दाङका सांसदहरुसँग सभामुख महराको सामूहिक भेट

  
  प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४       | 325 Views   ||

काठमाडौं । सभामुख कृष्णबहादुर महराले दाङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको छ ।

बिहीबार दिउँसो सभामुख निवास वालुवाटारमा दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा सभामुख महराले दाङको समग्र विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

‘राजनीतिक आस्था र विचार आ–आफ्नो ठाउँमा छ, दाङको विकासका लागि सबै एकै ठाउँमा आउनैपर्छ, सभामुख महराले भन्नुभयो, ‘विकास र समृद्धिलाई पार्टी र विचारले रोक्दैन, रोक्नु पनि हुँदैन ।’

दाङको विकासका लागि सबै जनप्रतिनिधिहरु एक ठाउँमा आएर बृहत योजना बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । दाङको मुख्य समस्याका रुपमा रहेको खानेपानी र सिचाइका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरी लाग्नुपर्ने उहाँले बताउनुभयो ।

‘दाङमा खानेपानी र सिचाइको समस्या समाधानका लागि नदी डाइभर्सन, ४÷५ वटा हाइड्याम र अन्य स–साना आयोजनाहरु अघि बढाउनै पर्छ’ सभामुख महराले भन्नुभयो, ‘त्यस्तै, टरिगाउँ एयरपोर्टको स्तरोन्नति, इन्धन डिपोको स्थापना, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनलगायतका बृहत योजनाहरु सबैको दिमागमा बस्न जरुरी छ ।’

सभामुख महराले कोइलाबास नाका सञ्चालन गर्न सके दाङदेउखुरीको कायापलट नै हुन सक्ने बताउनुभयो । उहाँले दाङलाई लुम्बिनी र मानसरोवरसँग जोड्ने गरी सडक सञ्जाल बिस्तार गर्ने अनि स्वर्गद्वारीलाई ऐतिहासिक धार्मिक पर्यटनको केन्द्रका रुपमा जोड्न सके दाङमा चीन र भारतका पर्यटकहरुलाई भित्र्याउन सकिने बताउनुभयो ।

सभामुख कृष्णबहादुर महरासँगको सामूहिक भेटमा दाङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरु

केही समयअघि मात्रै आफू दाङको भारतीय सीमा क्षेत्रका बस्तीहरुमा पुगेको स्मरण गर्दै महराले दाङका २२ वटा सीमा नाकाहरुको समस्या समाधान गर्न सबैको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो । नाका क्षेत्रमा जान आफू ३ घण्टा भारतीय भूमिबाट गुज्रिनुपरेको भन्दै सभामुख महराले सीमा नाकाहरुलाई सडक सञ्जालले जोड्ने र सञ्चार र खानेपानीको समस्या समाधानका लागि सबैले गम्भीर भएर सोच्न आग्रह गर्नुभयो ।

अहिलेको संघीय संसदलाई थुप्रै ऐन, कानूनहरु बनाउनुपर्ने जिम्मेवारी भएको छ भन्दै सभामुख महराले संसदमा दाङबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सक्रिय भूमिका अपेक्षा गरेको बताउनुभयो । ‘हामी अहिले नीति निर्माणको तहमा छौं, सभामुख महराले भन्नुभयो, ‘म सभामुख हुनुको नाताले पनि मेरो आफ्नो ठाउँका माननीयहरुको सक्रिय भूमिकाको अपेक्षा गर्छु ।’

भेटघाटका अवसरमा दाङका सांसदहरुले जिल्लाको समग्र विकासका लागि आफूहरुले जे सकिन्छ, काम गर्न तयार रहेको बताएका थिए । सभामुखले सामूहिक रुपमा बोलाएर जिल्लाको विकासमा चासो देखाएकोमा खुसी व्यक्त गर्दै यस्तो बसाइको निरन्तरताका लागि अनुरोध समेत गरेका थिए । उनीहरुले जिल्लामा देखिएका विकास निर्माणका आवश्यक योजनाहरु, अल्पकालीन र दीर्घकालीन रुपमा गर्न सकिने काम, प्रदेशको राजधानी, अस्पताललगायतका विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

भेटमा दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरु मेटमणि चौधरी, रेखा शर्मा, शान्ता चौधरी, हिराचन्द्र केसी, पार्वती डिसी चौधरी, गंगा चौधरी, विमला नेपाली र राष्ट्रिय सभा सदस्यहरु अनिता देवकोटा र कोमल वली सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *