दुई प्रदेश जोड्ने सडक कालोपत्रे तीन वर्ष भित्र

  
  प्रकाशित मितिः बुधबार, असार २७, २०७५       | 226 Views   ||

नौैलो जनउभार
घोराही । पाँच नं प्रदेशको दाङ र कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रेको काम तीन वर्ष भित्र पूरा हुने भएको छ । तीन वर्षभित्र दाङको तुलसीपुर देखि सल्यान र सुर्खेत सिमाको काल्चेसम्मको ६२ किलोमिटर सडक कालोपत्र गर्न ३३ करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको मध्यपश्चिम डिभिजन कार्यालय घोराहीले बताएको छ ।

तुलसीपुर–सुर्खेत सडक खण्डको लम्वाई ७७ किमी छ । तर,सडक डिभिजन कार्यालय दाङले ६२ किमी काम गर्ने र बाँकी १५ किमीको काम सुर्खेत सडक डिभिजन कार्यालयले गर्ने छ । अहिले पुरन्धारा–तुलसीपुरदेखि सुर्खेतको बोटेचौरसम्मको सडक स्तरोन्नतिको काम तीब्र गतिमा भइरहेको छ । अहिले कर्णाली प्रदेशबाट काठमाडौं जानका लागि कोहलपुरहुँदै लामो दुरी प्रयोग गर्नुपर्छ । ‘सडक कालोपत्रेपछि सबै सार्वजनिक गाडीहरुले काठमाडौं जानका लागि यहि रुट प्रयोग गर्ने छन्,’ डिभिजन प्रमुख बद्रिप्रसाद शर्माले भने । तुलसीपुरबाट कोहलपुरहुँदै सुर्खेत पुग्न एकसय ८८ किमी पर्छ । तर, सुर्खेत–तुलसीपुर खण्ड सञ्चालन आएपछि अहिले भन्दा करीब ७० किमी छोटो दूरी पर्ने कार्यालयले बताएको छ ।
अहिले सडक कालोपत्रेका लागि सडक चौडा पार्ने काम भइरहेको छ । अहिलेलाई २४ किमी सडक खण्डको स्तरवृद्धिसँगै कालोपत्रे गर्न थालिएको डिभिजन सडक कार्यालय दाङले बताएको छ । सडक स्तरवृद्धि तथा कालोपत्र गर्न सरकारले रु ४० करोड बजेट विनियोजन गरेको छ।

डिभिजन कार्यालयका अनुसार सडक १० मिटर चौडाइको बनाउन थालिएको छ । ‘सडकका छेउमा पर्खाल लगाउने काम भइरहेको छ,’ शर्माले भने, ‘सडकको साढे ५ मिटर चौडाइमा कालोपत्रे गरिने छ ।’निर्माण कम्पनीका सुपरभाइजर सञ्जीव श्रेष्ठले गत असारमा टेण्डर परेपनि पुसदेखि काम शुरू गरेको बताए । उनले झण्डै ६ किमीको काम सम्पन्न गरिसकेको जानकारी गराए । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले सडक कालोपत्र पछि दाङमा व्यापार व्यवसाय निकै फष्टाउने बताए ।उनले यसले दुई प्रदेशको सम्वन्धमा थप मजवुत बनाउने धारणा व्यक्त गरे । ‘सडक कालोपत्रे पछि दाङको व्यापार व्यवसाय प्रत्यक्ष कर्णाली प्रदेशसँग जोडिने छ,’ उनले भने, ‘यसले कर्णाली र पाँच नं प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *