एउटै कलेज पढ्ने १९ नेपाली विद्यार्थी थिए विमानमा
युएस बंगला विमानमा सवारमध्ये ९ जना उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ। यस्तै दुर्घटनाग्रस्त विमानबाट ४० जनाको शब बाहिर निकालिएको हो ।
प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेका अनुसार ८ जनाको शब केएमसी अस्पताल सिनामंगल र एक जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए । यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए । विमानबाट ६ जना यात्रुको शब निकाल्न सकिएको छैन ।
दुर्घटनाका घाइतेहरुको अहिले केएमसी, ग्रान्डी, मेट्रेसिटी, नर्भिक, ओम र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पाइलट पृथुलाको मृत्यु
दुर्घटनग्रस्त विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेको छ जसमा पृथुलाको नाम समावेश छ ।
यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
एउटै कलेज पढ्ने १९ नेपाली विद्यार्थी थिए विमानमा
विमानमा बंगलादेशस्थित एक मेडिकल कलेजमा अध्ययनरत १९ नेपाली विद्यार्थी सवार रहेको खुलेको छ ।
सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १९ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेको सोही कलेजका बंगलादेशी विद्यार्थी सौरभले जानकारी दिएका छन् ।
१९ मध्ये १३ जनाको नाम मात्र आफूहरुले पत्ता लगाउन सकेको उनले बताए । उनका अनुसार सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी विमानमा सवार थिए ।