१२ करोड लगानीमा राप्तीमै पहिलो फनपार्क

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 152 Views   ||

घोराही । १२ करोडको रुपैयाँ लगानीमा दाङको दक्षिण अम्राईमा राप्तीमै पहिलो फनपार्क स्थापना गरिएको छ । निजी क्षेत्रको लगानीमा स्थापना गरिएको मनोरञ्जन उद्यान ‘फन पार्क’ आगामी वर्ष भित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
पार्क ३५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । फनपार्कमा एकिकृत रुपमा पार्टि प्यालेस तथा सभाहल, वाटर पर्क, गेम जोन, लजिङ्ग तथा फुडिङ्ग, होटेल तथा रेष्टोरेण्ट संचालनमा आउने सञ्चालक समितिका सदस्य अभियान बस्नेतले जानकारी दिए । उनका अनुसार बाल मनोरञ्जनका सम्पुर्ण साजोसामानहरु पार्कमा उपलब्ध हुनेछन् । फनपार्कमा स्वीमङपुलको व्यवस्था गरिएको छ ।

यस अघि दाङमा दुई ओटा होटलले मात्र स्वीमिङपुल सञ्चालनमा ल्याएका थिए । फन पार्कमा स्थानीय परीकारहरुको व्यवस्था गरिने बस्नेतले बताए । ‘यहाँ आउने आन्तरीक तथा वाह्य पर्यटकहरुका लागि स्थानीय परिकार खुवाउने हाम्रो योजना रहेको छ,’ उनले भने, ‘दाङमा पछिल्लो समय तीव्र रुपमा शहरीकरण बढीरहेको छ, मान्छेका आवश्यकताहरु पनि बढीरहेका छन् ।’ तुलसीपुर(घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त फन पार्क निर्माण भइरहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकीले पछिल्लो समय दाङमा होटल तथा मनोरञ्जनको क्षेत्रमा लगानी बढेको बताए । ‘दाङमा पछिल्लो समय ठूला लगानीका होटलहरु खुलिरहेका छन्,’ उनले भने, ‘व्यक्तीहरुको जीवनस्तरमा सुधार आएकाले होला अहिले यी क्षेत्रमा खर्च गर्ने जमात नै तयार भएको छ ।’ दाङमा यस्ता फन पार्कहरुमा अँझै लगानी हुन जरुरी भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *