अब गरिव जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्छ

  
  प्रकाशित मितिः बुधबार, बैशाख २६, २०७५       | 3111 Views   ||

शान्ता चौधरी
सभासद्
सचेतक नेकपा एमाले

पूर्व कम्लहरी समेत रहेकी सभासद् शान्ता चौधरी आम विपन्न वर्गका जनताको जीवनस्तरमा सुधार ल्याउनु यो सरकारको प्रमुख कार्यभार भएको बताउँछिन् । मुलुकको दीगो विकास र समृद्धिका लागि दुई ठूला वामपन्थी दलहरु एकतावद्ध हुन थालेको उनको भनाई छ । नेकपा एमालेकी सचेतक समेत रहेकी चौधरीसँग नौलो जनउभारका कार्यकारी सम्पादक पाण्डव शर्माले समसामयिक विषयमा गरेको कुराकानि : सम्पादक

 

तपाई मुलुकको सबैभन्दा ठुलो दल नेकपा एमालेको सचेतकमा चयन हुनुभएको छ । कस्तो अनुभूति भएको छ ?

हाम्रो पार्टीले मेरो विश्वास र कामको मुल्याङ्कन गरेर पार्टीले मलाई यो देशको सबैभन्दा ठूलो दलको सचेतक दिएको जस्तो लाग्छ । मलाई गर्न सक्छ भनेरनै सायद दिएको होला । मलाई पार्टीले जसरी सचेतकको जिम्मेवारी दिएको छ । त्यसरी म मा थप जिम्मेवारी थपिएको छ । यो जिम्मेवारीको खुसीसँगै मलाई काम गर्न सक्छु या सक्दिन भन्ने थप चिन्तित पनि भएको छु । किनकि सचेतकको जिम्मेवारी पहिलो पटक सम्हाल्ने अवसर पाएको छु,त्यो पनि देशको ठूलो दलको । जब म सचेतक भए त्यसपछि पहिला भन्दा अलि फरक महशुस भइरहेको छ । हुन त यसभन्दा अघि प्राकृतिक स्रोत,साधन समितिको सभापति भएरपनि काम गरे तर त्यो भन्दा सचेतकको जिम्मेवारी फरक हुँदोरहेछ ।

एकजना पूर्वकम्लहरी छोटो समयमै सांसद, दलको केन्द्रीय सदस्य हुँदै सचेतक बन्न सफल हुनुभएको छ, यो कसरी सम्भव भयो ?

संसारमा असम्भव भन्ने कुरा कुनै चिज छैन । म त एउटा उदाहरण हो । तपाईं हामीले समाचार पढैकै छौ, सुनेकै छौ, हिजो चिया बेच्ने व्यक्ति हाम्रो छिमेकी देशको शक्तिशाली प्रधानमन्त्री भएकाछन् । यस्तै उदाहरणहरु धेरै छन् । मूख्य कुरा केहो पार्टीभित्र निरन्तरता, लगनशिलता, इमान्दारिता, धैर्यता र जनता प्रति उत्तरदायित्व बहन गर्नु सक्नुपर्छ  । मैले यहि कुरालाई मनन गरेर मेरो पार्टीमा लागेदेखि निरन्तर पार्टी, जनताको लागि काममा खटि रहे । र,मेरो योगदान, लगाव, म प्रतिको विश्वासलाई कदर गर्दै मेरो पार्टीले यहाँसम्म ल्याएको हो ।

तपाई संविधान सभाको सदस्य भइसकेपछि पढ्न थाल्नुभयो । पढाईलाई कुन तहसम्म पु¥याउनु भयो ?

हो, म संविधानसभाको सदस्य भएपछि पढ्न शुरु गरेकी हुँ । जब म सभासद् भएर संविधानसभामा प्रवेश गरे, त्यहि बेला मलाई धेरैले औंठा छाप सभासद् भनियो । यो सुन्दा मलाई धेरै दुःख पनि लाग्यो र यसलाई स्वाभाविक रुपमा पनि लिए । किन कि आंैठा छाप सभासद् नै थिए । तर, म औंठा छाप मेरो कारणले भएको भने होइन । मेरा विविध समस्या थिए । मलाई पढ्ने धेरै रहर थियो तर म पढ्ने सयममा अरुको घरमा कम्लहरीको रुपमा काम गरिरन्थे । मलाई पढ्ने इच्छा नभएको पनि होइन । पढ्नैका लागि नरोएको पनि होइन् । तर म जति रोए, कराएपनि त्यो बेला असम्भव थियो ।
त्यो बेला म स्कूल नपुगेको दिन भने थिएन, सधैजसो म स्कूल समयमा जमिन्दारहरुको वालवालिकालाई लिएर स्कूल पुग्थे । जब स्कूलको गेटमा म पुग्थे, त्यतिबेला जमिन्दारका छोराछोरी गेट भित्र छिर्थे म भने गेटमै पुगेर फर्किनु पथ्र्यो । त्यहिबेला मलाई जिन्दगीको सबैभन्दा ठूलो पिडा हुने गथ्र्याे । स्कूल जान बेला झोलाभरि किताब बोक्न पाउदा निकैं रमाउथे सायद म पनि विद्यार्थी हुन पाएको भए त्यसरीनै पढ्ने थिए तर त्यो मेरो लागि दिवासपना जस्तो हुन्थ्यो ।
पढ्ने उमेरमा कम्लहरी थिए । करिब १८ वर्षसम्म म कम्लहरी भए । त्यो पछि सभासद् भए । त्यहि सभासद् भएको औंठा छाप सभासद्बाट मुक्त हुनलाई मैले ढिलै भएपनि अहिले पढ्न शुरु गरेकी छु । दुई बर्ष अघि श्री डाँडागाउँ गोग्ली विद्यालयमा कक्षा आठमा भर्ना भए । भर्ना पछि पार्टीको काम बाहेकका दिन नियमित स्कूल गए र मेहनतका साथ पढे । र, कक्षा आठमा फष्ट पनि भए । अहिले कक्षा १० मा पढिरहेकी छु । यद्यपी नियमित क्लास भने लिन पाएकी छैन् । यो बर्षको एस.एस.ई.को तयारी घरमा बसेर गर्दै छु । दिनभरि पार्टी र जनताको काममा खट्छु । राती दुई घण्टा र विहान दुई घण्टा छोरासँग पढिरहेको छु ।

तपाई राजनीतिमा यति सफल हुनुमा मुख्य कुरा त तपाईकै लगनशिलता होला । यसमा सहयोगी पक्षहरु के रहे ?

हो, यहाँले भने जस्तै मेरो लगनसिलता नै हो । यो बिषयमा मैले अघि पनि भने । एउटा सफल नेता वा व्यक्ति बन्नका लागि सबैभन्दा पहिले निरन्तरता, लगनशिलता, इमान्दारिता र धैर्यता हो । त्यसमा राजनीति गर्ने मान्छेले यी चार कुरासँगै जनता प्रति सधै उत्तरदायी हुनुपर्छ । हामी राजनीति गर्ने व्यक्तिले यी कुरामा ध्यान दियौं भने ढिलो,चाँडो होला,अवश्य सफल भइन्छ अर्थात त्यो ठाउँमा एक दिन अवश्य पुगिन्छ ।

हिजो भूमिहिन, मुक्तकमैयाको अधिकारका लागि लड्दा,लड्दै तपाई राजनीतिमा प्रवेश गर्नुभयो । संविधान पनि लेखियो । के भूमिहिनका अधिकार स्थापित भइसकेका हुन् ?

यहाँले भने जस्तै मेरो राजनीतिक पृष्ठभूमि भनेको भूमिहिन कमैया,कम्लरीहरुको अधिकारका लागि लड्दा,लड्दै भएको हो । जब म यो क्षेत्रबाट मुलधार राजनीतिमा लागे । तबदेखि भूमिहिन,कमैया, कम्लरीको अधिकार सुनिश्ति भएको छ । म यहि वर्ग,समुदायको प्रतिनिधित्व गरी सिंहदरवार छिरेपछि हिजोका भन्दा धेरै फरक भएको छ ।
अहिले बनेको नयाँसंविधानमा भूमिहिन,कमैया,कम्लहरीहरुको अधिकार लेखिएको छ, सुनिश्चिता गरिएको छ । अब अधिकारलाई संस्थागत गर्नका निम्ति हामी सबै भूमिहिन, कमैया,कम्लहरीहरु एकताबद्ध हुन जरुरी छ ।

अझैपनि भूमिहिनहरुको उचित व्यवस्थापन हुन सकेको छैन । अब कसरी समस्या समाधान गर्नुपर्ला ?

मलाई लाग्छ, अब यी विषयमा धेरै टाउको दुखाई गर्नुपर्छ जस्तो लाग्दैन् । किनकि आदिवासी जनजाति, पछाडि पारिएका वर्ग, समुदाय, खासगरी भूमिहीन, कमैया, कम्लहरी, मजदुर, किसान तथा सिमान्तकृत वर्गको नेतृत्व गर्ने कम्युनिष्टहरुको सरकार बनेको छ । त्यसैले अबको केहि बर्षमा यसको समाधान हुन्छ । यो देशको सबैभन्दा ठुलो दल एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा नीति निर्माण गरेकाछन्, । त्यहि नीतिलाई टेकेर सरकार अगाडी बढ्यो भने २ बर्षभित्र सबैको समस्याको समाधान निस्किएला ।

प्रसङ्ग बदलौं, अहिले नेकपा एमाले र माओवादी केन्द्र बीच एकता प्रक्रिया शुरु भएको छ । एकताको आवश्यकता किन आयो ?

सहि प्रश्न गर्नुयभो । अहिले कम्युनिष्ट पार्टीहरुको एकता गर्ने दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मात्र नभई आम नेपाली जनताको चाहना हो । नेपाललाई समृद्ध बनाउनका लागि नेपाली जनताले कम्युनिष्टको सरकार देख्न चाहन्छन् । देशको मुहार फेर्नका निम्ति र आम नेपालीको जीवनस्तरलाई परिवर्तन गर्नका निम्ति दिगो सरकार बनाई देशको विकास र समृद्धिका लागि कम्युनिष्टको एकता आवश्यकता भएको हो । त्यति मात्र नभई नेपाली जनताको वलिदानले बनाएको संविधान,संघीयता लगायत अहिलेसम्म भएको उपलब्धीलाई संस्थागत गर्ने र बाँकी कुरालाई कार्यान्वयन गर्नको निम्ति पनि कम्युनिष्ट पार्टीहरुको एकता आजको आवश्यकता हो ।

पार्टी एकताका आधारहरु के के हुन् ?

कम्युनिष्टहरुको विचार, सिद्धान्त मिल्दोजुल्दो छ । दुबै कम्युनिष्टहरुको उद्देश्य देशमा दिगो विकास र समृद्धि ल्याउने हो । आम गरिवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हो । यी सबै कुरा मिल्दोजुल्दो भएकाले पनि हो ।

पार्टी एकतालाई दिगो रुपमा बचाई राख्न के गर्नुपर्ला ?

पहिला त दुई पार्टीमा भएका सहमति, प्रतिबद्धतालाई संस्थागत गर्नुप¥यो । दुई पार्टी एकता भइसकेपछि फलानो नेता त्यो पार्टीको यो पार्टीको भनि भन्नु भएन, गुटबन्दी गर्नु भएन । पार्टीको नीति, सिद्धान्तमा लागेर हामी सबै कम्युनिष्ट पार्टीका हौं भनि लाग्ने हो भने अवश्य पार्टी एकतालाई दिगो रुपमा लग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *