कविता
एकल यात्री
रात निदाउनेहरुका लागि हो
आँसु रुनेहरुका लागि हो
विश्राम थाक्नेहरुका लागि हो
जिब्रो बोल्नेहरुका लागि हो
रुप देखाउनेहरुका लागि हो
मृत्यु हार्नेहरुका लागि हो
कालो रात हैन
उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन
उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन
निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन
पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन
सफा मन चाहन्छु म
पराजित मृत्यु हैन
संघर्षशील जीवन चाहन्छु म
किनकी
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो,पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन ।