प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 175 Views   ||

अभिमत
नेपालको शिक्षा प्रणाली कस्तो हुनुपर्छ ?

 

नेपालको शिक्षा नीति गुणस्तरीय छ
कृष्णराज डिसी,प्राचार्य पपनउमावि
घोराही, दाङ 

हामी राज्यका निकाय हौं । राज्यले अवलम्वन गर्ने सबै नीति कार्यानवयन गर्नु हाम्रो परमकर्तव्य हो । अहिले नेपालमा राज्यले अवलम्वन गरेकोे शिक्षा नीति अत्यन्त वैज्ञानिक,व्यवहारीक र गुणस्तरीय छ । यसलाई सफल बनाउनु हामी सबैको दायित्व हो । पहिले विद्यार्थी पास र फेल हुने गर्थे । अहिले सरकारले फेल हुने नीतिनै हटाएको छ । यसले गर्दा हाम्रो समाजमा बालबालिकाहरुमा भइरहको आत्महत्या घटेको छ । अब कुनै पनि विद्यार्थी फेल हुँदैन् । सबैलाई विजयी भएको अनुभुति हुन्छ । अरु ग्रेडको माध्यामबाट कुन ग्रेडमा उत्र्तीण भएको विद्यार्थीले कुन बिषय पढ्ने भनेर निधो भएको छ ।

यसले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई धेरै अवसर र नराम्रो नतिजा ल्याउने विद्यार्थी कम अवसर दिएको छ । यो राम्रो पक्ष हो । राज्यले जीवन उपयोगी शिक्षा लिएको छ । हाम्रा विद्यार्थीहरु अहिले संसारका सबै कुनामा प्रतिष्प्रर्धा गर्न सक्ने भएकाछन् । सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ । अहिले देशैभर धमाधम प्राविधिक शिक्षालयहरु खुलिरहेका छन् । ती शिक्षालयहरुबाट उत्र्तीण भएका विद्यार्थीहरुले रोजगारीका अवसरहरु पनि प्राप्त गरेकाछन् । उनीहरुले जीवन जिउने कला सिकेका छन् । नेपाल कृषि प्रधान मुलुक भएकाले सरकारले कृषि शिक्षामा पनि ध्यान दिएको छ ।

गाउँ,गाउँमा कृषि शिक्षालयहरु धमाधम खुलिरहेकाछन् । यी शिक्षालयबाट उत्पादन भएका जनशक्तिले अवश्य रोजगारीका अवसर प्राप्त गर्ने छन् । पछिल्लो घटना क्रमले भने हामी सबैलाई दुःखित तुल्याएको छ । परिक्षा नियन्त्रण कार्यालयले जसरी त्रुटीपूर्ण काम ग¥यो । यसका दोषीलाई सरकारले कारवाही गर्नुपर्छ । शिक्षा जस्तो यस्तो संवेदनशिल क्षेत्रमा यस्तो लापरवाही हुनु राम्रो होइन । राज्यले शिक्षामा मात्र होइन हरेक क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्नैपर्छ ।

शिक्षामा आमूल परिवर्तन आवश्यक
अरुणकुमार शर्मा, अध्यक्ष माउन्टभ्यु
वोर्डिङ, स्कुल

नेपालमा अहिले पनि शिक्षा प्रयोगकैं अवस्थामा छ । २०२८ सालदेखि कहिले पाठ्यक्रमको प्रयोग भइरहेको छ, कहिले पूर्णाङ्को प्रयोग भइरहेको छ । अहिलेसम्म ठोस रुपमा हाम्रो शिक्षा नीति कस्तो हुने भनेर निधो भइसकेको छैन । शिक्षालाई हामीले देशको आवश्यकता अनुसार मौलिक नीति तय गर्नुपर्छ । अहिले शिक्षा क्षेत्रमा राज्यले राम्रोसँग ध्यान पु¥याउन सकेको छैन । हामीले पछिल्ला बर्षको बजेटको चरित्र हेर्ने हो भने बर्षेनी शिक्षा बजेट घटिरहेको छ । जुन क्षेत्रमा बजेट बढाउनुपर्ने हो, त्यो क्षेत्रको बजेट घट्दै जानु विड्म्बना हो ।
अब नेपालमा प्राविधिक शिक्षाको विकास गर्नैपर्छ । अहिले दिइरहेको परम्परागत शिक्षाले मुलुकलाई सहि ढंगले अघि बढाउन सक्दैन् । प्राविधिक जनशक्ति हाम्रो देशका लागि आवश्यक हो । तर,अहिले उत्पादन भइरहेका प्राविधिक जनशक्तिले पनि उचित रोजगार पाइरहेका छैनन् । सरकारले रोजगारीका अवसरहरु सृजना गर्नुपर्छ । हामीले मुलुकको दीर्घकालिन गुरुयोजना बनाएर शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ ।

नेपालमा सरकारले शिक्षा क्षेत्रमा परिवर्तन गर्ने ठूला नारा त ल्याउँछ तर त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । हाम्रो शिक्षाको मूल्याङ्कन पद्धतिनै ठिक छैन । बर्षभरी विद्यार्थीले पढेको कुरालाई हामीले तीन घण्टाको परिक्षाको आधारमा मूल्याङ्कन गछौं । बिद्यार्थीले बर्षभर सिकेको कुरालाई त्यति छोटो अवधि दिएर मूल्याङ्कन हुनै सक्दैन् । विद्यार्थीलाई हामीले सैद्धान्तिक र व्यवहारीक ज्ञान दिन जरुरी छ ।

अहिलेसम्म नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान बढि दिएको छ । व्यवहारिक ज्ञान दिएको छैन । विकासको प्रमुख आधार भनेकै शिक्षा हो । शिक्षाको सुधार बिना हामीले अपेक्षा गरेको समृद्धि सम्भवनै छैन । अहिले सरकारले मुल कुरा छोडेर सहायक कुरा तर्फ लागेको छ । शिक्षा क्षेत्रको सुधारका लागि नेपालमा निजी क्षेत्रले ठूलो योगदान दिएको छ । तर,राज्यले उचित कदम चाल्न सकेको छ

विद्यार्थीलाई जीवन जिउने कला सिकाउनुपर्छ
नवल जिएम, अध्यक्ष गोरखा ग्रुप

हाम्रो शिक्षा प्रणाली बढी सैद्धान्तिक र कम व्यवहारीक भएको छ । हामी विद्यार्थीलाई परिक्षामुखी शिक्षा दिइरहेका छौं । विद्यार्थीलाई हामीले व्यवहारीक जीवन जिउने सीप तथा कला सिकाउनुपर्छ । कुनै बिषयमा घोक्न लगाएर मात्रै हाम्रा विद्यार्थीले सिक्न सक्दैनन् । अहिले राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । एउटा विद्यार्थीलाई सरकारले मासिक २ हजार रुपैयाँ खर्च गरिरहेको छ । तर, त्यसको परिणाम निकै चिन्ताजनक छ । हामीले निजी विद्यालय शुल्कको कुराको विरोध गर्छौं ।

त्यो एउटा व्यक्तिले इच्छा अनुसार शुल्क तिर्छ तर, सरकारी विद्यालयमा एकजना विद्यार्थीलाई मासिक खर्च भइरहेको दुई हजार रुपैयाँ आम नागरिकको कर बाट हो । यो बिषयमा किन कुरा उठ्दैन ? राजनीतिक दल, विद्यार्थी संगठन र पत्रकारज्यूहरुले सधै नीजि विद्यालयले चर्को शुल्क लिए भन्नुहुन्छ ।

सरकारले एउटा व्यक्तिलाई त्यति धेरै चर्को खर्च गरेको किन देखिदैन् ?अब हामीले विरोधको नाममा विरोध गर्नु हुँदैन् । अहिलेकै रिजल्ट हेर्ने हो भने सरकारी विद्यालयको तुलनामा निजी विद्यालयको निकै गुणा राम्रो छ । यो सबै निजी क्षेत्रको योगदान हो । अब हामीले विद्यार्थीलाई नैतिक शिक्षा सिकाउनु पर्छ । जिवनमा आइपर्ने सबै खाले समस्या समाधानका लगि पहल गर्न सक्ने क्षमताको विकास गर्नजरुरी छ ।

