सामुदायिक विद्यालय सुधार गर्न नेताले आफ्नै सन्तानलाई भर्ना गरे

  
  प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४       | 157 Views   ||

नौलो जनउभार

घोराही । नेपालमा सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएकोमा सबैले चिन्ता व्यक्त गर्छन् ।

यसबारेमा सबैले घण्टौ बहश पनि गर्छन् । उनीहरु चर्को स्वरमा सामुदायिक विद्यालय सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउँछन् । तर, आफ्नै छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाएर महंगो निजि विद्यालयमा पठाउँछन् । नेपालको सामुदायिक विद्यालयको नियति यहि हो ।
तर, दाङको घोराही स्थित उच्च माध्यामिक विद्यालय रझेनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले भने सामुदायिक विद्यालयको छवि राम्रो बनाउनको लागि आफ्नो सन्तानलाई भर्ना गर्न थालेका छन् । उनले एक निजि विद्यालयमा कक्षा ३ उत्र्तीण गरेकी छोरीलाई कक्षा ४ मा आँफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको स्कुलमा भर्ना गर्न थालेका छन् ।

यसअघि उनले विद्यालयमा मण्टेश्वरी शुरु गर्दा अर्की छोरीलाई भर्ना गराएका थिए । ‘आँफूले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने र सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने नारा लगाउनुको कुनै अर्थ छैन,’ गौतम भन्छन्, ‘म मेरा सन्तानलाई सामुदायिक विद्यालयमै पढाएर यसको गुणस्तर बढाउनको लागि लागि पर्छु ।’

गतवर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए देखि नै गौतमले विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि पहल गरेका छन् । विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका गौतम माओवादी केन्द्र दाङका इञ्चार्ज समेत हुन् । सबै शिक्षक, सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा पढाउने हो भने त्यसको गुणस्तर बढाउन थप सहयोग पुग्ने उनको भनाई छ ।

विद्यालयमा गतवर्ष देखि शुरु भएको मण्टेश्वरी कक्षामा पढ्न चाहनेहरुको आकर्षण ह्वात्तै बढेको गौतम बढाउँछन् । अहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाई सञ्चालन भइरहेको छ । ‘अब सामुदायिक विद्यालयको सुधार जसरी भए पनि गर्नुपर्छ, गरिवका छोराछोरीले पनि गुणस्तरी शिक्षा पढ्न पाउनुपर्छ,’ उनले भने, ‘हामीले विद्यालयमा कितावको ज्ञान मात्र नभएर व्यवहारीक ज्ञान पनि दिन्छौं, विद्यार्थीलाई नैतिक ज्ञान पनि दिइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *