माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी छाडेर डा. बाबुराम भट्टराईले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन्।
बिहिवार पेरिसडाँडामा नयाँ शक्तिका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पुरानै पार्टीमा नफर्किए बाबुरामको कुनै राजनीतिक भविष्य नरहने बताए।
‘बाबुरामजीले पार्टी छाडेर गम्भीर गल्ती गर्नुभयो, फेरि पुरानै पार्टीमा नफर्किने हो भने उहाँको कुनै राजनीतिक भविष्य बाँकी रहनेछैन’, उनले भने। आफूले पटकपटक भट्टराईलाई पार्टीमा फर्किन आग्रह गरेको स्मरण गर्दै उनले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै पश्चाताप नगरे ‘माथि जाने बेला’ पोलेको पोल्यै हुने बताए ।
‘बाबुरामजीले धेरै ठूलो गल्ती गर्नुभएको छ, यसको पश्चाताप नगरे माथि जाने बेला पोलेको पोल्यै हुनेछ, उहाँलाई नै दुःख हुनेवाला छ’, उनले भने।
कम्युनिस्ट आन्दोलनमा काम गर्नेहरु एउटै कम्युनिस्ट केन्द्रमा आउनु पर्ने दाहालको भनाइ थियो। वैद्य र विप्लवलाई पनि एमाले र माओवादीले थालेको पार्टी एकता प्रक्रियामा सहभागी हुन उनले आह्वान गरे ।
नयाँ शक्ति परित्याग गरेर १९ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।