प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको वताउनु भएको छ ।
घोराही उपमहानगरपालिकाले मंगलबार आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफू जिम्मेवार रहेको वताउनु भयो ।
स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो वर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रित हुने वताउनु भयो ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभामा निर्वाचित सभामुख महराले दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमि हुन नदिने वताउनु भयो । फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्ति भएको भन्दै उहाँले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने वताउनु भयो ।
‘अब म कुनै दलको भूमिकामा छैन’,सभामुख महराले भन्नुभयो, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि हुने छैनन् ।’ सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिवद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको वताउनु भयो ।
समग्र दाङको विकासमा आफुले गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उहाँले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
यसैबीच आज नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमको आयोजना गरी सम्माननीय सभामुख कृष्णबहादुर महरालाई स्वागत सम्मान गरेको छ ।