विद्यालय जाँदै आमाहरु

  
  प्रकाशित मितिः बुधबार, चैत्र २१, २०७४       | 248 Views   ||

सन्तोष अधिकारी
घोराही / दाङको घोराहीमा रहेको चेतना महिला विद्यालयमा ३५ वर्ष भन्दा माथिका महिलाहरुले अध्ययन गरिरहेका छन् । पढ्ने चाहाना हुँदाहुँुदै पनि घरधन्दाका कारण विद्यालय जान नपाएका आमाहरु अहिले नर्सरीदेखी कक्षा पाँच सम्म उक्त विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले उनै आमा विद्यार्थीहरुको परीक्षा चलिरहेको छ ।

घरको चुलोचौकोको काम सकेर उनीहरु नियमित ११ वजे विद्यालय जान्छन् र कखरा पढ्ने गर्दछन्् । विद्यालयमा पुग्दा जेष्ठ नागरिक महिलाहरु स–साना विद्यार्थी जस्तै ‘ए फर एप्पल, क वाट कमल’ पढिरहेको देख्दा सवैलाई अचम्म लाग्दछ । चेतना महिला विद्यालयमा अध्ययन गरिरहेकी एक विद्यार्थीले आफ्नो विगतलाई यसरी सम्झिईन् ।

माइति घरमा जेठी छोरी भएकाले काममा सघाउनु पर्दा पढ्न नपाएकी रामपुरकी वालिका पाण्डे उमेरले ४० पुगिन् । उनी घरेलुहिंसा पिडित महिला पनि हुन् ।
समाजमा महिलाका सवालमा सहजीकरण गर्ने पाण्डेका ३ सन्तान छन् । आर्थिक अवस्था कमजोर भएका कारण एसएलसी सम्मको पढाई सकेर उनका छोराहरु विदेशीका छन् । पाण्डेले विदेशबाट छोराहरुले पठाएको पैशा बैङ्कबाट निकाल्न फर्म भर्न नजानेकोमा हिनतावोध भएको बताइन् ।

‘अहिले केही कुरा सिक्नका लागि विद्यालयमा भर्ना भएकी छु,’ उनले भनिन् । सामान्य अंग्रेजी शब्दहरु पनि उच्चारण गर्न सम्म जानेको पाण्डेले बताइन् । घरको सबै काम सकेर ११ वजे विद्यालय आउने पाण्डे ३ वजे घर फर्केर घरधन्दामा लाग्ने गरेको बताउछिन् । ‘घरमा वा, आमाले नपढाएपनि हाम्रो लागि विद्यालय खोलिदिने मेडमहरु नै हाम्रा आमा, वा हुनुहुन्छ,’ पाण्डेले भनिन् ।

त्यस्तै घोराही उप–महानगरपालिका १३ की केसरा पोख्रेल उमेरले ५३ वर्ष भईन् । उनले चेतना महिला विद्यालयमा अध्ययन गर्न थालेको ५ वर्ष भयो । उनी अहिले ४ कक्षामा पढ्छिन् । घरको नजिकमा पनि सामुदायिक विद्यालय भएको बताउने पोख्रेलले त्यहाँ पढ्दा नातिनातिना जस्ता उमेरका सँग पढ्न लाज लागेकाले चेतना महिला विद्यालयमा भर्ना भएको वताइन् ।

श्रीमानले धेरै नै सहयोग गरेकोले अहिले कितावहरु सरसर्ती पढ्न सक्ने भएको पोख्रेल बताउछिँन् । ‘छोरा, छोरीले डिग्री गरे, अहिले क्यानडा, र काठमाण्डौमा छन् तर म अनपढ थिए, रहर हुँदाहुँदै पनि पढ्न पाएकी थिईन, अहिले पढ्न पाउँदा खुसी छु,’ पोख्रेलले भनिन् । त्यस्तै घोराही–१५ बस्ने ४५ वर्षियाकी लक्ष्मी बिकको पनि व्यथा उस्तै छ । थारु परीवारमा जन्मेकी लक्ष्मीले वाल्यकालमा विद्यालय जानै पाईनन् । उमेर बढ्दै जाँदा दलित केटासँग प्रेम विवाह भयो ।

बालिका, केशरा र लक्ष्मी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै वाल्यकालमा पढ्न नपाएका आमा विद्यार्थीहरुले अहिले परीक्षा दिइरहेका छन् । सबै एउटै उमेर समुहका भएका कारण लाज नलाग्ने उनीहरु बताउँछन् । महिलाहरु मात्रैले सञ्चालन गरेको विद्यालयमा शिक्षिकाहरु पनि सबै महिलाहरु मात्रै छन् ।

शिक्षिकाहरुले सरल तरिकाले व्यवहारिक ज्ञान दिने गरेको उनीहरु बताउँछन् । विविध समस्याका कारण विद्यालय जान नपाएका तर पढ्ने रहर भएका महिलाहरुलाई लक्षित गरी दाङका ६ जना महिलाहरुले स्थापना गरेको विद्यालय हो, चेतना महिला विद्यालय । २०६६ साल देखी गृहिणी प्रौंढ महिलाहरुलाई शिक्षामा अग्रसर र शिक्षित बनाउने उद्देश्यले घोराही उप–महानगरपालिका १८ रझेनामा स्थापना भएको चेतना महिला विद्यालयले स्वरोजगारमुखी शिक्षा विकास गर्ने लक्ष्यमा राखेको छ ।
अहिले ७५ जना गृहिणी महिलाहरुले परीक्षा दिइरहेकाछन् । नर्सरीदेखी कक्षा ५ सम्मको पढाई भइरहेको विद्यालयमा अवको शैक्षिक शत्रदेखि सात सम्मको कक्षा सञ्चालन हुने विद्यालयकी प्रधानाध्यापक सुमित्रा सुवेदीले जानकारी दिईन् ।

आर्थिक अभावका कारण अहिले विद्यालय सञ्चालनमा कठिनाई भइरहेको विद्यालयकी प्रधानाध्यापक सुवेदीकोे भनाई छ । विद्यार्थीहरुले दिएको चन्दाले दुई कोठा र घोराही उप–महानगरपालिका– १८ को आर्थिक सहयोगमा ३ कोठे भवन अहिले तयार भइरहेको सुवेदीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *