राष्ट्रपतिमा भण्डारीको दोस्रो इनिङ, शपथ भोलि

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन २९, २०७४       | 255 Views   ||

राष्ट्रपति विद्यादेवी भण्डारी पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन्। प्रतिद्वन्द्वी कांग्रसकी कुमारी लक्ष्मी राई भन्दा झण्डै तेब्बर मतान्तरका साथ पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी हुन् ।

मंगलबार विहान १० देखि अपरान्ह ३ बजेसम्म भएको मतदानपछिको गणनामा भण्डारीले ३९ हजार २ सय ४५ मत पाइन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र दुबै राप्रपा लगायतका दलले मतदान गरेका थिए ।

भण्डारीकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरिन्। यस हिसावले प्रतिद्वन्दी राईले भन्दा भण्डारीले २७ हजार ५ सय ४५ बढी मत पाइन्।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभा, ५९ सदस्यीय राष्ट्रिय सभा र ५ सय ५० सदस्यीय प्रदेश सभा सदस्यहरु यो निर्वाचनका मतदाता रहे पनि प्रतिनिधि सभाका १, राष्ट्रिय सभाका ३ र प्रदेश सभाका १ सदस्यको नाम मतदाता सूचीमा थिएन ।

फाइल फोटो

आजको मतदानमा प्रदेश सभाका ९ जना सदस्यहरु अनुपस्थित रहे । निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का सदस्यको मतभार ७९ तोकिएको थियो भने प्रदेश सभाका सदस्यहरुको मतभार ४८ थियो ।

मतभारको यो हिसाव अनुसार संघीय संसदको २६ हजार ३ सय ८६ र प्रदेश सभाको २६ हजार ४ सय गरी ५२ हजार ७ सय ८२ मतभार थियो। निर्वाचित हुन ५० प्रतिशत मत पाउनु पर्ने हुँदा राष्ट्रपतिमा निर्वाचित हुनेले २६ हजार ४ सय मत प्राप्त गर्नुपर्ने थियो ।

भण्डारी यसअघि ११ कार्तिक २०७२ मा राष्ट्रपति निर्वाचित भएकी थिइन् । त्यो बेला ५ सय ९७ सदस्यीय प्रतिनिधि सभामा भण्डारीले ३ सय २७ मत पाएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कूलबहादुर गुरुङले २ सय १४ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *