प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदका कारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।
अब उनले राष्ट्रपति भण्डारीलाई शपथ खुवाउन नपाउने भएका छन् ।
परिषदका सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकाश हुने भएमा सम्बन्धित न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ ।
परिषद्को आजैको सचिवस्तरीय निर्णयअनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।
पत्रको अन्त्यमा भनिएको छ, ‘सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’