२१ तोप पड्काएर क्रान्तिकारीको सम्मेलन उद्घाटन
नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा शुरु भएको छ ।
२१ तोपको संकेतस्वरुप २१ वटा पटका पड्काएर अतिथिहरुले सामूहिकरुपमा सम्मेलन उद्घाटन गरेका थिए । पार्टी नेताहरु सन्तोष बुढा मगर, ओमप्रकाश पुनलगायतले सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलन उद्घाटनमा पार्टी महासचिव विप्लव आउने भनिए पनि अन्तिममा सामानान्तर सत्ताका प्रमुखसमेत रहेका सन्तोष बुढा आए ।
सम्मेलनमा निकै ठूलो उपस्थिति देखिएको थियो । घोराही क्षेत्रका प्रायः सबै सरकारी तथा निजी विद्यालयबाट विद्यार्थी सम्मेलनको उद्घाटनमा ल्याइएको थियो । ३० गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
संगठनका अध्यक्ष पूर्ण सिंहको अध्यक्षतामा सम्मेलन उद्घाटन कार्यक्रम भएको हो ।
फिल्म मध्यान्तरमा छ, हिरो फेरिए– सन्तोष
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पूरा गर्ने दावी गरेको छ । सो पार्टीका एक प्रभावशाली नेताले बिगतमा चलेको दश बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिदै त्यसको आधा भाग बाँकी रहेको चेतावनी दिए ।
‘विगतमा चलेको दश बर्षे जनयुद्धलाई एउटा फिल्म मान्नुहुन्छ भने मध्यान्तरअघिको भाग मात्र सकिएको हो’– दाङको घोराहीमा आइतवारदेखि शुरु भएको पार्टीनिकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै पार्टी स्थायी समिति सदस्य एवं समानान्तर जनसत्ताका केन्द्रीय प्रमुख सन्तोष बुढा मगरले भने, ‘२०५२ देखि २०६२ सालसम्म चलेको जनयुद्ध फिल्मको पहिलो भाग थियो, मध्यान्तररुपी शान्ति प्रक्रिया सकिएको छ र अब दोस्रो भाग शुरु हुन्छ ।’
एउटै फिल्ममा नायक फेरिने बिडम्बनापूर्ण अवस्था देखिएको भन्दै उनले भने, ‘अघिल्लो भागका नायक (प्रचण्ड) पुरानो सत्ताको अपहरणमा पर्नुभएको छ, अब नयाँ भागको नेतृत्व नयाँ नायक (विप्लव)ले गर्नुहुनेछ ।’