शिक्षा क्षेत्रको सुधारका लागि राज्यले नारा र भाषणमा मात्रै होइन नीतिगत रुपमै सुधार गर्नुपर्छ । मुलकुरा पत्ता नलगाईकन हामीले समस्याको समाधान गर्न सक्दैनौं । शिक्षा क्षेत्रको सुधार गर्न सबैभन्दा पहिले सरकारले सुधारका काम शुरु गर्नपर्छ । सरकारको सहयोगका लागि निजी क्षेत्र र आम सरोकारवाला निकायहरु तयार हुनुपर्छ । अब हाम्रा बालबच्चाहरुले विद्यालयमा गएर जीवन जिउने कला सिक्ने अवसर प्राप्त गर्नुपर्छ ।

जीवन उपयोगी शिक्षा आवश्यक
चक्र रावत, प्रिन्सिपल मेचिकाली बोर्डिङ स्कूल घोराही

नेपालको शिक्षा प्रणाली परम्परागत र अवैज्ञानिक छ । अहिले नेपालमा विद्यालयहरु वेरोजगार उत्पादन गर्ने थलो बनेकाछन् । हाम्रो मुलक कृषिप्रधान मुलुक हो । तर, यहाँ कृषि शिक्षानै छैन । जहाँ जुन कुरा हुनुपर्ने हो त्यो भएको छैन । पढे, लेखेका युवाहरु श्रम गर्ननै मान्दैनन् । हाम्रो शिक्षाले श्रमलाई सम्मान गर्दैन् । जसले भौतिक श्रम गर्छ त्यसलाई तल्लो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ । श्रमलाई सम्मान गर्ने शिक्षा अहिलेको आवश्यकता हो । एउटा विद्यार्थी डिग्री बढेर पनि खेतमा जान सक्ने वातावरण तयार हुनुपर्छ । अहिले रोजगारीको खोजीमा नेपालबाट १० लाख युवा बिदेश पलायन भइरहेका छन् । उच्च तह अध्ययन गरेका विद्यार्थीहरु कामको खोजीका लागि विदेश पलायन भएकाछन् । यसरी हाम्रो देशको विकास सम्भव छैन । अहिले निःशुल्क शिक्षाको कुरा खुब उठ्ने गरेको छ ।

राज्यले सामुदायीक विद्यालयहरुमा पूर्ण निःशुल्क बनाउन सकेको छैन । निजी विद्यालयहरुले शुल्क लिएर शिक्षा दिए पनि सरकारी विद्यालयले पूर्ण निःशुल्क पढाउनै पर्छ । कुनै न कुनै बहानामा शुल्क लिने काम भइरहेको छ । त्यो तत्काल रोक्नुपर्छ । अब तल्लो तहदेखि नै विद्यार्थीलाई जिपन उपयोगी शिक्षा दिनुपर्छ । जापानमा २ कक्षामा पढ्ने विद्यार्थीलाई घडी बनाउन सिकाइन्छ । उसले त्यहि सिकेर भविष्यमा जिविकोपार्जन गर्छ ।

तर, नेपालमा डिग्री पढेको सर्टीपिकेट बोकेर युवाहरु भौतारिनुपरेको छ । सरकारले सर्टिपिकेटको आधारमा व्यवसाय गर्न चाहनेलाई ऋण दिने व्यवस्था त शुरु गरेको छ । तर, पढे,लेखेका युवामा कुनै सीपनै छैन । कसरी व्यवसाय शुरु गर्लान ? त्यसैले हामीले व्यवसायमुखी र आत्मनिर्भर कसरी बन्न सकिन्छ भनेर तल्लो तहदेखिनै शिक्षा प्रदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *