ह्विलचेयरबाटै ब्रम्हाण्ड जितेका वैज्ञानिक

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४       | 283 Views   ||

आइन्स्टाइनपछिका सबैभन्दा चर्चित भौतिकशास्त्री मानिएका बेलायती वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा मृत्यु भयो । सन् १९४२ को जनवरी ८ मा जन्मेका हकिङले मृत्युको छायाँमा ह्विलचेयरमा बसेर ब्रम्हाण्ड र जीवनको रहस्य पत्ता लगाउन आफ्नो जीवन समर्पण गरेका थिए ।

‘उहाँ महान् वैज्ञानिक र एक असाधारण मानिस हुनुहुन्थ्यो, जसको काम र विरासत अझै अनेकौँ वर्ष बाँचिरहनेछ,’ उनको मृत्युपछि उनको परिवारले भनेको छ ।

उनी आधुनिक विज्ञानका जन्मदाता मानिने वैज्ञानिक ग्यालिलियो ग्यालिलीको तीन सैयौँ जन्मदिनमा जन्मेका थिए । यो कुरालाई उनी स्मरण पनि गरिरहन्थे । उनको निधन अल्बर्ट आइन्स्टाइनको १३९ औँ जन्मदिनमा भयो । अझ अर्को संयोग उनले क्याम्ब्रिजमा कुनै समय प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनले सम्हालेको लुकासियन प्रोफेसर अफ म्याथम्याटिक्सको पदवी समेत सम्हालेका थिए ।

चार सन्तानमध्ये सबैभन्दा जेठा हकिङ आफूले पढेको सेन्ट अल्बान्स स्कुलमा मध्यम दर्जाको विद्यार्थी थिए। पछि उनले अक्सफोर्डको युनिभर्सिटी कलेजमा अध्ययन गरे। कलेजमा उनलाई गणितका सबै कुरा सहज लाग्थे भने उनको रुची ब्रम्हाण्डीय अवधारणाहरुमा मात्रै थियो ।

युवा हकिङ वर्षौँसम्म बेलाबखत कमजोरी महसुस गरिरहन्थे । सन् १९६३ मा २१ औँ जन्मदिनको केही पछि डाक्टरहरुले उनलाई ‘आमियोट्रोफिक लाटेरल स्क्लेरोसिस’ नामक रोग लागेको र जिउनका लागि उनीसँग तीन वर्षको समय मात्र बाँकी रहेको बताए ।

फलस्वरुप उनी चिन्ताको गर्तमा पुगे । उनका अनुसार उनी बारम्बार आफूलाई मृत्युदण्ड दिइएको सपना देख्थे। तर बिस्तारै सबै अप्ठ्याराहरुसँग जुध्दै उनी अघि बढिरहे। रोगले क्रुरतापूर्वको उनको शारीरिक क्षमतालाई सीमित तुल्याउँदै लगेको थियो । उनी अलिअलि हिँड्न र सानातिना आफ्ना काम गर्न सक्थे । त्यसैबेला उनलाई आफ्नो उद्देश्य ज्ञात भयो ।

‘जब तपाईं असामयिक मृत्युको अगाडि उभिनुहुन्छ, यसले तपाईंलाई जीवन बाँच्नयोग्य छ र गर्न धेरै कुरा बाँकी छ भन्ने महसुस गराउँछ,’ उनले भनेका छन् ।

‘त्यसबेला मैले आफ्नो जिन्दगी सकिएको महसुस गरेको थिएँ । तर अहिले ५० वर्षपछि म आफ्नो जीवनप्रति सन्तुष्ट हुन सक्छु ।’

हुन पनि २० वर्षको उमेर काट्नेबित्तिकै केही वर्ष मात्र बाँच्ने अनुमान गरिएका हकिङले विश्वलाई चकित पार्ने खोजी गर्न सफल भए ।

रोगका कारण उनी हलचल गर्न नसक्ने भए । त्यसपछि उनले आफ्नो सम्पूर्ण समय ह्विलचेयरमा बिताउन बाध्य भए । बोल्न समेत नसक्ने उनी भ्वाइस सिन्थेसाइजरका माध्यमले कुराकानी गर्दथे ।

तर ह्विलचेयरमा कैद उनको सानो र अशक्त शरीरभित्र एक तेज दिमाग निरन्तर क्रियाशील थियो ।

सन् १९८५ सम्म उनी अलि अलि बोल्न सक्थे । तर स्वीट्जरल्याण्ड भ्रमणका क्रममा उनलाई न्युमोनियाले गाँज्यो । डाक्टरहरुले उनकी पत्नी जेनलाई उनलाई दिइएको ‘लाइफ सपोर्ट’ बन्द गर्ने कि भनेर समेत सोधेका थिए । जेनले यो कुरा अस्वीकार गरिन्। उनको जीवन बचाउन डाक्टरहरुले एक ‘ब्रिथिङ ट्युब’ उनको घाँटीमा घुसारेका थिए । उनी त बाँचे तर उनको स्वर रहेन ।

हकिङ प्रथम पत्नी जेनका साथ

त्यसपछि उनी अक्षरहरु देखाएर सञ्चार गर्न बाध्य भए तर हकिङको अवस्था देखेर कम्प्युटर विशेषज्ञ वाल्टर वल्टोजले उनका लागि सञ्चारको केही सहज प्रोग्राम तयार गरिदिए । जसमा शब्द शब्द गरेर आफ्नो कम्प्युटर स्क्रिनमा उनी वाक्य निर्माण गर्थे र त्यसलाई भ्वाइस सिन्थेसाइजरमार्फत् अरुलाई सुनाउँथे । यी सबै यन्त्र उनको ह्विलचेयरमा जोडिएको थियो ।

‌औँला चलाउन नसक्दा उनी दाहिने गाला र आँखीभौँ हल्लाएर सञ्चार गर्दथे । यही प्रविधिमार्फत् उनी अरु कसैको सहयोगबिना अफिसको ढोका बन्द गर्न, टेलिफोन र इन्टरनेट प्रयोग गर्न सक्दथे ।

यसरी बोल्दा प्रतिमिनेट १५ शब्द मात्रै बोल्न सके पनि उनी सन्तुष्ट थिए । भ्वाइस सिन्थेसाइजर अमेरिकामा बनेको हुनाले आफ्नो अमेरिकी लवजमा सुनिएको उनको एक मात्र गुनासो थियो ।

सन् १९८८ मा उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ प्रकाशित भएपछि उनी विश्वचर्चित बने । जटिल विषयवस्तुमा लेखिएको सबैभन्दा चर्चित पुस्तकमध्ये एक हो यो पुस्तक, जुन सन्डे टाइम्स बेस्ट सेलर सूचीमा २३७ सातासम्म रहन सफल भएको थियो। यो पुस्तक एक करोड प्रतिभन्दा बढी बिक्री भएको थियो ।

उनी आफ्नो पुस्तकबाट बालबच्चाको शिक्षाका लागि खर्च गर्ने केही पैसा पनि कमाउन चाहन्थे । निश्चय नै पुस्तक चर्चित बनेपछि उनले पर्याप्त पैसा कमाए । त्यसभन्दा बढी उनी अपांगता भएका व्यक्तिहरुको नायक बने ।

सो पुस्तकमा एक मात्र गणितीय सुत्र e=mc2 रहेकोमा उनी गर्व गर्दथे ।

उनको काम

२००७ मा शून्य गुरुत्वाकर्षण भएको बोइङमा यात्रा गर्दै हकिङ

सन् १९७४ देखि नै हकिङ आधुनिक भौतिकशास्त्रका दुई ठूला विषयः आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तलाई जोड्न लागिपरेका थिए । सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रम्हाण्डमा हुने ठूला घटनाचक्रको व्याख्या गर्दछ भने क्वान्टम सिद्धान्तले उपपरमाणुले कसरी काम गर्दछ भन्ने व्याख्या गर्दछ ।

‘मेरो उद्देश्य सरल छ,’ उनले एक पटक भनेका थिए, ‘ब्रम्हाण्डको पूर्ण बुझाइ मेरो उद्देश्य हो। यो यस्तै किन छ र यसको अस्तित्व नै किन छ ?’

यो खोजको नतिजास्वरुप हकिङले दुई खाले समयको अवधारणामा आधारित ब्रम्हाण्डको मोडल प्रस्तुत गरे । दुईमध्ये एक खालको समय हो, ‘वास्तविक समय’ अर्थात्, मानिसले जुन समय अनुभव गर्दछ । दोस्रो खालको समय क्वान्टम सिद्धान्तको ‘काल्पनिक समय’ हो, जसमा सायद यो ब्रम्हाण्ड चल्ने गर्दछ ।

‘काल्पनिक समय साइन्स फिक्सनजस्तो लाग्न सक्छ तर यो असली वैज्ञानिक अवधारणा हो,’ उनले भनेका थिए ।

उनको खोजको अर्को महत्वपूर्ण क्षेत्र भनेको ‘ब्ल्याक होल’ हो । ब्ल्याक होल ब्रम्हाण्डको त्यो क्षेत्र हो, जहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ, प्रकाश समेत त्यहाँबाट बच्न सक्दैन ।

उनको यो खोज आधुनिक भौतिकशास्त्रको अर्को घुम्ती बनेको छ ।

दुई असफल विवाह

सन् १९६५ मा उनले जेन वाइल्डसँग पहिलो विवाह गरेका थिए । उनीहरुबाट तीन सन्तानको जन्म भयो । २५ वर्षको दाम्पत्य जीवनपछि उनीहरुको सम्बन्धविच्छेद भयो । यो सम्बन्धलाई सन् २०१४ को ‘द थ्यौरी अफ एभ्रिथिङ’ नामक फिल्ममा उतारिएकोे छ । सो फिल्ममा हकिङको चरित्रमा देखिएका अभिनेता एडी रेडिम्यानले ओस्कारमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका थिए ।

आफ्नो अवस्था बिग्रिँदै जाँदा जेन चिन्ताग्रस्त हुँदै गएको हकिङले बताएका थिए। ‘म चाँडै मर्नेछु भनेर उनी चिन्तित थिइन्, त्यसैले म नहुँदा बालबच्चा र आफूलाई सहयोग गर्ने र आफूसँग विवाह गर्ने मान्छे उनी चाहन्थिन्,’ हकिङले आफ्नो संस्मरणमा लेखेका थिए ।

पत्नीले अपार्टमेन्टमै एक स्थानीय संगीतकारलाई ल्याएर एउटा कोठा उसैलाई दिएको हकिङले बताएका थिए । ‘म यसको विरोध गर्न सक्थेँ त म आफैँलाई पनि चाँडै मर्छु होलाजस्तो लागिरहेको थियो,’ उनले भनेका थिए, ‘उनीहरुबीच झनझन निकट बन्दै गएको सम्बन्धबाट म झन झन दुःखी हुँदै गएँ । अन्ततः मैले यो कुरा खप्न सकिनँ र १९९० मा एक नर्ससँग अर्को फ्ल्याट लिएर सरेँ ।’

हकिङ दोस्री पत्नी एलेनका साथ

त्यसपछि हकिङले आफ्नै पूर्व नर्स एलेन मेसनसँग १९९५ मा विवाह गरे । एलेनकै पूर्वपति डेविडले हकिङको भ्वाइस सिन्थेसाइजरको डिजाइन गरेका थिए ।

‘एलेनसँग मेरो वैवाहिक सम्बन्ध भावुक र तुफानी थियो,’ उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘हामीबीच निकै उतारचढाव आयो तर उनी मेरो नर्स भएकैले थुप्रै पटक मेरो ज्यान बच्यो ।’

तर सन् २००७ मा दुव्यर्वहारको आरोप लगाउँदै एलेनले हकिङको साथ छोडिन्, जसलाई उनले अस्वीकार गरे ।

उनी ईश्वरलाई मान्छन् या मान्दैनन् भन्ने प्रश्नमा उनले भनेका थिए, ‘एक तरिकाले भन्दा यदि हामीले ब्रम्हाण्डलाई बुझ्न सक्यौँ भने हामी आफैँ ईश्वरको स्थानमा हुन्छौँ ।’

उनी सबैभन्दा बढी के विषयमा सोच्छन् भनेर एक म्यागेजिनले उनलाई सोधेको थियो । ब्रम्हाण्डका रहस्य सुल्झाउन प्रयासरत हकिङको जवाफ थियो, ‘महिला । उनीहरु पूरै रहस्यमय छन् ।’

पछिल्लो समय उनी आफूलाई मृत्युको डर नभएको बताउँथे ।

६० वर्ष पुगेको अवसरमा उनले तातो हावा भरिएको बेलुनमा यात्रा गरेका थिए। ‘मैले एक पूर्ण र सन्तोषजनक जीवन बाँचे । मलाई विश्वास छ, अपांगता भएका व्यक्तिले आफ्नो अशक्तताले नरोक्ने काम गर्नमा ध्यान दिनुपर्छ र गर्न नसक्ने कुराप्रति पछुतो मान्नुहुँदैन,’ उनले संस्मरणमा लेखेका छन् ।

हकिङ मानव प्रजातिले आफू बाँच्न चाहने हो भने अन्य ग्रहमा जीवनको खोजी गनुपर्ने बताउँथे । ‘आणविक युद्ध, कुनै भाइरस वा अन्य खतराबाट पृथ्वीमा जीवन समाप्त हुनसक्छ,’ उनले भनेका थिए ।

अन्ततः ह्विलचेयरबाटै गुरुत्वाकर्षण, ब्रम्हाण्डको उत्पत्ति, समयको इतिहास र भविष्यजस्ता गह्रौँ विषयमा चिन्तन गरेर विश्वभरका मानिस मन जित्न सफल भएका यी वैज्ञानिकलाई आगामी पुस्ताले समेत सम्झिरहनेछ ।

नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *