दाङका बादी समुदायसँग ‘नथिया बहस’ (भिडियोसहित)

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन २९, २०७४       | 575 Views   ||

घोराही । बादी समुदायका महिलाको कथामा आधारित उपन्यास ‘नथिया’को बारेमा दाङका बादी समुदायसँग बहस गरिएको छ । उपन्यासका लेखक सरस्वती प्रतीक्षाले दाङमै आएर पुस्तकका बारेमा बादी समुदायसँग बहस गर्नुभएको हो ।

कार्यक्रमको अवसर जुटाएको थियो उदाहरण समूह नेपालले ।

उपन्यासकार सरस्वती प्रतीक्षाले बादी महिलाहरुको सत्यकथालाई आख्यानमार्फत् प्रस्तुत गरेको बताउनुभयो भने वादी अगुवाहरुले उपन्यासमा कुनै बेलाको बादी समुदायको पीडा र बाध्यताको कथा भए पनि अहिलेको अवस्थामा उपन्यासले बादी समुदायका महिलाहरुको जीवनमा कुनै मेल नखाने बताउनुभयो ।

उपन्यासकार प्रतीक्षाले उपन्यास बादी समुदायको इतिहास नभई उनीहरुले भोगेका पीडाहरुको प्रतिनिधिमूलक कथा भएको बताउनुभयो । उहाँले २०३५ देखि २०४५ सालसम्म दाङसहित विभिन्न जिल्लामा बादी महिलाले भोग्नुपरेको यौन शोषणको पीडामा आधारित रहेर उपन्यास लेखेको बताउनुभयो ।

२०६४ सालमा भएको बादी महिलाहरुको सिंहदरबार गेटमा भएको आन्दोलनबाट प्रभावित भएर २०६७ सालमा दाङसहित विभिन्न जिल्लाको अध्ययन गरी बादी महिलाहरुको पीडाको कथा उपन्यासका रुपमा ल्याएको बताउनुभयो ।

बादी महिलाहरुको पछिल्लो बाँकी कथा लेख्न बाँकी नै भएकाले उपन्यासको अन्तिममा आफूले मध्यान्तर भनेर उल्लेख गरेको बताउनुभयो ।

उपन्यासमा अहिले कुनै पनि बादी महिला यौन व्यवसायमा नरहेको स्पष्ट गरेको पनि उहाँले बताउनुभयो । ‘ले खकको काम तरंग सिर्जना गर्ने हो, उहाँले भन्नुभयो, ‘मै ले  यो  उपन्यास लेखेपछि बादी महिलाहरुको पीडाबारे बहस शुरु भएको छ, यसलाई मैले आफ्नो सफलता मानेको छु ।’

वादी महिला अधिकारकर्मी निर्मला गुप्ता बादीले उपन्यासले एउटा कालखण्डको चित्रण गर्न खोजे पनि यो उपन्यास पढिसकेपछि जसले पनि वादी समुदायका महिलालाई राम्रो दृष्टिले हेर्न नसक्ने बताउनुभयो ।

‘उपन्यासमा कतिपय कुरा तथ्यभन्दा बाहिरका छन्, विवाह गरेका कुनै पनि बादी महिलाले यौन व्यवसाय गरेको इतिहास छैन तर यसमा श्रीमानले श्रीमतीलाई यौन व्यवसायमा लगाएको घटना प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो, ‘आफू बिग्रन तयार भए तर बादी महिलाले परिवार र समुदायलाई बिगारेनन् र बाबुको पहिचान नहुँदा पनि बालबच्चालाई हुर्काएर साहस देखाएका छन् ।’

उपन्यासका धेरै पात्रको नाम अहिलेका वादी महिलासँग मिल्ने भएकाले पुस्तकले उनीहरुको प्रगतिमा ठूलो समस्या आउने बताउनुभयो ।

‘नयाँ पुस्ताका बहिनीहरु, जसलाई यौन व्यवसायबारे जानकारी नै छैन, उनीहरुको नामसमेत उपन्यासका पात्रसँग मिल्दा समस्या देखिएको छ, यसलाई पाठकहरुले आजको अवस्थासँग कुनै सम्बन्ध छैन भनेर बुझ्न उपयुक्त हुन्छ ।’

बादी बुद्धिजीवी निर्मल बादीले उपन्यासमा २००७ देखि २०४५ सालसम्मको घटनाक्रम ठीकै ढंगले उठाएको भए पनि २०४६ पछिको अवस्था नआउँदा पाठकलाई भ्रम पर्ने खतरा रहेको बताउनुभयो ।

‘यो पीडाको दस्तावेज हो तर पनि यसलाई हिजोकै इतिहासका तथ्य हुन् भनेर बुझ्नुपर्छ, उहाँले भन्नुभयो, ‘बादी महिलाले समाजबाट पाएको उत्पीडनका कथा यसमा छन्, उपन्यास अघि बढ्दै गर्दा अलि बाटो बंग्याएको देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *