नौलो जनउभार
घोराही । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा दाङका डाक्टरहरु आन्दोलित भएका छन् ।
उनीहरुले डा. केसीका माग जायज भएको भन्दै पूरा गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
आज विहान १० बजे देखि ११ बजेसम्म जिल्लाका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा कार्यरत डाक्टररुले कालोपट्टी बाँधेर काम गरेको नेपाल मेडिकल एशोएिसन दाङका सल्लाहकार एवं गोरखा पब्लिक हस्पिटल घोराहीका बाल रोग विशेषज्ञ डा. कुबेरकुमार रेग्मीले जानकारी दिए ।
डाक्टरहरुले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य दिनप्रतिदिन नाजुक हुँदै गएको भन्दै जीवन रक्षाका लागि सरकारसँग माग समेत गरेका छन् ।
‘डाक्टर केसीको माग समग्र नेपाली जनताको माग हो,’ उनले भने, ‘यो आन्दोलन कुनै दल वा समुहलाई लक्षित छैन ।’
रेग्मीले जनताको पक्षमा गरिएका यस्ता आन्दोलनलाई कमजोर बनाउन विभिन्न पक्षबाट दलियरुपमा विभाजन गर्न खोजिएको आरोप लगाए ।
ग्रामीण क्षेत्रका विपन्नवर्गका परिवारका सन्तानले निशुल्क मेडिकल शिक्षा पाउनुपर्ने केसीको माग रहेकाले यसमा सम्पूर्ण नेपाली जनताको समर्थन हुने बताए । ‘काठमाडौंमा मात्रै मेडिक शिक्षा केन्द्रित हुँदा ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीहरुले पढ्न पाउँदैनन्,’ उनले भने, ‘सर्वसुलभ शिक्षा पाउन आम नागरिको अधिकार हो ।’