बाह्रै महिना च्याउ उत्पादन

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 319 Views   ||

सन्तोष अधिकारी,दाङ  ।

जिल्लामा बाह्रै महिना च्याउको उत्पादन हुने गरेको छ । व्यवसायीक रुपमा च्याउको उत्पादन थालेका कृषकले तापक्रम मिलाउन सकेका कारण बाह्रै महिना च्याउको उत्पादन गरिरहेको वताउछन् । कन्य च्याउ पनि बाह्रै महिना उत्पादन गरिरहेका कृषकले सिजनमा भन्दा अफ सिजनको समयमा उत्पादन कम हुने हुँदा माग धेरै हुने गरेको बताएकाछन् ।
तुलसीपुर उप(महानगरपालिका १७ का लिलाधर भण्डारी पत्रे खोला नजिकै जग्गा लीजमा लिएर च्याउको व्यवसायीक खेती गरिरहेकाछन् । उनले च्याउको खेति लामो समयदेखि गर्दै आएपनि व्यवसायीक खेती गर्न थालेको भने डेढ बर्ष भयो ।

घरमा खानको लागि एकदुई पोकामा च्याउको खेती गरेका भण्डारीले १२ महिना च्याउ फलाएपछि उनलाई व्यवसायीक रुपमा गर्न मन लाग्यो । खोला किनारमा १६ वटा टहरा निर्माणगरी उनले च्याउ खेती गर्दै आएकाछन् । व्यवसायीक रुपमै उत्पादन गर्न थालेका भण्डारीले रारा कृषि तथा च्याउ उद्योगको भनेर दर्ता समेत गरेकाछन् । च्याउ फर्ममा सदावहार च्याउ होस् भनेर उनले ८ वटा टहरामा एकपटक तथा अर्को पटक ८ वटा टहरामा च्याउको बीउ राख्ने गरेको वताउँछन् । अहिले उनको ८ वटा टहरामा ३५ सय च्याउका पोका छन् । व्यवसायीक रुपमा च्याउ उत्पादन गरिरहेका भण्डारीका अनुसार दाङ च्याउ उत्पादनका लागि राम्रो छ । कन्य जातको च्याउ उत्पादन गरिरहेका उनले बजारलाई पुग्ने च्याउ उत्पादन गर्न नसकिएको बताए ।

दैनिक रुपमा घोराहीको लागि ४० तुलसीपुरको लागि ४० र फर्मबाटै २० केजी विक्री भइरहेको उनले जानकारी दिए ।‘घोराही र तुलसीपुर बजारका व्यापारीहरुको मागलाई मैले धान्न सकेको छैन भने आफै बुझ्नुस माग कति होला’ भण्डारीले भने । च्याउको सिजनको रुपमा मंसिर देखि माघ महिनालाई बुझिन्छ । त्यतिवेला स(साना कृषकदेखि लिएर व्यवसायीकहरु सबैले च्याउको उत्पादन गर्ने गर्दछन् । सिजनको समयमा सबैले उत्पादन गर्ने भएकोले पनि च्याउको मुल्य पनि कम हुने गर्छ । सिजन बाहेकको समयमा भने उत्पादन कम हुने भएकोले मूल्य पनि धेरै रहेको उनले वताए । करिब १० लाखको लागतमा कृषि फर्म सञ्चालन गरेको भण्डारीले बताए ।

यस्तै घोराही १४ कि कमला देउजाले पनि च्याउ उत्पादन र विक्री वितरण गर्न लागेको लामो समय भइसक्यो । उनले पनि च्याउको बजार राम्रो देखेरै यतातिर हात हालेको बताइन् । अहिले आफ्नै आरके च्याउ उत्पादन केन्द्र र महिला जागरण कृषि समूहबाट च्याउ उत्पादन र विक्री वितरण गरिरहेको उनले बताइन् । ‘गतबर्ष मात्र हामीले ४ सय किलोग्राम च्याउ बजारमा बेच्यौ’उनले भनिन । करिब ७ लाखको लगानीमा शुरु गरिएको उनको च्याउ समूहले उत्पादन गरेको च्याउ जिल्लाकै बजारमा विक्री,वितरण हुने गरेको उनले सुनाइन् । ‘दाङ बाहेक रुकुम, रोल्पा,प्युठान र सल्यानबाट पनि माग भइरहेको छ तर उत्पादन गर्न सकिएको छैन’ देउजाले भनिन् ।

लिलाधर र कमला जस्तै व्यवसायिक रुपमा १ सय जना कृषकले च्याउ उत्पादन गरिरहेकाछन् । त्यस्तै ७ सय १३ जना कृषकहरुले सामान्य रुपमा थोरै उत्पादन गरिरहेको कृषि विकास कार्यालयको तथ्याङ्कमा छ । अहिले दाङमा दैनिक करीव १ क्विन्टल च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । त्यस्तै घोराही उपमहानगरमा पाँच वटा कृषि समुहले च्याउ उत्पादन गरिरहेकाछन् । त्यस बाहेक पनि कृषि उद्यमी र थोरै मात्रमा च्याउ उत्पादन गरेर बिक्री वितरण गर्ने धेरै छन् । घोराही उपमहानगर कृषि शाखाका प्रमुख भरतमणि पोख्रेलका अनुसार जिल्लामा च्याउको बजार मात्र होइन उत्पादन पनि राम्रो भइरहेको छ । बजारमा च्याउको अत्यधिक मागको कारणले कृषि कार्यालयले पनि बीउ, मल र प्रविधिमा कृषक एवं व्यवसायीलाई अनुदानको कार्यक्रम ल्याएको उनले बताए ।

यसबर्ष मात्र प्रति किसान २१ प्याकेट च्याउको बीउ कृषकलाई वितरण गरेको पोख्रेलले जानकारी दिए । ‘च्याउको बीउ, मल, उत्पादन सम्बन्धी जानकारी, प्रसोधन सम्बन्धी तालिमहरु पनि दिइरहेका छौ’ पोख्रेलले भने । अहिले जिल्लामा धेरै जसो किसानहरु व्यवसायीक रुपमानै च्याउ खेतीमा आउन चाहेको उनको भनाई छ । जिल्लामा व्यवसायीक रुपमै च्याउ खेती गरिरहेका किसानले बाह्रै महिना उत्पादन गरिरहेको पनि उनले जानकारी दिए । त्यस्तै अहिलेसम्म दाङमा अधिकांस कृषकले कन्य र दुधे च्याउ उत्पादन गर्ने गरेको र अब गोब्रे, सिताकी च्याउहरु पनि उत्पादन गर्नतिर चासो दिन थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *