नीति मान्दैनन् सहकारी

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 144 Views   ||

 पाण्डव शर्मा, घोराही । 

दाङका बचत तथा ऋण सहकारी संस्थाहरुले सरकारी नीति विपरित काम गरिरहेकाछन् । संघीय सहकारी ऐनमा बचत तथा ऋण सहकारीमा आवद्ध हुने व्यक्ति एउटा भन्दा बढी सहकारीमा सामेल हुन पाउँदैन् । तर, दाङका शहरी क्षेत्रमा एउटै व्यक्ति ७÷८ वटासम्म सहकारीको सदस्य भएर पैसा बचत गरिरहेकाछन् । घोराही निवासी भूपलाल वस्नेतले आफूले अहिले दैनिक तीन वटा सहकारीमा रकम जम्मा गरिरहेको जानकारी दिए । उनले पैसा बचत गर्न सजिलो होस भनेर रकम जम्मा गरेको बताए । ‘सहकारीको सदस्य हुनुप¥यो भनेर भन्न आउछन, बचत खाता छोडेर जान्छन,’बस्नेतले भने, ‘मलाई सहकारीको नियम के छ राम्रोसँग थाहा छैन ।’

घोराही उपमहानगरपालिका सकारी तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख प्रेम केसीले सहकारी संस्थाको उद्देश्य विपन्न वर्गका जनताबाट थोरै रकम संकलन गरेर उनीहरुकैहितका लागि परिचालन गर्ने रहेको बताए । ‘तर, यहाँ सहकारीलाई बैङ्कको अवधारणा अनुसार चलाइरहेका छन,यो सहकारी ऐन विपरित हो,’उनले भने,‘साउन १ गते बाट नियमपालना नगर्ने सहकारीहरुलाई कारवाही प्रकृया शुरु हुन्छ ।’घोराही उपमहानगरपालिकाको सहकारी ऐन पारित गरिसकेको छ । उक्त ऐन राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डेले जानकारी दिए । ‘राजपत्रमा प्रकाशित भइसकेपछि ऐनको व्यवहारिक कार्यान्वय हुन्छ,’ उनले भने, ‘हामीले संघीय ऐन अनुसार नबाँझिने गरी स्थानीय तहमा कार्यान्वयन गर्नका लागि सहकारी ऐन ल्याएका हौं ।’

घोराही उपमहानगरपालिकाले यस क्षेत्रमा रहेका सहकारीको अवस्थाको बारेमा अध्ययन गरिरहेको सहकारी तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख प्रेम केसीले बताए । ‘नियम नमान्ने सहकारीहरुको तथ्याङ्क संकलन गरेर कारवाही प्रकृया अघि बढाउँछौं,’ उनले भने, ‘जथाभावी रकम संकलन गरिरहेका सहकारी संस्थालाई ऐन अनुसार कडा कारवाही गरिन्छ ।’
सहकारी संस्थामा विपन्न वर्गको समुदायको अपेक्षाकृत प्रतिनिधित्व हुन नसकेको केसी वताउँछन् । ‘अन्य प्रकृतिका सहकारीमा विपन्न वर्गका नागरिकहरुको सहभागिता राम्रो देखिए पनि बचत तथा ऋण सहकारीमा अपेक्षाकृत सहभागिता देखिएको छैन,’उनले भने, ‘मुलुकको समग्र विकासका लागि राज्यले सहकारीबाट निकै ठूलो अपेक्षा लिएको छ ।’
कार्यान्वयनको चरणमा रहेको उपमहानगरपालिको ऐन अनुसार अब बचत तथा ऋण सहकारी खोल्नका लागि सबैभन्दा पहिले एक सय जना सदस्यको लिष्ट बुझाउनु पर्छ । एउटा बचत तथा ऋण सहकारीको कार्यक्षेत्र एउटा वडा मात्रै रहने छ । यस अघि संघीय ऐनको व्यवहारीक कार्यान्वयन हुन सकेको थिएन । उप(महानगरले आगामी आर्थिक वर्षदेखि भने कारवाही प्रकृयालाई तीव्र पार्ने वताएको छ ।

विदेशबाट फर्केका लागि स्वदेशमै रोजगार

घोराही उपमहानगरले आफ्नो नीति तथा कार्यक्रममा विदेशबाट फर्केकाहरुलाई स्वदेशमै रोजगारीका लागि वातावरण तयार गर्ने भएको छ ।
पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक बर्षका लागि पाँच लाख रुपैयाँ वजेट विनियोजन गरिएकोछ । उक्त रकमबाट नमुनाका रुपमा विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगारमा लगाउन प्रेरित गरिने केसीले बताए । त्यस्ता युवालाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने उपमहानगरको योजना रहेको छ । आगामी वर्षमा यो शीर्षकमा थप बजेट विनियोजन हुने उपमाहनगरले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *