अन्यौलमा सडक विस्तार

  
  प्रकाशित मितिः बुधबार, असार ६, २०७५       | 186 Views   ||

पाण्डव शर्मा, घोराही,  दाङको घोराही उप–महानगरपालिका र तुलसीपुर उप–महानगरपालिकाको सडक विस्तार कार्य अलपत्र अवस्थामा परेको छ ।‘अन्य शहरी सडक’ कार्यक्रमबाट केन्द्र सरकारले हात झिके पछि यो शीर्षक अन्र्तगत भइरहेको काम रोकिएको छ । यो शीर्षकको बजेटमा प्रदेश वा स्थानीय सरकारले कसले हेर्ने भनेर टुंगो लाग्न नसकेको मध्यपश्चिम डिभिजन सडक कार्यालय घोराहीका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिए । ‘बहुवर्षे योजना अन्र्तगत घोराही र तुलसीपुरमा सडकविस्तारको काम शुरु गरिएको थियो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा केन्द्र सरकारले यो शीर्षकमा बजेट नै विनियोजन गरेन ।’

अहिले निर्माण कम्पनीहरुले आफ्नै खर्चमा सुस्त गतिमा सडक विस्तारको काम गरिरहेकाछन् । चालू आर्थिक बर्षको चैतमा सडक विभागले अर्थ मन्त्रालयको सहमति लिई रकमान्तर गरेर केही रकम निर्माण कम्पनीलाई भुक्तानी गरेको थियो । घोराहीमा ६० लाख र तुलसीपुरमा ३० लाख रुपैयाँ खर्च गरिएको थियो ।

चार बर्ष पहिलेदेखि सडक विस्तारको काम शुरु भएपनि निर्माण कम्पनीका ढिलाइका कारण समयमै निर्माण सम्पन्न भएको थिएन । चालू आवमा झन बजेट नै नआएपछि काम गर्न अप्ठेरो परेको शर्माको भनाई छ । ‘केन्द्र सरकारले यो शीर्षकमा काम नगर्ने भइसकेको छ, अब प्रदेश र स्थानीयतह कसले गर्ने भनेर तत्काल निधो लाग्नुपर्छ,’ उनले भने ।
बहुबर्षे योजना अन्र्तगत घोराहीको कटुवाखोलादेखि सिटिप्लाजासम्म ११ करोडको ठेक्का लागेको थियो ।

त्यसैगरी सिटिप्लाजादेखि डिके पेट्रोलपम्प सम्म ४ करोडको ठेक्का हो । तुलसीपुरमा हात्ती खौवादेखि घोराही चोकसम्म सडक विस्तारका लागि ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अहिले बजेट विनियोजन नभएपनि निर्माण कम्पनीलाई काम नरोक्न निर्देशन दिइएको छ । ‘प्रदेश वा स्थानीय तह जसले यो शीर्षकमा काम गरेपनि निर्माण कम्पनीले पैसा पाउनुहुन्छ, ’शर्माले भने, ‘काम नरोकिए पनि निकै सुस्त गतिमा भइरहेको छ ।’ लामो समयसम्म सडक विस्तारको काम हुन नसक्दा धुलो र हिलोबाट नगरवासीहरु प्रभावित भएका छन् ।

स्थानीय व्यवसायी गगन केसीले समयमा काम सम्पन्न नहुँदा धुलो र धुवाँबाट वालवालिकाहरु निकै प्रभावित भएको बताए । ‘सबै ठाउँमा सडक विस्तारका लागि भौतिक संरचना भत्काउने काम भएको छ,’ उनले भने, ‘लामो समयसम्म निर्माणको काम सम्पन्न नहुँदा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।’

दाङमा लमही–तुलसीपुर सडक खण्डमा रहेका पुल निर्माणमा समेत ढिलाई भएको छ । समयमा पुल निर्माण कार्य नहुँदा यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ । समयमै काम सम्पन्न नगर्ने एक निर्माण कम्पनीलाई प्रहरीले नियन्त्रणमा लिएर छिटो काम गर्ने सहमतिमा छोडेको थियो । तर, अहिलेसम्म धेरै जसो खोलाहरुमा भइरहेको काम सन्तोषजनक हुन सकेको छैन । ‘हुन त पुल निर्माण सडक विस्तार भन्दा ढिलो नै हुन्छ तर, यसरी ढिलाई हुनु राम्रो होइन,’ शर्माले भने, ‘हामीले
समयमै काम सम्पन्न गर्न ठेकेदारहरुलाई ताकेदा गरिरहेका
छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *