एमाले र माओवादी पार्टी बीचको एकतालाई कसरी लिनुहुन्छ ?

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 271 Views   ||

जनताको चाहना पुरा भएको छ
शम्भु गौतम, जिल्लाका
पुराना कम्युनिष्ट नेता

नेपाली जनताको लामो समय देखिको चाहना प्राप्त भएको छ । नेकपा एमाले र माओवादी केन्द्र बीच एकता हुनु निकै राम्रो हो । यो ऐतिहासिक आवश्यकता पनि हो । अन्र्तराष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेका वेला नेपालमा कम्युनिष्ट पार्टीहरु एकीकृत हुनु राम्रो कुरा हो । अहिले कम्युनिष्ट पार्टी निर्वाचनको माध्यमबाट दुई तिहाई सिट संख्या लिएर अघि आएकाछन् ।
नेपाली जनताले २००६ सालदेखिनै कम्युनिष्ट सरकार चाहेका थिए । कम्युनिष्टहरु मार्फत मात्रै जनताले आफ्ना अधिकार प्राप्त गर्न सक्छन् । समृद्धिको यात्राको नेतृत्व पनि कम्युनिष्टहरुले मात्र गर्न सक्छन् । अब कम्युनिष्टहरुले बिगतमा आफूले गरेका घोषणा र प्रतिवद्धताहरु कार्यान्वयन गर्नुपर्छ । पार्टी एकता अहिले विचार र संगठनको आधारमा भएको छ । यसलाई भावनात्मक एकतामा रुपान्तरणका लागि हामी सबैले आआफ्ना कार्यशैलीहरु परिवर्तन गर्न जरुरी छ । पुरानै कार्यशैलीबाट नयाँ पार्टी निर्माण हुन सक्दैनन् । स्वाभाविक रुपमा ठुलो पार्टी भइसकेपछि समस्या आउँन सक्छन् । तर, हामीले ती सबै समस्यालाई विधिवत ढंगले हलगर्दै जानुपर्छ । सबैले महत्वकांक्षा, संर्कीणता, पदलोलुपता र जडतालाई त्याग्न सकेको खण्डमा अघि बढ्न सकिन्छ । हामीले सामाजीक न्याय र आर्थिक पारदर्शिताको कुरा गरेका छौं । मुलुकमा आर्थिक पारदर्शिताका लागि सबैभन्दा बढि कम्युनिष्ट पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरु पारदर्शी बन्न जरुरी हुन्छ । हामीले पूर्वीयूरोपका घटनाहरुलाई अध्ययन गर्नुपर्छ । कम्युनिष्ट पार्टीहरु ठूला भनेर क्षण भरमै पतन भएकाछन् । हामी पतन भएर जानेकि अघि बढ्ने भन्ने कुरा मूख्य हो । पार्टीमा आर्थिक पारदर्शितालाई मुख्य एजेण्डाको रुपमा अघि बढाउनु पर्छ । पार्टीमा सबै निर्णय व्यक्ति केन्द्रित नभएर विधिसम्मत गरिनुपर्छ । आन्तरिक जनवादको अभ्यासलाई मजुबत बनाइनुपर्छ ।

कम्युनिष्टहरुमा सांस्कृतिक रुपान्तरण आवश्यक

सुशील गौतम, वाम विश्लेषक

नेपालका मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलन लामो समयदेखि टुट्फुट र विभाजनबाट गुज्रेको छ । कतिपय विभाजनहरु स्वाभाविक पनि थिए । विभिन्न सैद्धान्तिक विवादका कारण फुट् हुनु स्वाभाविक हो । तर, व्यवहारिक रुपमा मिल्न नसकेर सिद्धान्तको जलप दिई फुट तर्फ जानु ठिक होइन । नेपाली कम्युनिष्ट आन्दोलनमा यो मुख्य समस्या र चुनौतीको रुपमा देखाप¥यो ।

विशेषतः स्टालिनको मृत्यु पछि विश्व कम्युनिष्ट आन्दोलनमा दुई धार बीच मत भिन्नता हुँदै आएको छ । एउटा धारले शान्तिपूर्ण आन्दोलन मार्फत परिवर्तन गर्न सकिने कुरालाई अंगाल्दै आयो भने अर्को धारले बल प्रयोगको सिद्धान्तलाई अनिवार्य हुने कुरामा जोड दिदैं आयो । नेपालमा विगतमा भएको १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन मार्फत संविधान सभा प्राप्त भयो । संविधान सभाबाट संविधान जारी भइसकेपछि मुलुक नयाँ चरणमा प्रवेश ग¥यो । यो बीचमा बल प्रयोगको सिद्धान्तलाई अनिवार्य शर्त बनाएको तत्कालिन नेकपा माओवादी केन्द्र पनि शान्तिपूर्ण दलिय प्रतिस्प्रर्धामा आयो ।

माओवादीले विशेष गरेर हेटांैडा महाधिवेशन मार्फत जनवादी क्रान्ति पूरा भइसकेको संश्लेषण गर्दै अब समाजवादी क्रान्तिमा जाने कार्यदिशा पारित ग¥यो । तत्कालिन एमाले र माओवादी केन्द्रको मुलभुत रुपमा एउटै कार्यदिशा बन्ने भइसकेपछि फरक(फरक पार्टीमा बस्नुपर्ने कुनै औचित्यनै भएन । यो नेताहरुको चाहना मात्र नभएर वस्तुगत परिस्थिति र ऐतिहासिक आवश्यकता हो ।
नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख समस्या भनेको चरित्र सुधार हुन नसक्नु हो । नेता तथा कार्यकर्ताहरुमा पूँजीवादी चरित्र हावी हुनुले समस्या निम्ताएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीलाई भजाउने जुन प्रवृत्ति देखाप¥यो यसले समस्या सिर्जना ग¥यो ।

समस्या जे देखिएपनि एकताले आम राष्टूवादी जनसमुदायलाई निकै खुसी तुल्याएको छ । यो एकता राष्टिूय स्वाधीनताका लागि हुनुपर्छ । जनजीविका सवालमा कम्युनिष्ट पार्टीले आफ्नो व्यवहारमा सुधार ल्याउनै पर्छ ।

वामपन्थी र प्रजातान्त्रिक शक्तिहरु एकसाथ अघि बढ्नुपछ
भुपबहादुर डाँगी,नेता नेपाली कांग्रेस

दुई कम्युनिष्ट पार्टी एक हुनु निकै सकारात्मक कुरा हो । हाम्रो जस्तो देशमा दुई÷तीन ओटा भन्दा बढि पार्टीको कामै छैन । अब पार्टीहरु शक्तिशाली हुनैं पर्छ । पार्टीहरु शक्तिशाली भएको खण्डमा मात्रै देशको विकास हुन सक्छ ।

अब वामपन्थीहरुले राम्रो काम गरे भने लामो समयसम्म सत्तामा रहन्छन् । राम्रो काम गर्न नसकेको खण्डमा फेरी नेपाली कांग्रेस सत्तामा आउँछ । यसलाई हामीले स्वाभाविक प्रकृया मान्नु पर्छ ।

अहिले जसरी नेताहरुले वाम एकताले अधिनायकवाद आउछ भनिरहेका छन, त्यो सरासर गलत कुरा हो । पार्टीहरु बलियो हुँदा कहिले पनि अधिनायकबाट आउँदैन् । मुलुक र राष्ट्रिय,अन्र्तराष्ट्रिय परिस्थिति निकै बदलिएको छ । अहिले विगतको जस्तो चेतनास्तर जनतामा छैन । जनताहरु निकै सचेत भइसकेका छन् । वामपन्थीहरु पनि संविधान अनुसार चल्नैपर्छ । अर्को कुरा वाम एकता भइसकेपछि केन्द्रमा केही नेताहरुमा ठूलो पार्टीको दम्भ देखिन्छ ।

दम्भले आफैलाई नाश गर्छ । तर,दाङमा विगतदेखि विकास निर्माणमा सहकार्य हुँदै आएको छ । यहाँका पूर्व एमाले र माओवादी केन्द्रका साथीहरुसँग हाम्रो सहकार्य सौहार्दतापूर्ण ढंगल भइरहेको छ । अब पनि वामपन्थी र प्रजातान्त्रिक शक्तिहरु एक भएर देशको समृद्धि तर्फ लाग्नुको विकल्प छैन् ।

प्रजातान्त्रिक शक्तिहरु पनि एक हुनुपर्छ 
डिल्लीबहादुर रावत, नागरिक अगुवा

नेपाल जस्तो सानो मुलुकमा धेरै पार्टीको आवश्यकता छैन् । हाम्रो जस्तो मुलुकमा विकास गर्नका लागि शक्तिशाली पार्टीको आवश्यकता थियो । मुलुक लामो समयसम्म अस्थिर भयो । यहि कारणले कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा चलाउन पाएनन् ।

सरकार गठन भएकै दिनदेखि सरकारको आयुको दिन गन्ती शुरु हुन्थ्यो । सबै प्रधानमन्त्रीहरु देश कसरी चलाउने भन्दा पनि आफ्नो पद कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित हुन्थे ।

यहि कारणले गर्दा छिमेकीहरुले नाजायज फाइदा उठाइरहेका थिए । यहाँको प्राकृतिक स्रोत साधन दोहन भइरहेको थियो । हाम्रा छिमेकी मुलुक भारत र चीन आर्थिक रुपमा निकै अघि गइसकेका छन तर हामीमा अहिले पनि पछौंटेपन कायम छ । अब कम्युनिष्ट पार्टीका नेताहरुले बिगतमा आफूले व्यक्त गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्नुपर्छ । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नु पर्छ ।

विशेष गरेर पूर्वमाओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले आफ्ना कार्यशैलीमा सुधार गर्नैपर्छ । बिगतमा उहाँहरुले लामो संघर्ष गर्नुभयो । मुलुक परिवर्तन गर्न योगदान गर्नुभयो तर,अहिले उहाँहरु पार्टी कमिटी बनाउन गाउँमा जानु हुन्न । जनताका समस्या समाधान गर्न कहिले पहल गर्नु हुन्न । तर, निर्वाचन आउँदा सबैभन्दा पहिले आफ्नो पद दावी गर्नुहुन्छ । उहाँहरु जनयुद्धको ब्याज नेतृत्वसँग खोज्नु हुन्छ ।

राजनीतिमा ब्याज खाने भन्ने हुन्न । लोकप्रिय हुनका लागि जनता कहाँ संगठन गर्नै पर्छ । बरु पार्टीले त्यस्ता योगदान दिएका तर अहिले संगठन गर्न नसक्ने नेता तथा कार्यकर्तालाई सम्मानित ठाउँमा पठाएर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *