इतिहास बनिसकेको भँवरा

  
  प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५       | 353 Views   ||

निमबहादुर थापा

बिहानीमा फक्रिन खोजेकी गुलाबको कोपिला थिएँ म । मगमगाउने चमेलीको फूल थिएँ म । बुकी फूलले सेताम्य पखेराहरुमा भावनामै रमाएर छमछमी नाच्ने रहरालु थिएँ म । राताम्य गुराँसले घपक्कै ढाकेको घुम्टोभित्र कोइलसँग लुकामारी खेल्ने खेलाडी थिएँ म । सिरसिरे हावामा फहराउने ध्वजा थिएँ म । आफ्नै मनमा गुनगुनाएर मुस्कुराउने हसिना थिएँ म । मेरै शरीरका अवयवहरु नियाल्ने नयनी थिएँ म सायद । त्यसैले झुमिरहन्थे भँवराहरु ।
तिनै भँवराहरुमध्ये एउटाको नाम थियो रमेश अर्थात् साहिल्दाइ । हो, मेरो पन्द्र–सोह« बर्षे यौवनमा फक्रिन थालेको कोपिलाको बासना पिउन खोज्ने, साहिल्दाइ । मेलापात, ग्वाला, घाँस–दाउरा होस् या स्कुल । देउसीभैलो, राममेला, सराँय, पूजा–आजा होस् या विवाह–व्रतबन्ध सधैं ममताको पखेटाले ओत दिइरहन्थे । यथार्थमा अभिभावक र बासनामा झुम्ने भँवरा दुबै थिए उनी ।
एकै ठाउँ बेशी खेत र खो¥याबारी, एउटै गाउँ, पानी पँधेरो, चरिचरन, वनपात, स्कुल, र बाटो । एउटै भाषा, संस्कृति र रहनसहन । सायद हामी दुबैको मन पनि एउटै थियो ! फरक थियो त मात्र टोल, घर, उमेर र लिङ्ग । तर एउटै जीवनयात्रा लेखेको रहेनछ भाग्यमा । उफ् कस्तो बिडम्बना ! त्यसरी हुर्केको बालापन, आज चार दशकसम्म एक पटक पनि देखाभेट हुन नसक्नु बिडम्बना नभएर के हुन सक्छ त ? अब पछाडी फर्किनुको के औचित्य ? तर अतीत बिर्सिइदो रहेनछ । प्रातःस्मरण भैरहन्छ । ताजै छ ।
वि.सं. २०३० सालको तिहार हो । तिहारको पर्सिपल्ट चितीखोलाको सराँय राम हेर्न गयौं ।

सँगै डुल्यौं, घुम्यौं, जलेबी खायौं, किनमेल ग¥यौं र चर्खेपिङ खेल्यौं । मेला अवलोकन गरेपछि छिट्टै फर्किने सल्लाह भयो । टाढा–टाढाबाट आउनेहरु काँक्रीवियाँ र मखमलीको माला पहिरिएर छातीमा छड्के मादल, हातमा मजुरा, गोडामा घमौरा र ओंठमा बाँसुरीको ताल, गहुँ छरेको खेतमा धुलो उडाउँदै, नाच्दै, गाउँदै मेलातिर लम्किदै थिए । तिनीहरु भोलिको शिवालयमा लाग्ने प्रदर्शनी मेलासमेत हेरेर फर्किनेहरु थिए ।
हामी मिठा–मिठा कुरा गर्दै, रोमाञ्चित हुँदै एकान्त बाटो पहिल्याउन थालेका थियौं । जेठाबाको छोरी दिदी र म थियौं । दाइहरु पनि दुबैजना थिए । बेला–बेला म अलिबेशी भावुक हुँदी रहेछु क्यारे । रमेशले प्रसंग बदलेर सहज बनाउँथें । किनभने उनलाई थाहा थियो मेरो भावुकताको कारण । मेरो दाजु कृष्ण बितेको पाँच बर्ष भैसकेको थियो । दाजु हुँदा यसरी नै चार जना हुन्थ्यौं मेलामा । आज पनि चारैजना थियौं । तर मेरो दाजु सम्झनामा मात्र थिए आज । दाजुको सम्झनाले चिमोटिरहन्थ्यो मेरो मन । रमेशको दाजु र दिदी बेला मौकामा छिल्लिन्थे, अस्वाभाविक हर्कत गर्थे । हामी लजाउँथ्यौं र एक अर्काको आँखामा आँखा मिलाएर अलिपछि हुन्थ्यौं । रमेशलाई उछृङ्खल शब्द र व्यवहार पटक्कै मन पर्दैनथ्यो । म त झन उनकै मुखमा पनि हेर्न सक्दिनथें ।

यस्तै गर्दा–गर्दै बाग्दुला काल्न्यावरको चिया पसलमा पुग्यौं । बाजेले हामी सबैलाई चिन्नुहुन्थ्यो । नमस्ते ग¥यौं । कति महङ्गो थियो पैसा ! एक रुपियाँको कुंडे बसाउने चार कप चिया र एक रुपियाँको आठ वटा पकौडी । खाँदै थियौं, बद्री सुनार र उनका काकामाथि आक्रमण भयो । चिसबाङ पञ्चायतको ठूलै समूहमा नाचगान गर्दै आएको साँस्कृतिक टोलीले ग¥यो आक्रमण । कारण थियो छुवाछूत । पसलमा चिया पिइरहेका काका भतिजालाई ठाउँ छोड् भनेर होच्याइयो । बद्रीले जवाफ दिए, के तपाइँको पसल हो र ठाउँ छोड्नु ? बस्नुस् न अरु पनि बेञ्च खाली छन् ।
विवाद बढ्यो । हातपाई भयो । काका दुइ–चार झापट पाएपछि नर्भस भए । उनी पच्चिसौं बर्ष भारतमा बसेर भर्खर मात्र नेपाल आएका थिए । तर बद्रीले लड्यो । चार÷छ जनालाई त मानेकै थिएन, सयौं मान्छे एउटैमाथि जाइलाग्दा के लाग्थ्यो र ! रानी कुलोमा चोबल्दै पिट्दै गरे । बद्री स्थानीयको सहयोगमा एउटा बाहुनको पसलभित्र पस्यो र बच्यो ।
बद्री पिटिएको खबर राँइ–झाँइ फैलियो । पछि नजिकै कतै जुवा खेलिरहेका प्रेम सुनार (लामघारे)ले आफ्नो भतिजो मरणासन्न हुनेगरी पिटिएको खबर सुनेर हातमा बलियो कटिबाँसको लौरो नचाउँदै आइपुगे र ललकारे– सानो जाति भए पनि कसको कमाइ खाइदिएका छौं र ? को होस् मेरो भतिजोमाथि आइलाग्ने, मर्द होस् भने आइज, एक–एक गरेर आइज ।
साँस्कृतिक जत्थामा एकजना २२ हाता जानेको लाठीबाज मान्छे रहेछ । उसले लाठीको सहाराले लामघारेमाथि आक्रमण शुरु ग¥यो । उसको पछि–पछि सयौं मान्छेहरु ढुङ्गा, डल्ला र झटारो प्रहार गर्दै जाइलागे । प्रेमले मुख्य प्रतिस्पर्धी २२ हातेसँगै मुकाबिला ग¥यो । उसले प्रहार गर्ने र अर्कोले बचाउ गर्ने गर्दागर्दै कटिबाँसको लाठी झरा–झरा भयो । अन्तमा प्रेमले लाठीचार्जवालालाई अगाडि गर्धनबाट हात पछाडि पु¥याई कम्मरमा समात्यो । खुट्टा माथि बनाएर उचालेर दौडाई रानी कुलोमा फालिदियो र आफु कुलो फड्केर पारी उभिई आम स्थानीय जनतालाई आह्वान ग¥यो– के हेर्दै हुनुहुन्छ तपाइँहरु ? एक जनामाथि सयौं जना लागेर ज्यानै लिन खोज्दा पनि मुकदर्शक बन्न सुहाउँछ र ?
म थरथर कामेर रमेशको पाखुरो समातेकी थिएँ ।

हामी निलकण्ठ पण्डितबाको घभित्र पस्यौं । कौशीबाट त्यो संग्राम हेरियो । मत्थर भएपछि आफ्नो बाटो लाग्यौं । दिदी र दाजु, म र रमेश छुट्टाछुट्टै हिड्न थालिसकेका थियौं । उनीहरु हामीसँग लजाउँथे र हामी तिनीहरुसँग । भेट हुँदा सँगै तर समय बिताउँदा बेग्लै भए नै जाती लाग्थ्यो । मलाई दिदीको डर थियो र दिदीलाई मेरो । दाजुभाइमा पनि त्यस्तै थियो । हामी उस्ता–उस्तै थियौं । दुइ भाइका छोरी दिदी बहिनी र दुइ भाइका छोरा दाजुभाइ । एकान्त बाटो प्रयोग गर्दै ठाढ्ढुङ्गे कुमालको झालोमा पुग्यौं । पिपलको रुखमुनि छायाँमा बिसायौं । मैले दुइ दाना सुन्तला झिकेर एउटा दिदीलाई दिएँ र एउटा आफै छोडाउन थालें । दिदीले सोध्नु भो, ‘रुमा तैंले एउटा सुन्तला क–कसले खाने भनेर दिएकी होस् ? मैले लाज मानें । मलाई भन्न मन लागेको थियो, मैले तिमीलाई दिएकी छु जसलाई मन लाग्छ खुवाऊ, तर बोलिनँ । पुलुक्क रमेशको अनुहारमा हेरें । रमेशले भने, ‘ठूली नानी तिमी र दाजीले त्यो खानू, रुमा र मैले यो खान्छौं हुँदैन र ?’ सबै गलल हाँस्यौं । म पनि लाजै नमानी हाँसेछु के, अहिले पो सम्झिन्छु त । आज सबै भेट भएर यिनी कुरा गर्ने हो भने कति आनन्द आउँथ्यो होला । दिदी शहरिया बनेर दिनहरु कसरी बिताएकी छन् कुन्नी ? दिदीलाई मन पराउने माहिल्दाइ त यतै हुनुहुन्छ, कहिलेकाँही भेट हुन्छ । तर रमेश दाइ… । देउखुरी रे, कता हो कता ?
सुन्तला खायौं । दाइ र दिदी सुन्तला खाँदै झालो छिरेर ठाढ्ढुङ्गे गाउँतिरै जानुभयो । रमेश र म मात्रै थियौं त्यहाँ । ढुङ्गामा बसेर गफ गर्दै थियौं । त्यत्तिकैमा रमेशले भने, ‘तिनीहरु त कुन्नि कता गए, अब हामी कता जाने हो नि ?’ मैले हल्का ढङ्गले भनें, ‘यस्तो राम्रो शीतल छोडेर कहाँ जाने नि, तिनीहरु जहाँसुकै जाऊन् । आमै…ई… ! रमेशले मेरो आँखामा कस्तो लोभिएको नजरले हेरेको ? के मा लोभिएको होला त्यसरी ? म त सिधा आँखाले हेर्न पनि सकिनँ, साँच्चै । ऐले भर्खर चितुवाले झैं झम्टिन्छन् कि जस्तो गरी हेरेको । म अझैं अनाडि नै रहिछु क्यारे, रमेशको आँखाको भाषा बुभ्mन सकिनँ मैले । घोप्टे मुन्टो लगाएर आफ्नै गोदमा हेरिरहें । रमेशले आफ्ना दुबै हातले मेरा गालामा च्याप्प समातेर मेरो नजर उठाएर आँखामा आँखा जुधाउँदै भने, ‘रुमा, अब यसरी तड्पिएर छुट्टै बस्न सकिदैन ।

तिमीले यही पिपलको रुखमुनि मलाई बचन देऊ कि आज उप्रान्त हामी दुबै सँगै बस्छौं, सँगै बाँच्छौं र सँगै मर्छौं । खयालख्यालैमा यत्रो ठूलो प्रस्ताव आउला भन्ने सोच्दै नसोचेकी म थरथरी काम्न थालेछु । अक्क न बक्क परेर रमेशको आँखामा हेरेको हे¥यै भएछु ।
रमेशले मुसुक्क हाँस्दै भने, ‘किन डराएकी तिमी ? दुनियाँले विवाह गर्छन्, कोही आफै र कोहीले घरसल्लाहले, आखिर जसरी गरे नी लोग्ने स्वास्नी हुने त एउटा केटा र एउटी केटी नै हो । मैले भनेको पनि त्यहीं त हो नि । तिमी डराउनु पर्दैन ।’ रमेश यतिबेला अलिबेशी भावुक मुद्रामा देखिएका थिए । मैले उनको भावुकता नियालें र हौसला दिदै भनें, रमेश दाइ, किन निरास देखिनु भा’को ? आखिर मेरो उमेर पनि त यति छिटो निर्णय गर्न सक्ने भएको छैन नि । घरबाट विवाह गरिदिने कुरा करैले पनि मान्ने चलन छ तर आफैले गर्नलाई किन पो हतारिनु प¥यो र । घरमा आउनुस् बा–आमासँग कुरा राख्नुस् मैले के नाइँ भनेकी छु र ?’
उनले लामो सास सुस्कारेर भने, ‘रुमा मलाई आज मेरो प्यारो साथी लंगौटिया यार कृष्णको जातिविती सम्झना आएको छ । उनैसँग तिम्रो घरमा जाने, खेल्ने, खाने, बस्ने सुत्ने गर्दागर्दै तिमीसँग मात्र होइन, कान्छीआमा कान्छाबा अरु भाइबहिनी सबैसँग मेरो उत्तिकै माया बसेको छ । कृष्णले हामी खेल्दा केटाटीमै भन्थे, ‘रमेश तँ सँग मैले मेरी बहिनी रुमाको विवाह गरिदिन्छु । हो, सत्य हो । धरोधर्म रुमा, मैले तिम्रो कसम खाएर भन्छु कृष्णले यसै भन्थे ।

म त्यही मेरो साथीको भावनाको सम्मान गर्न यो हिम्मत गरेको हुँ, त्यसो त तिमी राम्री छौ, असल छौ र पढेकी पनि छौ, तिम्रो विवाह कुनै ठुलै घरानामा पनि हुन सक्छ ।
रमेशको भावुकता र मेरो दाजुको सम्झनाले म केही बोल्न सकिनँ । एकान्त, शान्त र शीतल छहारीमा बसेर प्रितिका कुरा गर्दागर्दै समयले नेटो काटिसकेछ । मिरमिरे अँध्यारोमा हात समातेर उकालो चढ्दै मिठा कुरा गर्दै र हल्का तरङ्गित हुँदैमा हाम्रो डोहा आइपुगेछ । ल तिम्रो घर आइपुग्यो अब म जान्छु है त भन्दै मेरा दुबै हात चपक्क समातेर छोड्दै घरतिर लागे रमेश दाइ ।
भोलि एकदिन मात्र आराम गरेर पर्सी रमेश दाइ रोल्पातिर मास्टरी गर्न हिडेछन् । करिब डेढ महिनापछि मिनपचासको बिदामा आएको बेला हाम्रो घरमै आए । उनी आउँदा हाम्रो दाइ आएजस्तै खुशी हुन्थिन् आमा । कहिलेकाँही त ग्वाँ–ग्वाँ रुन्थिन् पनि । रमेशले भन्थे, ‘म तिम्रो घरमा आयो भने कान्छीआमा रुन थाल्छिन् त्यसैले आउन मन लाग्दैन । गाउँघरको नाता थियो हाम्रो दाजु बहिनी भन्ने ।
मिनपचास पूरा नहुँदै रमेश दिल्लीतिर हानिएछन् । दिल्लीमा दुइ बर्ष बस्दा खबर पठाइरहन्थे । एक÷दुइपटक त चिट्ठी पनि पठाएका थिए । लेखेका थिए, रुमा तिमी त्यहाँ भए पनि मेरो मुटुभित्र लुकाएर राखेको छु । तिमी भन्थ्यौ, म अझै सानै छु । तिमी कहिले ठुली हुने हौ ? मलाई खबर पठाउनू, म तुरुन्त हाजिर हुनेछु ।
आजभोलि गर्दागर्दै दुइ बर्ष बितेछन् । आखिर समयले मानिसलाई पर्खिदो रहेनछ । समय त आफ्नो रफ्तारमा दौडेको दौड्यै…। म घाँस दाउरा, मेलापात र ग्वाला हिंडेर समय कटाइरहेकी थिएँ । दुइ–चार अक्षर चिनेपछि छोरीहरुलाई स्कुल छुटाइहाल्ने चलन थियो ।

मैले पनि पाँच कक्षा पास गरेर स्कुल जान छोडिसकेकी थिएँ । बेला–बेलामा खबर या चिठ्ठी नपठाए पनि त हुन्थ्यो नि, झ–झल्को मात्र लागिरहने, तर देखाभेट हुँदै नहुने । सम्झनाले मात्र मायाको प्यास मेटिंदो रहेनछ ! मेरा आँखा तत चौतारातिरै तानिइरहन्थे । ढाकाटोपी लगाएर गाउँतिर उकालो लाग्दै गरेको रमेशलाई देख्ने अभिलासा मनभरि बोकेर । बैशाखको आधा–आधीतिर स्यानो–स्यानो बाकस बोकेर उकालो चढ्दै गरेको लाहुरेलाई देखें मैले ।
खेतीपातीको समय थियो । तैपनि बेलामौकामा मिठो भलाकुसारी गर्न भ्याउथ्यौं हामीहरु । गोरु हली र खेताला परिम लगाउने चलन थियो । रमेश हाम्रो रोपाइमा हलगोरु लिएर आए । हाम्रा खेतहरु साँध मिलेका थिए । खेत र धर्मावती नदीको दोसाँधको काल्ढुङ्गामा अर्नी कुरेर छाता ओढी बसेकी थिएँ । आमा एकैछिन रोपाराहरुसँग बाली गीत गाउन गाथिन् । रमेश पानी खान आए । म एक्लै थिएँ । मेरो मुटु ढक्क फुल्यो । तिनले के भन्छन् ? मैले के जवाफ दिनी हो ? आत्तेजस्तो, हस्केजस्तो, कस्तो–कस्तो भयो मेरो मन । उनी सरासर आएर उभिएरै भने, ए रुमा पानी पिवाऊ त ।

हली र कोदालेहरु आलो–पालो अहर्नी खाएर जान्थे । उनलाई पनि अहर्नी खुवाएर पठाउने विचारले मैले सहजै भने, पानी मात्रै ! लोग्ने मान्छे न ठहरे, उनले झन सहजै भने, प्यास त मलाई अरु पनि लाग्या छ, तर तिमीले अहिले मलाई पानीभन्दा अरु पिवाउन सक्दिनौ । म झन अलमलमा परें । उनको मुखमा नहेरी टपरीमा बिरौला, लुच्चाँइ, फुर्से रोटी, पोवा, उसिनेको फर्सी र बहुतोमा आलु–प्याज र तिमिलाको अचार अनि आम्खोरामा पानी सँगै टकारें । भोक त लागेकै थियो होला, एकाबिहानैे खाना खाएर गाउँबाट हिड्थ्यौं हामी सबै गाउँलेहरु । उनले खान थाले । म मुसुमुसु हाँसेछु क्यारे । किन हाँसेको ? उनले सोधे ।
दिल्लीको लाहुरे जोसमा खोकमा गोरु छम्काको देखेर अघिदेखि हाँसो उठेको छ मलाई । अहिले त झन् ठिंगारे बनेर तरुनीहरु भातिर बिउको मुठा छ्यापछ्याप्ती फाल्ने, कि कसो हो ठिंगारे दाइ जिस्क्याइदिएँ मैले । चुप ! भनेर आँखा तरे उनले । आमै…इ…। कस्तो तिखा आँखा बनाएर हेरेको मेरो अनुहारमा ! मैले पनि मज्जाले जवाफ दिए, उइलै हो ए अब तड्पिएर बस्न सक्दिनँ भनेको त, के को चुप हो, म के बाल्ख छु र ?
उनी आइरहन्थे हाम्रो घरमा । मेरो दाजु हुँदा आधा महिना हाम्रो घरमा त आधा महिना उनकै घरमा सुत्ने र प्रायः एउटै थालमा खान मन पराउँथे तिनीहरु । खेतीको काम सकिएको थियो । ग्वाला गएको बेला मिल्थ्यो समय भेट हुने । त्यहीं बेला उनले भनेका थिए अब साहिल्दाइ होइन, रमेश भनेर बोलाउनू, मात्र रमेश । तर मैले रमेशको पछाडि दाइ झुण्ड्याउन छोडिनँ ।
आजभोलि गर्दै असारको महिना छोटिदै गयो । एकदिन बिहानै हाम्रो घरतिर आउदै रहेछन् रमेश । म पँधेरामा थिएँ, एक्लै । सञ्च आरामको कुरापछि हतारिदै उनले भने, रुमा, म अहिले खाना खाएर काठमाडौं जाँदैछु, सायद सैनिकमा भर्ति हुन्छु होला । यदि भइन भने छिटै आउँछु । अब त तीजको रमाइलो पनि शुरु हुँदैछ, त्यहीबेला बसौंला, मैले तिमीलाई बिर्सने छैन, तिमीले पनि नबिर्सनु है ! भन्दै फरक्क फर्केर हिडे । हिडेपछि पछाडि हेर्न सकेनन् । मैले पनि लम्किरहेको उनको पिठ्युँ हेरिरहें । आजसम्मै हेर्दै रहें । त्यतिबेला मेरा परेलीबाट बलेनी वर्षेर कुवामा मिसिइरहेका थिए । जुन कुवाबाट म पिउने पानी भरिरहेकी थिएँ ।
दुइ बर्षपछिको असार महिना थियो । म गजक्क चुँदरीको पटुका कसेर चौबन्दी चोलोका माथिका तुना नबानिकन फल्याङ–फल्याङ छोडेर डोकोमा पानीको गाग्रो बोकेर उकालो चढ्दै थिएँ । विवाहमा सिलाएको चौबन्दी सुत्केरी हुँदा स्तनका कारण तुना बाँध्न मिल्दैनथ्यो । मैले त को आउँदै छ र को जाँदैछ ख्यालै गरेकी थिइनँ । मलाई पैतालिस दिने छोराकै ध्याउन्न थियो ।
एक्कासी चिनेजस्तो बोली सुनें । आफ्नै मान्छेजस्तो लाग्छ को हो यो ? म घचक्क उभिएँ र हेरें अनुहारतिर । गाग्रीको ओजनका कारण मैले ठाडो शीर गराउन मिल्दैनथ्यो । छड्के नजर लगाएर रमेशको अनुहार नियालें र भनें, ‘ढोगदें दाजी कहिले आउनुभयो ?’ ‘हिजो राती ।’ उनको आवाज थर्थराएको थियो । केही बोलेनन् । मैले खुलै छोडेका चौबन्दीका तुनाको टुप्पा समातेर मेरो हातमा थमाइदिए र केही नबोली हिडे आफ्नो बाटोतिर ।
म बेहोस भएछु । मैले घर पुगेर गाग्री गग्रेटोमा बिसाउनुपर्ने थियो तर छोरो सुताएको पलङमा पो बिसाएछु । आमा हतारिएर आइन् र डोको समाउँदै भनिन्, ‘के बौलाउन मोर्छे यो रुमी, बाल्खलाई झन्नै च्यापिनँ ।’ बल्ल मेरो होस खुल्यो । चट्चटी पसिना आयो । आमालाई भने, ‘चोलो यस्तै थियो । रमेश दाइसँग भेट भयो । म त लाजले बेहोसै भएछु आमा । तिमी यहाँ नभा त मैले बाबुलाई नै गाग्रीले च्याप्थे कि क्या हो नि ?’ रमेश र आमाको अपनत्व छुट्टै थियो । आमाले रमेशको अनुहारमा मेरो दाजु कृष्णको बिम्ब देख्थिन् । मेरो र रमेशको आत्मीयताबारे पनि आमा अनभिज्ञ थिइनन् । आमा केही नबोली ग्वाँ–ग्वाँ रुन थालिन् । पँधेरा आउँदा आमालाई भेटेर फर्केका रहेछन् उनी । म एकान्तमा गएर घोप्टिएँ ।
एक महिनाको बिदा लिएर आएका रमेश हप्ता दिनमै हाजिर हुन गए रे भन्ने सुनें मैले ।

मेरै लागि आएका थिए उनी, मात्र मेरा लागि । विडम्बना ! हुनी हुनामी भैसकेको थियो । म अरु कसैको छोराकी आमा भैसकेकी थिएँ । रमेशले मलाई र मैले उनलाई बिर्सनुको विकल्प थिएन । हामी दुबैले एकअर्कालाई भुल्यौं । सम्झनामा रहे पनि जीवनयात्राको बाटो चाहिँ बिस्र्यौं । मैले जीवनसाथी गुमाएको सात बर्ष भैसक्यो । उमेरले पचपन्न काटिसकेकी छु । कपाल पनि सेताम्य बुकी फुलेको पाखोजस्तै भैसकेको छ ।
सुनेकी थिएँ, रमेश दाइ सुखी छन्, खुशी छन् । भरिलो जीवनसाथीको अंगालो अनवरत पाएका छन् । स्वस्थ छन्, सबल छन् र सन्तुष्ट पनि । मैले आफूलाई फर्किएर हेर्न चाहदिनँ । छोरा–बुहारी, छोरी–ज्वाँइ, ना–नातिना सबै छन् र त म पनि बाँचेकै छु । जीवन बाँच्नका लागि मैले कहिल्यै रमेशलाई सम्झिनु परेन । तर आज म यो के देख्दैछु मेरो मनको बगैंचामा ?
रमेश दाइ ! हो, तपाइँ त्यही रमेश दाइ अर्थात् साहिल्दाइ । दर्शन दिनु भो, धन्य भयो मेरो जीवन । आज ममा न रस छ, न बासना । न सुगन्ध, न महक, न कुनै इच्छा पनि । न हाँसो न रोदन न विस्मात । छ यदि भने मसँग मात्र सम्झनाको तरेलीमा भुनभुनाउने भँवराको बिम्ब । हो, म त्यही इतिहास बनिसकेको भँवराको बिम्ब हेरेर आफ्ना बाँकी दिनहरु बिताइरहेकी थिएँ । तर, तर आज उही भँवरा चार दशकपछि मेरो अगाडि प्रत्यक्ष उभिएको छ, स्वागतम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *