विकास निर्माणमा जनचासो

  
  प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४       | 146 Views   ||

पाण्डव शर्मा
दाङ । घोराही उपमहानगरपालिका १७ ज्ञानज्योती टोलका भक्तबहादुर नेपाली चालु आर्थिक वर्षका बजेटमा वडाले दलितका लागि कुनै बजेट विनियोजन नगरेको गुनासो गर्छन् । उनले वडा अध्यक्ष खुसिराम चौधरीलाई दलितको शीर्षका किन बजेट विनियोजन भएन भनेर प्रश्न समेत गरिसकेका छन् ।
‘हाम्रो दलित समुदायको विकासका लागि वडाले कुनै बजेट विनियोजन गरेको छैन, यसमा जनप्रतिनिधिहरुले ध्यान दिनुप¥यो,’ नेपालीले भने, ‘निर्वाचनका बेला नेताहरुले धेरै आश्वासन दिनुभएको थियो, अहिले खासै काम भएको देखिदैन ।’ सोहि वडा असारे टोलका भेगबहादुर घर्ती आफ्नो टोलको भवन निर्माणका लागि वडाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेकोमा खुशी छन् । तर, अँझै पनि केही स्थानमा विजुलीको पोल पुग्न नसकेकोमा टोलवासि चिन्तत भएको उनी बताउँछन् । टोलवासीहरुले पोल विस्तारका लागि वडासँग आग्रह
गरिसकेका छन् ।
१७ नम्मर वडाकै विनम चौधरी चालु आर्थिक वर्षको बजेटमा कुवा निर्माणमा बजेट परेको बताउँछिन् । अन्य विकास निर्माणका योजनाहरु माग गर्न टोलको तर्फबाट वडामा जाने तयारी भइरहेको उनले जानकारी दिइन् ।
सोहि वडा अग्रिम टोलकी प्रेमा गैरे जनताको काम गर्न प्राविधिकहरुले आनेकाने गरेको बताउँछिन् । ‘प्राविधिकहरु हाम्रो कुरा सुन्न चाहन्नन्, उनीहरुले जनताले बुझ्ने गरी काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘आम  सर्वसाधारणको सहभागिता विना विकास निर्माणको काम सम्भव हुँदैन ।’

स्थानीय समाजसेवि द्रौपदा न्यौपानेले यसवर्षका महिला दिवशको अवसरमा वडाले कुनै बजेट विनियोजन नगरेको गुनासो गरिन् । ‘अब स्थानीय सरकारले महिलाहरुको क्षमता विकासमा लगानी गर्नुपर्छ,’ उनले भनिन्, ‘विकासमा महिला र पुरुषको सहभागिता समान हुन जरुरी छ ।’
यी त प्रतिनिधि पात्र मात्रै हुन् । आजभोली विकास निर्माणमा जनचासो बढेको जनप्रतिनिधिहरु बताउँछन् । विगतमा नागरिकको चासो पूर्वाधार विकासमा मात्रै हुने गरी पनि आजभोली मानविय विकासमा समेत चासो दिन थालेका छन् । ‘दलित, जनजाति, महिलालगायतका शीर्षकमा बजेट विनियोजन गर्नुपर्ने मागहरु आउन थालेका छन्,’ १७ नं वडाका अध्यक्ष खुशिराम चौधरी भन्छन्, ‘अहिले नागरिकहरु आफ्नो क्षेत्रमा कति बजेट विनियोजन भयो भएन भनेर बुझ्न आउने गर्छन् ।’
नागरिकहरुको चासोले आँफूहरुलाई काम गर्न थप सहज भएको उनको भनाई छ ।  चालु आर्थिक वर्षमा पूरानै तर्जुमा भएका योजना र बजेटबाट काम गर्नुपरेको
चौधरीले बताए । ‘आगामी आर्थिक वर्षमा लक्षित वर्ग र समूदायका लागि बजेट विनियोजन गर्ने योजना रहेको छ,’ उनले भने, ‘पूर्वाधार विकाससँगै मानवीय विकास पनि अहिलेको आवश्यकता हो ।’
स्थानीय विकास विज्ञ रमेश अधिकारी जनसहभागिता विनाका विकासले मुलुकको समूचित उन्नती हुन नसक्ने बताउँछन् । ‘जनसहभागिताले विकासमा अपन्त्व जगाउँछ,’ उनी भन्छन्, ‘जहाँ जनता जागरुक भएका हुन्छन्, त्यहाँको विकास गुणस्तरीय र समयमै सम्पन्न हुन्छ ।’ स्थानीय तहले स्थानीय सरकारको मान्यता पाएकाले जनप्रतिनिधिहरुले  सरकारको अनुभूति हुने गरी काम गर्नुपर्ने अधिकारीको भनाई छ । जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास अहिलेको आवश्यकता भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *