्दै बन्दे मातरम नै गर्नुपर्ने हो र ? चीनको गुलाम नगरी ओबीओआरमा दस्तखत गर्ने को कृष्णबहादुर महरा, माओवादी नेता, नेपालका मन्त्री र वर्तमान सभामुख महरा नै होईनन् र ? हो संसदबाट राजीनामा गर्दै गर्दा शन्त नेता तत्कालिन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले भनेजस्तै देशभक्त भएकै कारण भीमसेन थापा दण्डित भएझै माओवादीका पनि देशभक्त महराहरु नै भीमसेन थापाको अभिष्पत इतिहासका पर्याय हुनुपर्ने हो त ?

किन असफल मन्त्री हुन् र महरा ?

महरालाई असफल मन्त्री भएको भए पार्टी अध्यक्ष प्रचण्डले किन बारबार दोहोर्याउँथे त ? स्व. गिरिजाप्रसाद कोईरालाका रोजाईका मन्त्री उनै महरा रहे । देउवाले पनि अध्यक्ष प्रचण्डसँग समन्वयकारी र विवेकी मन्त्रीलाई पठाउन आग्रह गरेकै कारण निशर्त पहिलो रोजाई बन्थे महरा । अहिले काँग्रेसले त आफ्नो पनि तर यहाँ त उल्टो कुप्रचार किन गरियो ? उनले संचार, अर्थ वा गृह जुनसुकै मन्त्री हुदा गरेका असल कामको विवरण यही आलेखमा तयार गर्दा लामो हुन्छ, पछि लेखौला तर उनलाई किन नखाएको विषद्वारा मार्ने मुर्खता भैरहेको छ त ? यदि महरा पनि विफल मन्त्री हुन् भने को चाहि सफल भए त ? के यसपालीको देशको आर्थिक वृद्धिदर महराको विफलता रहयो ? प्रश्नका पहाडहरु धेरै छन् ।

प्रचण्डका छाया हुन् महरा

महरा त्यो ठाउमा रहन्छन्, उभिन्छन्, उभ्याईन्छन् र प्रतिनिधि बनाईन्छन्, जहाँ प्रचण्ड भौतिक, प्राविधिक, वा अन्य विविध कारणले स्वयं जान मिल्दैन । महरा जाँगरिला छन, धेरै काम भ्याउछन् । अनि कामकाजी को नेता नेतृत्वको रोजाईमा पर्दैन त ?

यदि महरामाथिका काल्पनिक विषवमन र कुप्रचार गर्ने नै सही हुन भने महरालाई चिन्ने, विश्वास गर्ने प्रचण्ड नै दोषी हुन् । माओवादीमा प्रचण्डलाई दोषी देख्ने रातोपाटी वा ओम शर्माहरु हुर्केका भए अब राजनीतिबाट प्रचण्डले सन्यास लिए हुने भएको हो त ? फुटेका माओवादी प्रचण्ड वरीपरी गोलबन्द हुने काम कसरी संभव भयो ? यो महराहरुकै जोडबलको परिणाम होईन त ?

महरा किन पर्छन् निशानामा ?

महराको असल पक्ष उनी तमाम फरक मतका वीच पनि प्रचण्डलाई नेता, नीति र नेतृत्वका रुपमा स्वीकार, ग्रहण गर्छन । प्रचण्ड अर्थात पार्टी नेतृत्व प्रति अटल आस्था, भरोसा र विश्वास तथा र्ईमानदारिता र वफादारीता उनका शक्ति र पहिचान हुन् । उनी नेता प्रचण्डको सफलतामा आफ्नो सफलता र पार्टीको उज्जवल भविष्य देख्छन् । उनी व्यक्ति होईन पद्धति र थितिका पक्षपाती हुन् । त्यसैले त मोहन वैद्य किरणले पार्टी फुुटाउँदा पनि संस्थानमा नै रहे । फुटेको पार्टीलाई पनि आफनै हस्तक्षेपकारी पहलकदमीमा जुटाए । अहिले बादल र पम्फा भुसालहरुको त्यो विशाल समुह त्यसै माओवादी केन्द्रको उर्जा र शक्ति बन्न सकेको होईन भन्ने कसलाई हेक्का नहोला र ? प्रचण्डका संकटका सारथी र समस्याका हर घडीमा समाधानका सूत्र र पात्रै उनै महरा भए युद्धको मैदानदेखि सिंहदरवार र पेरिसडाँडासम्म । किन आखा चिम्लेर कोही अरु नेताहरुप्रति प्रचण्ड निशर्त विश्वास गर्न सक्दैनन् त ? यहाँ महरालाई गाली गरेर, खुुईल्याएर आफ्नो अनुहारको होईन ऐनाको मैलो पुछेर सफाचट देखिने मुर्खता माओवादीभित्रै देखिनु बडो विचित्र दुखद विडम्वना नै हो ।

महरा अर्थात् विकल्प

जसरी नेपाली माओवादी आन्दोलनका मियो वा जग भनेकै प्रचण्ड र प्रचण्ड भनेकै समग्र माओवादीको गजुरका रुपमा स्थापित छन्, त्यसैगरी प्रचण्डका लागि हर सुख, दुख, घुम्ती, उकाली ओराली र अवसर वा संकटमा सारथी, टेको र वैशाखी कृष्णबहादुर महरा हुदै आएका छन् । प्रचण्डका पुरक महरा र महराका पुरक प्रचण्ड हुन सकेकै कारण उनीहरु एक अर्कामा निर्भर छन् । खासमा प्रचण्डको विकल्पमा महराले आफूलाई प्रस्तुत नै गर्न नचाहे पनि प्रचण्डले आफ्नो विकल्पमा सधै महरालाई मात्रै भरोसा गर्न सक्छन् र गरिरहेका छन् । यसले माओवादीकै अन्य नेतालाई टाउको दुख्ने गरेको नै सत्य हो । महरालाई होचो, निचो र निकम्मा देखाएर आफू अग्लो भएको भ्रममा बाच्न चाहने टुकडी नै खासमा महराको पतनमा आफ्नो उत्थान देख्ने भ्रममा छ । यही हो विरोधीले हाई हाई गर्ने र आफ्नैले सधै टोकसो र प्रहार गर्ने महराको कथित भुल वा कमजोरी । तसर्थ अब महराको पतनमा होईन आफ्नो असली पौरखमा मात्रै शक्ति उदयको सपना देख्ने अन्य नेतारुहको सदवुद्धि आएमा मात्रै पनि महरा विरुद्धकोयो झुटको खेती नाश हुदै जाने थियो । यहाँ महरालाई गोली दागेर प्रचण्डको शिकार गर्न उद्धत झुण्डप्रति असली माओवादीहरु सर्तक र आँटिलो हुन ढिलो गर्नु हुदैन ।

– प्रतिपक्ष डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *