के महरा सत्ताभोगी मात्रै हुन् ?

  
  प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४       | 338 Views   ||

माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामूखमा सर्वसम्मत भएलगत्तै केही सञ्चार माध्यमले लेखे, ‘महरा अर्थात् माओवादीभित्रका गच्छदार।’

माओवादीभित्रकै केही कमरेडहरुले पनि लाइक ठोके, शेयर गरे, लोलीमा बोली मिलाए। कतिले महराले १० वर्षदेखि अनवरत शक्ति सत्ताको केन्द्रमा रहे पनि ‘माखो नमारेको’ आरोप लगाए।

मनहरि तिमिल्सिना

के महरा शक्ति र सत्ताको केन्द्रमा बसेर ‘माखो’ नमार्ने गच्छदार नै हुन् त ? माओवादी आन्दोलनमा उनको कर्मले खास कुनै उर्जा दिँदैन ? के उनी सत्ताका लागि जुनसुकै धारमा बग्न र जस्तोसुकै कदम चाल्न तयार हुन्छन्? के उनको राजनीतिक व्यक्तित्व ‘प्रचण्ड आशिर्वाद’मै अडिएको हो ? सूचना तथा सञ्चार, गृह, अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्दा उनले कुनै उल्लेखनीय काम गरेनन् ?

यतातिर अलिकति विवेचना गरौं ।

माओवादी युद्धमै थियो। माओवादी युद्धलाई हेर्ने सन्दर्भमा प्रतिक्रियावादी कित्तामा रहेको मतभेदले ‘दरबार हत्याकाण्ड’ घट्यो। त्यसपछि राजनीतिले नयाँ मोड लियो। २०५८ साउन ४ गते सत्तापक्षले एकपक्षीय युद्धविरामको घोषणा ग¥यो। ४ दिनपछि त्यसको स्वागत गर्दै माओवादीले युद्धविरामको निर्णय लियो । त्यसपछि बनेको वार्ता समितिमा विद्रोही समूहका कमाण्डर थिए, नेता कृष्ण बहादुर महरा ।

युद्धविराम भए पनि ‘राज्यआतंक’का श्रृङ्खला रोकिएका थिएनन्। युद्धविराम भनिए पनि आतंक कायमै थियो । प्रचण्ड–बाबुरामसमेत समातिने र युद्ध समाप्त हुने धेरैको विश्लेषण थियो। तर, चुनौतीबीच महरा सतिसालझैं उभिए र विद्रोहीको तर्फबाट वार्ता टोलीको नेतृत्व गरे।
वार्तामा कुरा नमिले वार्ता टोली नै नियन्त्रणमा लिने सरकारी प्रयास पनि नभएको होइन । महरा नेतृत्वको टोलीले निकै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन ग¥यो। यो ‘महरा परीक्षा’मा महत्वपूर्ण सफलता थियो।

वार्ता सफल हुन सकेन। विद्रोही वार्ता टोलीले फेरि युद्ध मोर्चाको नेतृत्व सम्हाल्यो। दोस्रोपटक युद्धविराम भयो, वार्ता टोली गठन भयो। त्यसको पनि सदस्य रहे महरा। हरेक वार्तामा उनले पार्टी नीतिको पक्षमा दृढतापूर्वक बहस गरे, माओवादीआन्दोलनको राजनीतिक औचित्य पुष्टि गरे। २०६२ मा माओवादी–संसदवादी दलबीच भएको १२ बुँदे सम्झौतामा पनि उनले उल्लेख्य भूमिका खेले।

२०६२/०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । २०६३ माघमा अन्तरिम संविधान बन्यो, माओवादी अन्तरिम व्यवस्थापिका माग्यो र महरालगायतका ८३ जना नेता विधायक भए। यो महराको व्यक्तिगत रूचीभन्दा संसदीय मोर्चामा उनले खेलेको भूमिका, खुला राजनीतिमा उनको सर्वमान्य व्यक्तित्व र नेतृत्व क्षमताकै कारण थियो ।

गिरिजाप्रसादको सरकारमा महरा सूचना तथा सञ्चार मन्त्री भए। माओवादीको तर्फबाट सरकारको नेतृत्व पनि गरे। सञ्चार मन्त्री बन्दा उनले ‘थिति’बसाल्न अधिकतम् कोशिश गरे। महराको कार्यकालपूर्व नेपालमा सञ्चारमाध्यमको खासै पहुँच थिएन। केही रेडियो, टेलिभिजन र पत्रिकामात्र सञ्चालनमा थिए। उनले सञ्चार जगतमा नयाँ प्रविधि भित्राए, समानताको नयाँअवधारणा अघि सारे। सञ्चारसम्बन्धी ‘राजावादी नीति’ बदल्न उनले पापड पेल्नुप¥यो। तर, चुकेनन्। उनको सञ्चार मन्त्रीको कार्यकाल ‘नीति निर्माण’ को कार्यकाल थियो।

देशमा सञ्चार मन्त्रालय थियो तर सञ्चारको पहुँच सम्भ्रान्त वर्गको ‘पञ्जा’मा थियो। महराले त्यो अधिकार खोसे र नागरिकको हात–हातमा पु¥याए, घर–घरमा इन्टरनेट पु¥याउने नीति ल्याए। जनताले पहिलो पल्ट सहजै मोबाइल फोनको उपयोग गर्ने अवसर पाए। एक कल फोन गर्न ‘पिसिओ’मा घन्टौं लाइन बस्ने नागरिकका लागि महराको कदम ‘सञ्चार क्रान्ति’ थियो। के यसलाई विस्मृतिमा राख्न मिल्छ?

दोस्रो कार्यकाल महरा गृहमन्त्री भए। उनीपूर्वका गृहमन्त्री विभिन्न विवादमा तानिए। तर, महराको कार्यकाल गृह प्रशासन सुधारका दृष्टिले महत्वपूर्ण रह्यो। उनले प्रहरी अधिकृत र जवानहरुलाई राष्ट्र सेवाको भावनाजागृत गर्न उल्लेख्य भूमिका खेले। प्रहरी अधिकृतहरु भन्थे, ‘हाम्राभन्दा राम्राको खोजीमा छन् मन्त्री महरा। उनको व्यक्तित्व र संकल्पले प्रहरी प्रशासनमा केही हुन्छ।’ प्रहरी प्रशासन र नागरिकका आँखामा उनको कार्यकाल सुखद् नै रह्यो।

प्रहरी प्रशासनको लोकतान्त्रिकरण महराको पहिलो प्रयास थियो। उनले नागरिक मैत्री प्रहरीको अभ्यास गरे। सामुदायिक प्रहरीमा ‘महरा अवधारणा’ थियो। यसले जनतासँग प्रहरी जोड्यो, अपराध नियन्त्रणमा नागरिकको भूमिका खोज्यो। प्रहरीभित्र हुने भ्रष्टाचार रोक्न र सुशासनको प्रत्याभूति गर्न उनले कसरत गरे। जतिबेला उनी गृहमन्त्रीबाट बाहिरिए, उनको कार्यकालको देशले खुलेर प्रशंसा गर्यो‍।

प्रचण्ड प्रधानमन्त्री थिए, महराले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले। नाकाबन्दीले ओली सरकारको छवि चुलिएको थियो। तर, देश आर्थिक दृष्टिले टाट पल्टिएको थियो। आर्थिक वृद्धिदर ०.८% थियो, पूँजीगत खर्चको सामथ्र्य ‘वामपुड्के’ थियो, आर्थिक सूचकहरू अवनतितिर थिए। भूकम्प र नाकाबन्दीको एकैपटक सामना गर्दा नागरिकमा चरम निरासा थियो, त्यस्तो परिस्थितिमा उनी अर्थमन्त्रीको कुर्सीमा बसे।

प्रचण्ड–महराले साझा संकल्प गरे, ‘आर्थिक वृद्धिदर बढाउँछौं, राष्ट्रिय गौरवका आयोजनालाई गति दिन्छौं, पूँजीगत खर्चको सामथ्र्य कम्तिमा ८०% पुर्याउँछौं।’

प्रचण्ड नेतृत्वको सरकारले जम्माजम्मी दश महिना काम गर्ने अवसर पायो। छोटो समयमा उल्लेख्य आर्थिक प्रगति ग¥यो, इतिहासमा केही नयाँ मानकहरु स्थापित भए। अर्थतन्त्रको ‘मेरुदण्ड’ सोझिन थाल्यो। यी सबै उपलब्धिमा प्रचण्डको मूख्यभूमिका थियो। सँगै अर्थमन्त्रीका हैसियतले महराको प्रयत्न र संकल्पबिना यो सम्भव थिएन।

आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्यो, पूँजीगत खर्च ८४ प्रतिशत पुग्यो। आयात–निर्यातबीचको असन्तुलनको खाडल थोरै भएपनि पुरियो। राष्ट्रिय गौरवका आयोजनाले गति लिए। देशको अर्थतन्त्र ‘तङ्ग्रिन’थाल्यो। १३ खर्बभन्दा बढी लगानी प्रतिवद्धता जाहेर भयो। लगानीका तगारा मानिएका कानूनको प्रतिस्थापन र ‘लगानीमैत्री’ कानून निर्माणमा सापेक्षिक सफलता मिल्यो। यी सबै हुनुमा महराको कम योगदान छैन।

पाटीभित्र महराले अधिकांश समय संगठन र विदेश विभागको जिम्मेवारी सम्हाले। कैयौं शक्तिकेन्द्र माओवादीलाई आतंककारी शक्ति ठान्थे। उनीहरूका दृष्टिमा माओवादी कुनै राजनीतिक शक्ति थिएन। त्यस्तो परिस्थितिमा माओवादीलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महराले उल्लेख्य भूमिका खेले। संगठन विभागमार्फत् चाहेको भए उनले देशव्यापी गुटको अभ्यास गर्न सक्थे। तर, महराको सम्पूर्ण ध्यान एकीकृत पार्टीकै निम्ति केन्द्रित रह्यो ।

परराष्ट्र मन्त्री हुँदा उनले स्वतन्त्र र सन्तुलित विदेश नीतिको अभ्यास गरे । २ छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न महरा सफल भए । त्यही बेला एसिया प्रशान्त क्षेत्रबाट, सबैभन्दा बढी मतले धेरै वर्षपछि मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भयो। देउवा सरकारका सफल मन्त्रीमध्ये महरा पनि एक थिए । यसरी उनले सम्हालेका चारै मन्त्रालयमा सकारात्मक नतिजा आयो। यसलाई सजिलै बिर्सन मिल्ला? कि वर्तमानमा इतिहासको कुनै मूल्य हुँदैन ?

महरा र गच्छदारको तुलना आफैंमा आग्रहको पराकाष्ठामा उभिएको छ। नेपाली राजनीतिमा गच्छदार सत्ता स्वार्थका लागि जे–पनि गर्न तयार पात्रका रूपमा चिनिन्छन् ।

के महराले त्यसो गरिरहेका छन् ? के उनले नैतिक मूल्य, राजनीतिक चरित्र र आदर्श छोडेर बार्गेनिङ गरेका छन्? के उनी पार्टी नीतिविरुद्ध उभिएर लाभको पद हत्याएका छन् ? कुनै पनि तथ्यले यी प्रश्नको औचित्य पुष्टि गर्न सक्दैन।

महराका पनि सीमा र कमजोरी पक्कै छन् । अन्तर्मूखी स्वभाव, कमजोर स्वास्थ्य, काम गर्न जान्ने तर हल्ला गर्न नजान्ने कार्यशैली उनका सीमा हुन् । स्वाभावजन्य सीमाहरु अपराध होइनन् । उनी कृतिमता जान्दैनन्, आफ्ना कामको जस अरुले लिएको खास वास्ता गर्दैनन् । यही कारण महराको योगदान ‘काम गर्ने कालु, मकै खाने भालु’ भइरहेछ ।

महरा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रपतिमा उम्मेद्वारी दिएको कांग्रेसले सभामुखमा उम्मेद्वारी दिएन। यसमा २ कारण छन्। पहिलो, कांग्रेस माओवादीसँग दुरी बढाउन चाहँदैन। दोस्रो, महराको सर्वमान्य व्यक्तित्वको छायाँ उम्मेद्वारीमा पनि पर्यो।

प्रचण्ड ३० वर्षदेखि निरन्तर माओवादी आन्दोलनको नेतृत्वमा छन्, यो उनलाई कसैले ‘कृपाले बक्सिस’ दिएको होइन, उनको प्रतिभा, संकल्प र योगदानको मूल्य हो, यही कुरा महराको हकमा पनि लागू हुन्छ। तसर्थ, महराको निषेधात्मक आलोचनापूर्व उनका योगदानतिर पनि फर्कने चेष्टा गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *