सोनामले राजधानी वारे भने– ढुक्क हुनुहोस् दिपावली गर्न पाउनुहुने छ

  
  प्रकाशित मितिः शुक्रबार, असार २९, २०७५       | 170 Views   ||

पाण्डव शर्मा
घोराही । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सबै क्षेत्रका जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने बताएका छन् ।

रिपोटर्स क्लव दाङले घोराहीको मालाइन होटलमा आयोजना गरेको विशेष पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सोनामले राजधानीको विषयमा कोही पनि विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गरे । ‘हामीले निकट भविष्यमा नै पाँच नं प्रदेशको स्थायी राजधानि तोक्छौं, सबैलाई पायक पर्ने ठाउँमा राजधानी हुन्छ ।’ राजधानीलाई सबैले अपनत्व गर्ने गरी साझा बनाउनुपर्ने सोनामको भनाई छ ।

कतै पाँच वर्षसम्म राजधानी नतोकेर अलमल त गर्नुहुँदैन ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने–‘हामी यसरी अलमल गर्ने पक्षमा छैनौं, अब चाँडै तपाईहरुले सुखद् समाचार सुन्न सक्नुहुने छ ।’ राजधानी सबैलाई पायक पर्ने र प्रशासनीक क्षेत्रका हिसावले सहज पँहुच हुने गरी निर्धारण गरिने सोनामले बताए ।

अहिले प्रदेश सभासद्हरुले राजधानीका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरिरहेको उनले जानकारी दिए ।
प्रदेश ५ ले समानुपातिक विकासको नीति अवलम्वन गरेको उल्लेख गर्दै सोनामले भने, ‘हामी विकास र बजेटलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ भन्ने नीति अवलम्वन गरेका छौं,’ उनले भने, ‘कतै धेरै बजेट पर्ने र कतै कत्ति पनि बजेट नपर्ने हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

प्रदेश पाँचका सबै स्थानीय तहहरुमा नमुना कृषि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । ‘कृषि उत्पादनलाई बढाएर आत्मनिर्भर बन्ने प्रदेश सरकारको लक्ष्य रहेको छ,’ सोनामले भने, ‘सबै स्थानीय तहहरुले आफ्नो छुट्टै उत्पादनको पहिचान बनाउनुपर्ने छ ।’
कार्यक्रम रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *