दाङमा सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न प्रहरी परिचालन

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख २१, २०७५       | 671 Views   ||

जनउभार समाचारदाता
घोराही । गृहमन्त्रालयको निर्देशन पछि जिल्ला प्रहरी कार्यालय दाङले सिण्डिकेट पक्षधर यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

दाङका प्रहरी प्रमुख (एसपी) दुर्गा सिंहले सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिइन् ।

‘हामी सिण्डिकेट पक्षधर यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तत्काल पक्राउ गर्न मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुलाई निर्देशन दिइसकेका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्देशन पछि दाङमा रहेका यातायात व्यवसायी समितिहरुले आज जिल्लामा चल्ने छोटा तथा लामा दूरीका यातायात बन्द गरेको छ । तर, प्रालीका गाडीहरु भने विहानै देखि चलिरहेका छन् । समितिका गाडी नचलेपछि यात्रुहरु सास्तिमा परेका छन् ।
यसैबीच

सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका देशभरका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ ।  गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।

यातायात क्षेत्रमा  हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

यस्तै प्रहरीले बुटवल यातायात वयवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

प्रहरीले काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

त्यस्तै  नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *