जनउभार समाचारदाता
दाङ । नौलो जनउभार साप्ताहिकका सम्पादक डिल्ली मल्लको बिदाई गरिएको छ ।
पत्रिकाले बुधवार एक कार्यक्रमको आयोजना गरी मल्ललाई औपचारिक रुपमा विदाई गरेको हो । दश वर्ष देखि नौलो जनउभारमा कार्यरत मल्ल सभामुख कृष्णबहादुर महराको सञ्चार विज्ञमा नियुक्त भएका छन् ।
मल्ललाई पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक अजयदीप शर्माले खादा र अविर लगाएर विदाई गरेका थिए । सो अवसरमा वोल्दै प्रधान सम्पादक शर्माले मल्लले पत्रिकामा रहँदा गरेको योगदानको प्रशंसा गर्दै आगामी यात्रा सफलताको कामना गरेका थिए । उनले जनपक्षिय पत्रकारिताको यात्रालाई निरन्तर जारी राख्न मल्ललाई सुझाव दिएका थिए ।
मल्लले पत्रकारिताको शुरुवात जनउभारबाट नै भएको उल्लेख गर्दै दश वर्षको अवधिमा आँफूले धेरै कुरा सिक्ने अवर पाएको बताए । ‘म भौतिक रुपमा जनउभारबाट टाढा भए पनि यसको विकाशका लागि सधै लागि पर्ने छु,’ उनले भने, ‘आगामी दिनमा जनउभारमा रहेर मैले सिकेका कुराहरु निकै काम लाग्ने छन् भन्ने मैले बुझेको छु ।’
सो अवसरमा पत्रिकाका प्रवन्ध सम्पादक जनक नेपाली र सह–सम्पादक पाण्डव शर्माले मल्ललाई शुभकामना दिएका थिए ।